काठमाडौं : १ वर्षको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन १३.१५ प्रतिशतले बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार वाणिज्य बैंकहरुमा गत असार मसान्तसम्म आइपुग्दा ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप जम्मा भएको छ ।
२०८० असार मसान्तमा वाणिज्य बैंकहरुको कुल निक्षेप ५० खर्ब ८६ अर्ब रुपैयाँ थियो । यसअवधिमा वाणिज्य बैंकको कर्जा प्रवाहमा भने सुस्तता छाएको छ । १ वर्षको अवधिमा कर्जा प्रवाह ५.८६ प्रतिशतले मात्र बढेर ४५ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ । २०८० को असार मसान्तसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब १८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
अर्थतन्त्रका बाह्य सूचकमा सुधार आएको छ । ब्याजदर घट्दो क्रममा छ । बैंक तथा वित्तीय संस्थाहरुमा पर्याप्त तरलता रहेको छ । तर आन्तरिक अर्थतन्त्र चलायमान बन्न नसक्दा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह बढ्न नसकेको हो । यो तथ्यांकले अहिले आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाएर कर्जा प्रवाह बढाउनुपर्ने चुनौती रहेको देखाएको छ ।
सबैभन्दा धेरै निक्षेप संकलन र कर्जा प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक
असार मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै निक्षेप संकलन गर्ने र कर्जा प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । यसअवधिसम्म आइपुग्दा ग्लोबल आइएमईले ५ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । दोस्रोमा नबिल बैंक रहेको छ । यसअवधिमा नबिलले ४ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप संकलन पनि ४ अर्बभन्दा माथि छ । यता, सबैभन्दा कम निक्षेप संकलन र कर्जा प्रवाह गर्नेमा स्टान्डर्ड चार्टर्ड बैंक रहेको छ । यसअवधिमा यस बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सीडी रेसियो ६० प्रतिशतसम्म आयो
असार मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको सीडी रेसियो कुनै बैंकको ६० प्रतिशतसम्म पनि झरेको छ । निक्षेप संकलनको तुलनामा कर्जा विस्तारमा सुस्तता आएसँगै बैंकहरुको सीडी रेसियो तल्लो बिन्दुमा आएको हो । नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशतसम्म कायम हुन पाउँछ ।
तथापि, पछिल्लो समय अधिक तरलताको चाप बढ्दै गएकाले सीडी रेसियो न्यून बिन्दुमा आएको हो । २०८१ असार मसान्तमा राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६०.७७ प्रतिशतमा झरेको छ । यस्तै, नेपाल बैंकको ७२.४७ प्रतिशत, नेपाल एसबीआई बैंकको ७४.३५ प्रतिशत, ग्लोबल आईएमई बैंकको ७५.८७ प्रतिशत सीडी रेसियो छ ।
८० प्रतिशतभन्दा तल सीडी रेसियो हुनेमा स्ट्यान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, कृषि विकास, एनआइसी एसिया, नेपाल इन्भेस्टमेन्ट मेगा, प्रभु र सानिमा बैंक छन् । सबैभन्दा धेरै सीडी रेसियो प्राइम कमर्सियल बैंकको रहेको छ । यसअवधिमा प्राइमको सीडी रेसियो भने ८६.२ प्रतिशत छ । समग्र वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ७८.८८ प्रतिशत कायम भएको छ ।















