२०८१ माघ २५ शुक्रबार

काठमाडौं : असारे विकासले चालु आर्थिक वर्षमा पनि निरन्तरता पाएको छ । सरकारले असारको २५ दिनमा पौने २ खर्ब रुपैयाँ बजेट खर्च गरेको छ । असार २५ गते साँझसम्मको तथ्यांक अनुसार सरकारले १३ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँ बजेट खर्च गरेको छ । असार १ गतेका दिनमा मात्रै ११ खर्ब ८१ अर्ब २९ करोड खर्च भएको तथ्यांक थियो ।

यसरी असारको झरीमा बजेट स्वाहा भएको यो पहिलो वर्ष भने होइन । विगत लामो समयदेखि सरकारले पुँजीगत खर्चमा सुधार गर्न सकेको छैन । नेपालमा असार मसान्तमा आर्थिक वर्ष सकिन्छ  । सोहीअुनसार सरकारको नयाँ वार्षिक बजेट पनि १ साउनदेखि नै कार्यान्वयनमा जान्छ ।

तर, सुरुवाती महिनामा बजेटको कार्यान्वयन भने निकै सुस्त हुने गर्छ । फलस्वरूपः नेपालमा हरेक वर्ष आर्थिक वर्षको अन्तिम समयमा गएरमात्र रातारात खर्च बढी हुने प्रवृत्ति छ । यसका अलावा निर्माणसम्बन्धी काम पनि पहिल्यैदेखि असारमै बढी हुने गरेको देखिन्छ । अन्तिम प्रहरमा हतारहतारमा काम सक्ने र भुक्तानी लिने प्रवृत्ति हावी हुँदै आएको छ ।

यसरी काम गर्दा गुणस्तरीय नहुने, जसरी भए पनि कागजमा काम सकेर देखाएर भुक्तानी लिने प्रवृत्ति देखिन्छ । यसबाट गुणस्तरीय काम हुनेमा सधैं आशंका छ । विशेषगरी, सडक निर्माण तथा मर्मत, पीच लगायतका काममा बढीमात्रामा यसरी रकम सक्ने गरेको सर्वसाधारणले पनि देखेका हुन्छन् । असारमा गरेको कालोपत्रे अर्को असार नआउँदै उप्किसकेको हुन्छ । यसबाट हाम्रो कामको प्रवृत्ति छर्लङ हुन्छ । अरु क्षेत्रको हालत पनि यस्तै हुन्छ ।

सरकारी कार्यालयमा आएर रोकिएका बिल बाहेक अब नयाँ भुक्तानी नहुने भएकाले पनि असार अन्तिमतिर आएर हतार गर्ने प्रवृत्ति बढेको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धित नियमावलीको प्रावधान अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साता अगाडि नै सरकारले भुक्तानी बन्द गरिसक्नुपर्छ । सोहीकारण सरकारले सबैभन्दा बढी भुक्तानीको चाप सोमबार बेहोरेको हो ।

यसरी भयो पछिल्लो एक साताको बजेट खर्च

–असार १८ गते १२ खर्ब ६३ अर्ब ४८ करोड ६१ लाख–७२.५१ प्रतिशत
–असार १९ गते १२ खर्ब ७३ अर्ब ४६ करोड ५ लाख–७२.७१ प्रतिशत
–असार २० गते १२ खर्ब ८१ अर्ब ५७ करोड ८८ लाख–७३.१८ प्रतिशत
–असार २१ गते १२ खर्ब ८८ अर्ब ७१ करोड २८ लाख–७३.५९ प्रतिशत
–असार २२ गते १२ खर्ब ९४ अर्ब ७ करोड ८४ लाख–७३.८९ प्रतिशत
–असार २३ गते १२ खर्ब ९८ अर्ब ३२ करोड ८० लाख–७४.१३ प्रतिशत
–असार २४ गते १३ खर्ब २२ अर्ब ६० करोड १९ लाख–७५.५२ प्रतिशत
–असार २५ गते १३ खर्ब ५६ अर्ब २१ करोड ५३ लाख– ७७.४४ प्रतिशत

पुँजीगत खर्च १ खर्ब ७२ अर्ब नाघ्यो

महालेखा नियन्त्रक कार्यालयका अनुसार २५ असारसम्म पुँजीगत खर्च १ खर्ब ७२ अर्ब रुपैयाँ नाघेको छ । यो रकम कुल पुँजीगत बजेटको ५६.९७ प्रतिशत हिस्सा हो । यस वर्ष सरकारले ३ खर्ब २ अर्ब रुपैयाँ पुँजीगत खर्चको लक्ष्य राखेको छ ।
चालु खर्च भने लक्ष्यको ८१.७९ प्रतिशत छ । यस वर्ष ११ खर्ब ४१ अर्ब रुपैयाँ चालु खर्चको लक्ष्य राखेकोमा ९ खर्ब ३३ अर्ब रुपैयाँ चालु प्रकृतिको खर्च भइसकेको छ ।

वित्तीय व्यवस्थातर्फ समेत २५ असारसम्म लक्ष्यको ८१.४ प्रतिशत खर्च भइसकेको छ । यस वर्ष सरकारले वित्तीय व्यवस्थामा ३ खर्ब ७ अर्बको लक्ष्य राखेको छ । जसमध्ये मंगलबार साँझसम्म २ खर्ब ५० अर्ब खर्च गरिसकेको छ ।

राजस्वको लक्ष्य पनि भेट्टाउन मुस्किल

यस वर्ष राजस्व संकलनको लक्ष्य भेट्टाउन मुस्किल देखिएको छ । मंगलबार साँझसम्म सरकारले १० खर्ब १५ अर्ब ८२ करोड रुपैयाँ मात्र राजस्व उठाउन सकेको छ । यो वर्षको लक्ष्य भने १४ खर्ब २२ अर्ब रुपैयाँको हो ।

राजस्व कम उठ्दा खर्च जुटाउन सरकारले ऋणमा भर पर्नु परेको छ । किनकी अनुदान समेत लक्ष्यको साढे ५ प्रतिशत मात्र प्राप्ति भएको छ । चालु वर्ष वैदेशिक अनुदान ४९ अर्ब ९४ करोड आउने अनुमान गरिएकोमा हालसम्म जम्मा २ अर्ब ७५ करोडमात्रै प्राप्त भएको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय