
काठमाडौं – नेपाल राष्ट्र बैंकले ‘वैदेशिक रोजगार बचतपत्र’ सम्बन्धी एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार २०६६/६७ देखि २०७९/८० सम्म २५ पटक गरी जम्मा रु. १५ अर्ब ५६ करोड वैदेशिक रोजगार बचतपत्र आह्वान भएको छ । २५ पटकसम्म आह्वान भएका बचतपत्रमध्ये जम्मा रु. ७६ करोड २३ लाख (४.९ प्रतिशत) मात्र बिक्री भएको छ।
विगत १० वर्षमा कुल आन्तरिक ऋणमा वैदेशिक रोजगार बचतपत्रको योगदान औसत ०.०६ प्रतिशतमात्र रहेको प्रतिवेदनमा उल्लेख छ। नेपाली नागरिकको वैदेशिक रोजगारीमा आकर्षण बढिरहेको सन्दर्भमा एकातर्फ विप्रेषण आय बैंकिङ्ग प्रणालीबाट भित्र्याउन प्रोत्साहित गर्ने र अर्कोतर्फ सरकारको आन्तरिक ऋण परिचालनमा समेत योगदान पुर्याउने उद्देश्यले आर्थिक वर्ष २०६६/६७ देखि वैदेशिक रोजगार बचतपत्रको सुरुआत भएको हो । वैदेशिक रोजगार बचतपत्र आकर्षक बनाउन यसको ब्याजदर तुलनात्मक रुपमा उच्च हुने गरेको छ। यस्तो बचतपत्र आवश्यकताअनुसार तत्काल बिक्री गर्न वा बैंक तथा वित्तीय संस्थाहरुमा धितो राखी कर्जा लिन सकिने व्यवस्था छ।
वैदेशिक रोजगार बचतपत्र अपेक्षित रुपमा परिचालन हुन नसकेको सन्दर्भमा प्रवर्द्धनका उपायहरु सुझाउनु अध्ययनको मूल उद्देश्य रहेको छ। अध्ययनमा वैदेशिक रोजगार बचतपत्र परिचालन स्थिति तथा योगदानको समग्र विश्लेषण गर्दै बचतपत्रबारे जानकारी, खरिद गर्ने तत्परता, खरिद गर्न चाहने नचाहने कारण र प्रवर्द्धनका उपायहरुको विश्लेषणका लागि तीन प्रकारका सर्वेक्षण सम्पन्न गरिएको राष्ट्र बैंकले जनाएको छ।
वैदेशिक रोजगारीबाट फर्किएका वा पुनः जान लागेका ३८५ नेपाली नागरिकसँग स्थलगत सर्वेक्षण, वैदेशिक रोजगारीमा पठाउने ७० म्यानपावर कम्पनीलाई टेलिफोन सर्वेक्षण र बचतपत्र बिक्री गर्न इजाजतपत्र प्राप्त १६ बिक्री एजेन्टहरुसँग ई–मेल सर्वेक्षणका आधारमा अध्ययन गरिएको केन्द्रीय बैंकले जनाएको छ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बसपार्क, म्यानपावर कम्पनी र श्रम विभागमा तथा काठमाडौं बाहिरका झापा–काँकडभिट्टा, वीरगन्ज–रक्सौल, भैरहवा–सुनौली र धनगढी–गौरीफन्टाका नाकाहरुमा वैदेशिक रोजगारीमा जान लागेका र फर्किएका ३८५ नेपाली नागरिकसँग सम्पन्न स्थलगत सर्वेक्षणमा करिब ३० प्रतिशत व्यक्ति पहिलोपटक वैदेशिक रोजगारीमा जान लागेका र १२.५ प्रतिशतलाई मात्र वैदेशिक रोजगार बचतपत्रका बारेमा जानकारी रहेको । तर, जानकारी भएकाले पनि यस्तो बचतपत्र खरिद नदेखिएकाे राष्ट्र बैंकले जनाएकाे छ ।
वैदेशिक रोजगार बचतपत्रका बारेमा जानकारी भएर पनि खरिद नगरेका व्यक्तिमध्ये ३९.५ प्रतिशतले पर्याप्त जानकारी नभएको, २७ प्रतिशतले खरिद प्रक्रिया झन्झटिलो भएको, १२.५ प्रतिशतले बचतपत्र खरिद गर्ने रकमको अभाव रहेको र बाँकी २१ प्रतिशतले प्रमाणपत्र सजिलै प्राप्त नहुने र ब्याज प्राप्त गर्न धाउनुपर्ने कारण उल्लेख गरेको केन्द्रीय बैंकद्वारा सार्वजनिक प्रतिवेदनमा जनाइएको छ।
वैदेशिक रोजगार बचतपत्रको बिक्री एजेन्टका १६ प्रतिनिधिसँग गरिएको ई–मेल सर्वेक्षणअनुसार ६२.५ प्रतिशतले रोजगारीमा रहेका नेपालीले वैदेशिक रोजगार बचतपत्रका बारेमा सोध्नी गरेको तर खरिदमा तत्परता नदेखाउने गरेको उल्लेख गरेका छन्। त्यसैगरी, काठमाडौंस्थित विभिन्न ७० म्यानपावर कम्पनीका सञ्चालक वा प्रतिनिधिसंँग सम्पन्न टेलिफोन सर्वेक्षणअनुसार २४.३ प्रतिशतले वैदेशिक रोजगार बचतपत्रका बारेमा जानकारी भएको र १२.८ प्रतिशतले सोधपुछ गर्ने गरेको बताएका छन्। राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले विभिन्न नीतिगत सुधार, प्रक्रियागत सुधार, प्रचार–प्रसारमा जोड दिने लगायतका पक्षमा पनि अध्ययन गरेको छ।