काठमाडाैं । गत आर्थिक वर्ष २०८०/८१ सम्ममा नेपाल विद्युत प्राधिकरणको सम्पती बढेर ६ खर्ब ३२ अर्ब रूपैयाँ पुगेकाे छ । ८ वर्ष अघि अर्थात आर्थिक वर्ष २०७२/७३ मा १ खर्ब ११ अर्ब रूपैयाँ रहेकाे प्राधिकरणकाे कुल सम्पत्ति हाल ६ खर्ब ३२ अर्ब रूपैयाँ पुगेकाे हाे ।
यस्तै अन्तराष्ट्रिय परामर्सदाता मार्फत सम्पतिकाे वास्तविक मूल्याङ्कन गरेकाे प्राधिकरणले जनाएकाे छ । जसबाट प्राधिकरणकाे सम्पत्तिमा अझै बढाेत्तरी हुने विश्वास व्यक्त गरीएकाे छ ।
यस्तै प्राधिकरणले संस्थाकाे वित्तिय अवस्था थप सुधार, संस्था भित्रकाे सुशासन, हरेक नागरिककाे घरमा विद्युत पुर्याउन विद्युतिकरण, विद्युत आपुर्ति पर्याप्त, भरपर्दाे गुणस्तरीय तथा सुरक्षित बनाउन प्रसारण र वितरण तर्फका पूर्वाधार संरचना विस्तार एवं सुदृढिकरण, उत्पादन तर्फका ठूला आयाेजना अगाडी बढाउने, आन्तरीक खपत वृद्धि तथा निर्यात लगायतलाइ उच्च प्राथिकतामा राखि काम अघि बढाइएकाे प्राधिकरणले जनाएकाे छ।
यसैबीच, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो दोस्रो कार्यकालको तीन वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । शुक्रबार तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ८ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेकोको प्राधिकरणलाई नाफामा लगेको बताए ।प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा रहेको उनकाे दाबी छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा मात्र खुद नाफा १३ अर्ब ३१ करोड रुपैयाँ रहेको उनले जानकारी दिए । आव २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरण त्यसयता निरन्तर नाफामा गएको हो । यसबीचमा तीन पटक गरी २५ प्रतिशत विद्युत् महसुल घटाइएको भन्दै उनले प्राधिकरणले महसुल बढाएर नाफा नबढाएको समेत जानकारी दिए ।
यस्तै आर्थिक वर्ष २०७२/७३ मा २९ लाख ७० हजार रहेकाे विद्युतकाे ग्राहक संख्या हाल ५९ लाख ३५ हजार पुगेकाे उनले बताए । यस्तै विकट वस्तिहरूकाे पहिचान गरी बाँकी बिद्तियुकरणकाे काम अघि बढाइसकेकाेले छिट्टै मुलुक पूर्ण रूपमा विद्युतिकरण भएकाे घाेषणा गर्ने अवस्थामा पुगेकाे उहाँकाे भनाइ छ ।















