काठमाडौं – चालु आर्थिक वर्ष २०८१–८२ कोे पहिलो त्रैमास सम्ममा जीवन बिमा कम्पनीहरुले साढे ४१ अर्ब बढी बिमा शुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १४ वटा जीवन बिमा कम्पनीहरुले असोज मसान्तसम्ममा कुल ४१ अर्ब ८ करोड १ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको बिमा प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार असोजसम्ममा १४ कम्पनीले प्रथम बिमा शुल्क ७ अर्ब ५३ करोड ९५ लाख, वैदेशिक रोजगार बिमा शुल्क ६१ करोड ८८ लाख तथा नवीकरणबापत ३२ अर्ब ९२ करोड १७ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन ।
असोज मसान्तसम्म बिमा शुल्क संकलनको हिसाबले नेपाल लाइफ अग्रस्थानमा रहेको छ । नेपाल लाइफले असोज सम्ममा सबैभन्दा धेरै ११ अर्ब ९९ करोड १४ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । दोस्रो स्थानमा रहेको नेसनल लाइफले ४ अर्ब ९० करोड ५० लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, तेस्रामा एलआइसी नेपालले ४ अर्ब ५७ लाख ३७ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । हिमालयन लाइफले ४ अर्ब ३१ करोड १२ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।
असोज मसान्तसम्म लघु जीवन बिमा व्यवासाय गर्ने ३ लघु जीवन बिमकले २२ करोड १३ लाख ५४ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् । यस अवधिमा सबैभन्दा धेरै व्यवसाय गर्ने गार्डियन माइक्रो लाइफले ८ करोड ७१ रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, क्रेष्ट माइक्रो लाइफले ७ करोड ९७ लाख ५३ हजार तथा लिबर्टी माइक्रो लाइफले ५ करोड ४४ लाख ५४ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।