२०८१ माघ २४ बिहीबार

काठमाडौं- नेपालको हवाई इतिहासमा आर्थिक वर्ष २०८०/०८१ सुखद् वर्ष भएको छ। हवाई क्षेत्रको व्यापारमा उत्साह छाएको छ। आन्तरिक हवाई यात्रुको संख्या बढ्दो छ। आन्तरिक उडानको स्टल उडानमा कमजोर देखिए पनि समग्रमा व्यवसाय फस्टाउँदो छ। व्यवसायमा देखिएको उत्साहका कारण वायुसेवा कम्पनीहरूबीच जहाज थप्ने प्रतिस्पर्धा नै भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालको हवाई इतिहासमा सबैभन्दा बढी जहाज एकैपटक भित्रिएको वर्ष चालु आव भएको छ। चालु आवमा मात्रै ७ वटा ठूला जहाज तथा ५ वटा हेलिकोप्टर नेपाल भित्रिएका छन्। यो नै सबैभन्दा बढी वायुयान भित्रिएको वर्ष भएको प्राधिकरण प्रवक्ता ज्ञानेन्द्र भुल बताउँछन्।

यो वर्ष सबैभन्दा बढी जहाज भित्र्याउनेमा श्री एयरलाइन्स रहेको छ। श्रीले ८० सिट क्षमताको ३ वटा क्यू ४०० ड्यास जहाज नेपाल भित्र्याएको छ। यसैगरी बुद्ध र यतीले पनि २/२ वटा ७२ सिट क्षमताको जहाज नेपाल भित्र्याएका छन्।

यसैगरी ५ वटा हेलिकोप्टर नेपाल भित्रिएको छ। जसमा हेलि एभरेष्टले सबैभन्दा बढी हेलिकोप्टर नेपाल भित्र्याएको छ। मुस्ताङले एउटा, मनाङले एउटा र सिम्रिकले एउटा हेलिकोप्टर भित्र्याएका छन्। १२ वायुयान नेपाल भित्रिँदा साढे ९ अर्ब रुपैयाँ नेपालबाट बाहिरिएको छ। यसैगरी १२ वायुयान नेपाल भित्र्याउँदा सरकारले साढे १ अर्ब राजस्व संकलन गरेको छ।

आन्तरिक उडानमा सरकारी स्वामित्वको नेपाल एयरलाइन्ससहित ७ वटा कम्पनी उडानमा छन्। गुण एयर उडानमा छैन। गुण एयरको एओसी निलम्बनमा परेको छ। एक वर्षअगाडि नै एओसी निलम्बनमा परेको गुणको अहिले इजाजतको अवधि सकिएको छ। अब उसले उडानमा फर्कन इजाजत नवीकरण गरेर एओसी ब्युँताउनु पर्छ।

आर्थिक संकटमा परेको गुण एयर बन्द भएको साढे एक वर्ष भइसकेको छ। एयरले अहिले विमानस्थललाई तिर्नुपर्ने करिब ७ करोड बक्यौता भुक्तानी गरेर उडानमा फर्कन खोजेको छ। कम्पनीका मालिक राजेन्द्र शाक्यले गुण ग्रुपको कर्पोरेट अफिस बिक्री गरेर बक्यौता रकम तिरी पुन: उडानमा फर्कन खोजेका छन्।

तर प्राधिकरणले उसलाई पुरानै जहाजबाट उडान गर्न दिने सम्भावना नरहेको बताएको छ। गुणसँग ७ वटा जहाज छन्। यसबाहेक बुद्ध, यती, श्री, तारा, समिट, सिता र नेपाल एयरलाइन्सले फिक्सविङतर्फमा उडान गरिरहेका छन्। यी सबैकम्पनीहरूसँग उडानयोग्य रहेका तथा नरहेका गरी ६१ वटा जहाज छन्। जसमा सबैभन्दा बढी बुद्ध एयरसँग १८ वटा जहाज छ।

आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओगट्न सफल कम्पनी बुद्ध एयर हो। बुद्ध एयरसँग अहिले १८ वटा एटीआर जहाज छन्। बुद्ध एयरले यही असार १४ गते शुक्रबार १८ औँ एटीआर जहाज नेपाल भित्र्याएको थियो।

बुद्धसँग ३ वटा एटीआर ४२ र १५ वटा एटीआर ७२ जहाज छ। एयरले चालु आवमा मात्रै २ वटा जहाज थपेको हो। एयरले भारतको सिक्किम र गुहावटीमा समेत उडानको तयारी गरिरहेको छ। बुद्ध एयरले भारतको दुई गन्तव्यमा उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिने तयारी गरेको छ।

यसैगरी एयरले धनगढीमा उडान तालिकासमेत बढाउने तयारी गरेको छ। बुद्धले भारतको बनारसमा समेत उडान गरिरहेको छ। बुद्ध एयर अहिले नेपालमा सबैभन्दा बढी उडान गर्ने एयरलाइन्स हो।

बुद्धको बजार हिस्सा २०२४ को तीन महिनामै ६३.५० प्रतिशत पुगेको थियो। बुद्ध एयरले अहिले काठमाडौंबाट माउन्टेन उडानसहित धनगढी, सुर्खेत, नेपालगञ्ज, भैरहवा, पोखरा, चितवन, सिमरा, जनकपुर, राजविराज, विराटनगर, भद्रपुर र तुम्लिङटारमा उडान गरिरहेको छ। यसैगरी पोखराबाट भरतपुर, भैरहवा र नेपालगञ्जमा समेत उडान गरिरहेको छ।

यसैगरी आन्तरिक उडानमा अहिले यती एयर र श्री एयरबीच यात्रु संख्यामा आधारमा नम्बर २ बन्ने भनेर प्रतिस्पर्धा चलिरहेको छ। जहाज संख्याको हिसाबमा श्री अगाडि छ तर यात्रु संख्याको हिसाबमा यती अगाडि छ।

यतीले अहिले एटीआर ७२ जहाज मात्रै उडाइरहेको छ। यतीसँग ७ वटा जहाज छ। सञ्चालनको २५ वर्षपछि एसियन लाइन इन्स्योरेन्सलाई लगानीकर्ताको रुपमा भित्र्याउँदै एयरलाइन्सले यही वर्ष २ वटा एटीआर जहाज थपेको छ। संकट भोगिरहेको बेला जहाज दुर्घटनापछि यती एयर आर्थिक संकटमा फसेको थियो।

देशभरका विमानस्थलमा विमानस्थल सेवा शुल्क वापतको रकम भुक्तानी गर्न सकेको थिएन। अहिले लगानीकर्ता भित्र्याउँदै आक्रमक बजार बिस्तार गरिरह‍को छ। यती एयरले सर्वसाधरणका लागिसमेत सेयर जारी गर्ने तयारी गरिरहेको छ। ६ वटा एटीआर जहाजमध्ये एउटा दुर्घटना भएपपछि यतीको जहाज संख्या पाँचवटा भएको थियो।

पाँचवटा जहाज भएको यती एयर संकटबाट माथि उठन कोशिस गरिरहेको थियो। त्यही क्रममा यती ग्रुपमा अध्यक्ष सोनाम शेर्पाले लगानीकर्ता भित्र्याउने निर्णय गरेका थिए। सञ्चालनको २५ वर्षपछि यती एयरमा ४९ प्रतिशत सेयर स्वामित्वमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी प्रवेश गरेको थियो।

करिब पौन २ अर्बको लगानीसहित एसिएन लाइफ इन्स्योरेन्स कम्पनी यती एयरमा प्रवेश गरेको हो। एसियनको प्रवेशसँगै एयरलाइन्सले जहाज खरिद गरेर सेवा विस्तारको लक्ष्य लिएको छ।

सोही क्रममा यती एयरले २०८० को माघ १८ गते एकैपटक २ वटा एटीआर ७२ जहाज भित्र्याउँदै जहाज संख्या ७ वटा बनाएको थियो। यतीले फेरि ३ वटा जहाज थप्ने तयारी गरेको छ।

यतीसँग भएका सबै जहाज एटीआर ७२ जहाज हुन्। यतीले अहिले काठमाडौंबाट माउन्टेन उडानसहित नेपालगञ्ज, भैरहवा, पोखरा, जनकपुर, विराटनगर र भद्रपुरमा उडान गरिहेको छ। यात्रु संख्यको हिसाबमा यती दोस्रो ठूलो कम्पनी हो।

चालु आबमा सबैभन्दा बढी जहाज भित्र्याउने एयरलाइन्स श्री एयर हो। चालु आवमा मात्रै एयरले ३ वटा क्यू ४०० ड्यास ८ जहाज भित्र्याएको हो। हेलिकोप्टर सेवाबाट आन्तरिक उडान (फिक्सविङ सेवामा) प्रवेश गरेको श्री एयरलाइन्सले पनि जहाज संख्या ११ वटा बनाएको छ।

साथै श्रीसँग ८ वटा हेलिकोप्टरसमेत छ। कुल श्रीसँग १९ वटा वायुयान भएको छ। वायुयानको आधारमा सबैभन्दा ठूलो एयरलाइन्स श्री बनेको छ। श्रीसँग ४ वटा सिआरजे र ७ वटा क्यू ४०० ड्यास ८ जहाज छन्।

श्रीले पछिल्लो समय सिआरजे जहाज थप्ने निर्णयसँगै क्यू ४०० ड्यास ८ जहाज नेपाल भित्र्याउँदै आएको छ। यी जहाज ८० सिट क्षमताका हुन्। श्रीले सातौँ नम्बरको क्यू ४०० ड्यास ८ जहाज असार ७ गते शुक्रबार काठमाडौं ल्याण्ड गराएको थियो। थप भएको जहाजबाट श्रीले भारतको दुईवटा सहर र भरतपुरमा उडान गर्ने अन्तिम तयारी गरेको छ।

यसअघि श्रीले गएको चैत १३ गते एकैपटकमा २ वटा क्यू ४०० ड्यास ८ जहाज नेपाल भित्र्याउँदै १० जहाज र ८ हेलिकोप्टर गरी वायुयान संख्या १८ बनाएको थियो। सुरुमा श्रीले काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी तथा पर्वतीय उडानमा नियमित रूपमा हवाई सेवा सञ्चालन गरेको थियो।

अहिले श्रीले काठमाडौंबाट माउन्टेन उडानसहित धनगढी, सुर्खेत, नेपालञ्ज, भैरहवा, विराटनगर र पोखरा उडान गरिरहेको छ। श्रीले नेपालगञ्जबाट मानसरोवरका लागि माउन्टेन उडान पनि गरिरहेको छ।

श्रीले अहिले चितवनको भरतपुरमा उडानको तयारी अन्तिम चरणमा पुर्‍याएको छ। श्रीले पोखराबाट पूर्व र पश्चिममा माउन्टेन उडान गर्ने तयारीसमेत गरेको छ। श्रीले योसँगै भारतको अहमवाद, कोलकाता र जयपुर उडानको तयारी गरेको छ।

यसैगरी आन्तरिक उडानमै रहेको नेपाल एयरलाइन्ससँग आन्तरिक उडान गर्ने ७ वटा जहाज छन्। तर २ वटामात्रै जहाज उडानयोग्य छ। ३ वटा वाई १२ र २ वटा एम-६० जहाज २०७७ साउनदेखि निगमले उडान नगर्ने घोषणासँगै ग्राउन्डेड छ।

जहाज व्यस्थापनमा ढिलासुस्ती भइरहेको छ। यसैगरी स्टल रुपमा उडान गरिररहेको तारा एयरसँग ३, समिटसँग ४ र सिता एयरसँग ३ वटा जहाज छन्। स्टल उडानका लागि जहाज थप्न प्रतिस्पर्धा चलेपनि स्टल रुटमा उडान गर्न जहाजको संख्या घट्दो छ। स्टल उडान कोल्याप्सको चरणमा छ।

हिमाली क्षेत्रको पर्यटन तथा यातायातलाई सुधार गर्ने हो भने स्टल उडानमा राज्यले अनुदान दिनु पर्ने अवस्था आएको छ। प्राधिकरणले स्टल उडानलाई जोगाउन अहिले कोष खडा गरेर ट्रंक उडानबाट रकम संकलन भने थालेको छ। त्यसले मात्रै नपुग्न वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्की बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय