२०८३ बैशाख १० बिहीबार

काठमाडौं – सञ्चालनमा रहेका वाणिज्य बैंकले असारको लागि आधार दर सार्वजनिक गरेका छन्। यस्तो विवरण सार्वजनिक गरिसकेका १९ मध्ये दुई वटा बैंकको आधार दर घटेको छ। यससँगै बैंकहरूको औसत आधार दर ८.७ प्रतिशतबाट घटेर ८.४७ प्रतिशतमा सीमित भएको हो।

चार बाहेक सबै वाणिज्य बैंकको आधार दर ९ प्रतिशतभन्दा कम छ। कुमारी बैंक, प्राइम कमर्सियल बैंक, एनआइसी एसिया र हिमालयन बैंकको आधार दर ९ प्रतिशतभन्दा माथि छ। बैंकहरूले आधार दरमा थप प्रिमियम तोकेर कर्जाको ब्याजदर निर्धारण गर्छन्।

पछिल्लो समय अधिकांश बैंकहरूले यस्तो प्रिमियम दर समेत घटाइरहेका छन्। केही महिनाअघिसम्म यस्तो प्रिमियम दर ७ प्रतिशतसम्म रहेकोमा हाल यो अधिकतम ५ प्रतिशत छ। धेरै जस्तो कर्जा योजनामा प्रिमियम दर अधिकतम २ प्रतिशत र सोभन्दा कम समेत छ।

राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम ७.२१ प्रतिशत छ। बैंकबाट ऋणीले १० प्रतिशतभन्दा कम ब्याज मै कर्जा पाउन सक्ने भएका छन्। बैंकले घर कर्जा, विद्युतीय सवारी कर्जा लगायतमा २ प्रतिशतभन्दा कम प्रिमियम तोकेको छ। यस्ता कर्जा ८.५ प्रतिशतदेखि ९ प्रतिशत हाराहारीमा पाउने भएका छन्।

कुमारी र हिमालयन बैंकको आधार दर सबैभन्दा धेरै छ। दुबै बैंकको यस्तो आधार दर ९ प्रतिशत माथि छ। कर्जाको ब्याजदर घट्दै गए पनि बैंक तथा वित्तीय संस्थाहरूबाट जारी हुने कर्जामा खासै वृद्धि हुन सकिरहेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर