२०८३ बैशाख १० बिहीबार

काठमाडौं – पछिल्लो तथ्यांकअनुसार नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ४९ लाख नाघेको छ । सबैभन्दा बढी वाणिज्य बैंकहरूमा मोबाइल बैंकिङ प्रयोगकर्ता बढेकामा सबैभन्दा कम फाइनान्सतर्फ देखिएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो महिना साउनसम्म मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकको संख्या दुई करोड ४९ लाख ६१ हजार १ सय ६५ पुगेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा ३२ लाख ६९ हजार ६ सय ९१ ले बढी हो ।

वाणिज्य बैंकहरूमा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या दुई करोड १४ लाख १३ हजार तीन सय ३४ रहेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा २७ लाख ६ सय ३९ बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूमा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकको कुल संख्या एक करोड ८७ लाख १२ हजार ६ सय ९५ थियो ।

विकास बैंकहरूमा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या ३३ लाख १० हजार ६ सय ७४ छ, जुन गत आवको सोही अवधिको तुलनामा चार लाख ९ हजार चार सय ५ ले बढी हो । गत आवको सोही अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २८ लाख २१ हजार दुई सय १६ थियो । फाइनान्स कम्पनीहरूमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई लाख ३७ हजार एक सय ५७ छ ।

यो संख्या गत आवको सोही अवधिको तुलनामा ७९ हजार पाँच सय ९४ ले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा मोबाइल बैंकिङ प्रयोकर्ताको संख्या एक लाख ५७ हजार पाँच सय ६३ थियो ।

यो अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या भने १९ लाख ६२ हजार आठ सय २७ पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ७५ हजार सात सय १ ले मात्र बढी हो । गत आवको सोही अवधिमा यस्ता ग्राहकको संख्या १ लाख ८७ हजार ४६ थियो । वाणिज्य बैंकका इन्टरनेट बैंकिङ प्रयोगकर्ता १३ लाख ६२ हजार तीन सय ४४ छन्, जुन एक वर्षअघिको तुलनामा १४ हजार एक सय ८९ ले कम हो । गत वर्ष साउनमा वाणिज्य बैंकका इन्टरनेट बैंकिङ प्रयोगकर्ता १३ लाख ७६ हजार पाँच सय ३३ थिए ।

विकास बैंकहरूमा इन्टरनेट बैंकिङ ग्राहकको संख्या पाँच लाख ८४ हजार तीन सय ९९ पुगेको छ । यो संख्या एक वर्षअघिको तुलनामा ८७ हजार छ सय नौ ले बढी हो । गत वर्ष साउनमा यस्तो संख्या चार लाख ९६ हजार सात सय ९० थियो ।

फाइनान्स कम्पनीबाट इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या १६ हजार ८४ छ, जुन एक वर्षअघिको तुलनामा दुई हजार तीन सय ६१ ले बढी हो । गत वर्ष साउनमा फाइनान्स कम्पनीका इन्टरनेट बैंकिङ प्रयोगकर्ता १३ हजार सात सय २३ थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर