काठमाडाैँ । विद्युतीय प्रणालीमार्फत जेठ महिनामा मात्रै ५४ खर्ब १४ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को एघारौं महिना जेठमा मात्रै विद्युतीय प्रणालीमार्फत १३ करोड १५ लाख ७ हजार ३४० पटक लेनदेन हुँदा ५४ खर्ब १४ अर्ब ८२ करोड ७० लाख बराबरको विद्युतीय कारोबार भएको केन्द्रीय बैंकले जनाएको छ ।
वैशाखमा १२ करोड २६ लाख ४ हजार ९५३ पटक लेनदेन हुँदा ५४ खर्ब ४८ अर्ब ४५ करोड २० लाख रुपैयाँ बराबरको विद्युतीय प्रणाली मार्फत कारोबार भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार ठूला कारोबार हुने प्रणाली आरटीजीसीमार्फत ७५ हजार ७८२ पटक लेनदेन हुँदा ३४ खर्ब ६१ अर्ब ५३ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।
यस्तै जेठ महिनामा नेपाल क्लियरिङ्ग हाउनसकोकनेक्ट आईपीएस मार्फत ६५ लाख २८ हजार ८५२ पटक लेनदेन हुँदा ५ खर्ब ६२ अर्ब ६१ करोड ८० लाख रुपैयाँ र इलोक्ट्रोनिक्स चेक क्लियरिङ्ग (इसीसी) मार्फत ११ लाख २२ हजार २८९ पटक लेनदेन हुँदा ५ खर्ब २४ अर्ब ९ करोड ८० लाख रुपैयाँको कारोबार राफसाफ भएको छ ।
नेपालमा आरटीजीसी, वालेट, एटिएम, आईपीएस, मोबाइल बैंकिङ, ईसीसी, कनेक्ट आईपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, ब्रान्च लेस बैंकिङ, क्यूआर बेस पेमेन्ट, पीओएस र ई–कमर्स जस्ता विद्युतीय प्रणालीहरूमार्फत कारोबार हुने गरेको छ । जेठमा सबैभन्दा कम प्रिपेड कार्डमार्फत १ लाख ४ हजार २८० पटक लेनदेन हुँदा ७० करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।















