२०८१ माघ २७ आईतवार

काठमाडौं : कर्जा लगानी विस्तार गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ६ अर्ब २५ करोड रुपैयाँ राष्ट्र बैंकमा थन्क्याएका छन्। बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण मार्फत उक्त रकम राष्ट्र बैंकमा राखेका हुन्।

केन्द्रीय बैंकको तथ्यांक अनुसार १ खर्ब ६९ अर्ब ८५ करोड रुपैयाँ स्थायी निक्षेप सुविधा प्रयोग गरी केन्द्रीय बैंकमा राखेका छन् भने १ खर्ब ३६ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत केन्द्रीय बैंकले खिचेर राखेको छ।

आइतबार मात्रै बैंकहरुले १ खर्ब ६९ अर्ब ८५ करोड रुपैयाँ स्थायी निक्षेप सुविधा उपयोग गरेका हुन । केन्द्रीय बैंकले साताको ३ दिन अर्थात् आइतबार, मंगलबार र बिहीबार स्थायी निक्षेप सुविधा प्रदान गर्छ ।

रेमिटेन्स आप्रवाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीको निक्षेप बढिरहेको छ । निक्षेप बढेको भए पनि कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या देखिको हो । बैंकहरुमा अधिक तरलता रहेकाले सो व्यवस्थापनका लागि राष्ट्र बैंकमा उक्त रकम थन्काएका हुन्।

नेपालको अर्थतन्त्र आयातमा आधारित भएको र यसमा अपेक्षित वृद्धि नभएकाले पनि कर्जाको माग बढ्न नसकेको बैंकहरुको विश्लेषण छ। भन्सार विभागका अनुसार गत साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँको वस्तु आयात भएको छ । जुन गत आवको यसै अवधिको तुलनामा ०.६७ प्रतिशतले कम हो । अहिले निक्षेप बढिरहे पनि कर्जा विस्तार सोही अनुपातमा वृद्धि देखिएको छैन। बैंकहरूको कर्जा–निक्षेप अनुपात ७८.७८ प्रतिशतमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय