२०८१ माघ २७ आईतवार

काठमाडौं : करिब ६ वर्षअघिदेखि नेप्सेको टीएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) चलाइरहेका ब्रोकर कम्पनीहरुले आफ्नो छुट्टै टीएमएस सञ्चालनमा ल्याउन थालेका छन् । अहिले सेक्योर्ड सेक्युरिटिजले आफ्नो छुट्टै टीएमएस ल्याएर सामान्यरुपमा कारोबारसमेत सुरु गरिसकेको छ भने अरु ब्रोकर कम्पनीहरुले पनि आफ्नो छुट्टै टीएमएस ल्याउने तयारीमा छन् ।

योसँगै नेप्सेको अब टीएमएस के हुन्छ भन्ने कुराले चर्चा पाएको छ । तथापि, अहिले नै कुनै पनि ब्रोकर कम्पनीहरुले आफ्नो छुट्टै टीएमएसमार्फत औपचारिक कारोबार भने थालिसकेका छैनन् । नेप्सेको भने २०७५ साल कात्तिकदेखि नेप्से अनलाइन कारोबार प्रणाली (नट्स) सञ्चालनमा आएको हो ।

नट्सकै एक अंगको रुपमा टीएमएस सञ्चालनमा आएको हो । ब्रोकरहरुले टीएमएस सञ्चालनमा ल्याउँदा नेप्सेलाई कुनै असर नगर्ने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले नेपाली पैसालाई बताए । ‘नट्सको एउटा अंगको रुपमा टीएमएस रहेको छ’ उनले भने, ‘ब्रोकर कम्पनीले आफ्नो छुट्टै टीएमएस ल्याउँदा नेप्सेलाई कुनै असर गर्दैन ।’ उनले ब्रोकरहरुले आफ्नो छुट्टै टीएमएस नल्याउँदासम्मको लागि मात्रै आफूहरुले सेवा दिएको बताए ।

‘टीएमएस ब्रोकरको आफ्नो छुट्टै हुनुपर्छ’ उनले भने, ‘उनीहरुले आफ्नो छुट्टै टीएमएस नल्याउँदासम्म नेप्सेले उक्त सुविधा दिएको हो ।’ साथै, उनले ब्रोकरहरुलाई आफ्नो छुट्टै टीएमएस ल्याउन नेप्सेले सुरुवातदेखि नै सहजीकरण गरिदिएको दाबी गरे ।

नेप्सेले नट्स सञ्चालनका लागि करिब २० करोड रुपैयाँ खर्च गरेको पराजुलीले जनाकारी दिए । टीएमएस पनि नट्सकै अंग भएकाले टीमएसको लागि मात्रै कति खर्च लाग्यो भन्ने एकिन नभएको उनको भनाई छ । यता, नेप्सेका अर्का एक अधिकारीले भने नट्स बनाउन लागेको खर्च अहिलेसम्म उठिसकेको बताए । ‘नट्स बनाउन लागेको खर्च उठिसकेको छ’ ती अधिकारीले भने, ‘ब्रोकरले आफ्नै टीएमएस ल्याउनुपर्छ, उनीहरुको टीएमएस आउँदा नेप्सेलाई कुनै समस्या हुँदैन ।’

हाल ब्रोकर कम्पनीले नेप्सेको टीएमएस प्रयोग गर्दा मासिक रुपमा २५ हजार रुपैयाँ शुल्क बुझाउँदै आएका छन् । तर, नयाँ टीएमएसको मासिक शुल्क ब्रोकर कम्पनीलाई औसतमा करिब १५ हजारजति पर्न आउँछ । यसले ब्रोकरको खर्च पनि कम हुने ब्रोकरहरुले बताउँदै आएका छन् । यता, ब्रोकरको लगात घटेपनि नेप्सेलाई नयाँ टीएमएस चाउँदा पनि आम्दानी हुने भएकाले यसले खासै असर नपर्ने ती अधिकारीको भनाई छ ।

नेप्सेको टीएमएसले प्रभावकारी रुपमा काम नगरेको भन्दै सेयर बजारका लगानीकर्ताहरुले पनि असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरुले ब्रोकहरुले ल्याउने टीएमएसमा धेरै विशेषता हुने अपेक्षा गरेका छन् । उनीहरुको अपेक्षाअनुसार नै ब्रोकरहरुले नयाँ विशेषतासहित टीएमएस सञ्चालनमा ल्याउन लागेको बताएका छन् ।

नासा सेक्युरिटीजका प्रबन्ध सञ्चालक मदन पौडेलले नयाँ टीएमएसमार्फत ग्राहकले आफूले गरेको कारोबार विवरण, भुक्तानी लिन तथा दिन बाँकी रकमको हिसाबकिताब सही रुपमा हेर्न पाउने बताए । अहिलेको नेप्सेको टीएमएसमा हाल आफ्नो हिसाबकिताब विवरण ब्रोकर कम्पनीसँगै माग्नुपर्ने बाध्यता लगानीकर्तामा छ ।

नयाँ टीएमएसमा लोड भएको कारोबारका लागि धितो (कोल्याट्रल) खरिदपछि बाँकी रहेको कोल्याट्रल सहीरुपमा देखिने उनको भनाई छ । हालको टीएमएस मार्फत ग्राहकले कारोबारका लागि कोल्याट्रल लोड त गर्न सक्छन्, तर कोल्याट्रलको विवरण सही रुपमा देखिँदैन । साथै, नयाँ टीएमएसमा चार्ट हेरेर धितोपत्र खरिद–बिक्रीको रणनीति पनि बनाउन सकिने उनको भनाई छ ।

यसमा स्टप लस, टेक प्रोफिट, हाई फ्रिक्वेन्सी ट्रेडिङ जस्ता आदेश व्यवस्थापन लगायतका विशेषताहरु रहेकाले सेयर कारोबार निकै सहज हुने ब्रोकरको दाबी छ । नयाँ प्रणालीबाट कारोबार चुस्त, छरितो र पारदर्शी हुने दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय