काठमाडौं : बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा चुनौती बढेको भन्दै यस क्षेत्रका चार संस्थाहरूले सरकारसँग सुरक्षा माग गरेका छन्। नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारी निकायलाई आवश्यक कदम चाल्न आग्रह गरेका हुन्।
विगत केही समयदेखि केही व्यक्ति तथा समूहले आफ्नो निहित स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध अनर्गल प्रचार गर्ने, ती संस्थाहरुका कार्यालय तोडफोड गर्ने, कर्मचारीहरुलाई तर्साउने तथा धम्क्याउने, काममा अवरोध पुर्याउने जस्ता अराजक क्रियाकलाप गर्दै आएको उनीहरुको भनाई छ ।
‘विशेष गरी लघुवित्त वित्तीय संस्थाहरुलाई त्यस्ता अराजक व्यक्ति तथा समूहहरुले थप लक्षित गरेको देखिएको छ । पछिल्लो समय यता विभिन्न लघुवित्त संस्थाहरुका केही शाखाहरुमा तोडफोड, लुटपाट, आगजनी लगायतका निन्दनीय कार्यहरु भएको छ, ‘ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
कथित लघुवित्त विरुद्ध संघर्ष समितिको नामबाट अराजक गतिविधिहरु अघि बढाएर लघुवित्त क्षेत्रलाई अझ अन्यौलता तर्फ धकेल्ने र कार्यक्रम सञ्चालनमा अवरोध पुर्याउने जस्ता कृयाकलापबाट लघुवित्त क्षेत्रमा पुनः ठूलो जोखिम उत्पन्न भई ग्रामीण अर्थतन्त्र धराशायी हुने र समग्र बैंकिङ क्षेत्र तथा वित्तीय प्रणालीमा नै असर पुग्ने देखिएको उल्लेख गरेका छन् ।
प्रचलित ऐन, नियम, कानून बमोजिम स्थापित संस्थाहरुले कानून बमोजिम सहज रुपमा कारोबार गर्ने अधिकारबाट वञ्चित हुन पुगेको भन्दै खेद प्रकट गरेका छन् ।
अराजक गतिविधिहरुमा संलग्न व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याई कानून बमोजिम कारवाही गर्न तथा अत्यावश्यक सेवा अन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने वातावरण बनाइदिन स्थानीय प्रशासन लगायत सम्बन्धित सबै निकायहरुबाट आवश्यक सहयोग र सुरक्षाको प्रत्याभूतिको अनुरोध गरेका छन् ।















