बीमालाई विश्वव्यापी रूपमै अर्थतन्त्रको मेरुदण्ड तथा आर्थिक समृद्धिको वाहकका रूपमा बुझ्ने गरिन्छ । कुनै पनि अर्थतन्त्रको वित्तीय प्रणालीमा बीमा क्षेत्रले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । खासगरी घर परिवार तथा व्यवसायहरूको वित्तीय जोखिम व्यवस्थापन गर्न, बचत परिचालन तथा लगानी अभिवृद्धि गर्न, व्यवसाय, व्यापार तथा उद्यमहरूको सञ्चालन सहज बनाउन साथै वित्तीय स्थायित्व कायम गर्नमा बीमा क्षेत्रले उल्लेख्य योगदान पु¥याउँछ । नेपालमा समेत विगत साढे सात दशकदेखि बीमा क्षेत्रले वित्तीय जोखिम व्यवस्थापन तथा व्यापार व्यवसाय सहजीकरणमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । बीमा भविष्यमा हुने जोखिमहरूलाई हस्तान्तरण गर्नका लागि बिमित र बीमा कम्पनीबीच सम्पन्न हुने एक प्रकारको लिखित करार हो । बिमितले बीमा कम्पनीसँग आफ्नो जीवन तथा सम्पत्ति वा दायित्वको बीमा गरिसकेपछि बिमितको मृत्यु, सम्पत्तिमा हानी नोक्सानी भएमा बिमकले बीमा लेखको सर्तबमोजिम दाबी भुक्तानी गर्दछ । बीमालेख बीमाको कानुनी दस्तावेज हो, जसमा बीमासम्बन्धी सर्त, सुविधालगायत सबै जानकारी उल्लेख भएको हुन्छ । तर बीमा गर्नुभन्दा अगाडि बीमालेख पढ्ने बानी नभएका कारण बिमितले दाबी भुक्तानीमा ठूलो समस्या बेहोर्नु परिरहेको हुन्छ ।
नेपालमा बीमाको सुरुवात
नेपालमा बीमाको संस्थागत प्रवेश राणा कालदेखि नै भएको पाइन्छ । नेपाल बैंकको स्थापना (वि.सं. १९९४) पछि उद्योग र व्यापार चलायमान हुन थाले । नेपाल बैंकले ऋण प्रदान गरेर गरिएका व्यवसायमा बीमाको आवश्यकता महसुस हुन थाल्यो । त्यसैको फलस्वरूप वि.सं. २००४ मा माल चलानी र बीमा कम्पनी स्थापना भयो । नेपालमा यो पहिलो बीमा कम्पनी थियो । यसैलाई पछि नेपाल इन्सुरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी भनियो । यो पछि नेपाल बैंककै भगिनी कम्पनीका रूपमा नेपाल इन्स्योरेन्सका रूपमा रहेको छ । सन् १९६८ मा नेपाल सरकारले राष्ट्रिय बीमा संस्थान स्थापना गरेपछि नेपालमा जीवन र निर्जीवन बीमा व्यवसाय अगाडि बढ्न थाल्यो । राष्ट्रिय बीमा संस्थानको स्थापनासँगै सरकारले बीमा क्षेत्रको नियमन गर्नका लागि छुट्टै संस्थाको आवश्यकता महसुस गरी अर्थ मन्त्रालयको एउटा कोठामा वि.सं. २०२५ सालमा बीमा समिति (हाल नेपाल बीमा प्राधिकरण) को स्थापना गरेको थियो ।
सुरुवाती समयमा राष्ट्रिय बीमा संस्थानबाट निर्जीवन बीमासम्बन्धी कार्यहरू हुँदै आएकोमा वि.सं. २०२९ सालबाट जीवन बीमाको काम पनि सुरु भएको पाइन्छ । वि.सं. २०४० कै दशकमा बीमा क्षेत्रमा उदारीकरण सुरु भएको थियो । निजी क्षेत्रमा बीमा कम्पनी खुल्ने क्रम सुरु भए पनि वि.सं. २०४९ सालको बीमा समिति ऐनले बीमालाई व्यापक बनायो । विदेशी लगानीका कम्पनीहरूसमेत क्रियाशील हुन थाले । अर्थतन्त्रको उदार नीतिकै कारण जीवन र निर्जीवन बीमाका थप कम्पनीहरू आउन थाले । पछिल्लो बीमा ऐन, २०७९ ले बीमा क्षेत्रको नियायक निकाय नेपाल बीमा प्राधिकरणलाई बलियो बनाएको छ भने जीवन र निर्जीवन बीमा कम्पनीहरूको संस्थागत विकासले गति लिएको छ ।
बीमा क्षेत्रको वर्तमान अवस्था
नेपालमा वि.सं. २००४ सालमा बीमा सेवाको सुरुवात भए पनि बीमाको विकास र पहुँचको विस्तार भने २०४० को दशकमा मुलुकले लिएको आर्थिक उदारीकरणको नीतिपश्चात् मात्रै भएको पाइन्छ । उदारीकरणपूर्व पाँच वटा बीमा कम्पनीहरूको मात्रै उपस्थिति रहेकोमा हाल उक्त सङ्ख्या ७ गुणाभन्दा बढीले वृद्धि भएको छ । अझ एक वर्षको अवधिमा मर्जर प्रकृयाबाट १२ वटा कम्पनीहरू घटेका छन् । हाल नेपालमा १४ वटा जीवन, १४ वटा निर्जीवन, २ वटा पुनर्बिमा र ७ वटा लघु बीमासहित ३७ वटा कम्पनीहरू सञ्चालनमा छन् । कुल बीमा कम्पनीहरूमध्ये ३ वटा सरकारी स्वामित्वका, २७ वटा निजी क्षेत्रका, ३ वटा विदेशी स्वामित्वका तथा ४ वटा विदेशीसँगको संयुक्त लगानीका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको कार्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरूले कुल एक करोड ३९ लाख वटा पोलिसी बिक्री गरेका छन्, जसमा म्यादी र लघु म्यादी जीवन बीमालेखको सङ्ख्या ७४ लाख २२ हजार वटा रहेको छ । त्यस्तै वैदेशिक रोजगारमा गएका नेपालीहरूले अनिवार्य रूपमा गर्नै पर्ने वैदेशिक रोजगार बीमालेखको सङ्ख्या १२ लाख १२ हजार मात्रै रहेको छ । निर्जीवन बीमा कम्पनीहरूले कार्तिक मसान्तसम्ममा ९ लाख १९ हजार वटा पोलिसी जारी गरेको देखिन्छ । बीमा कम्पनीहरूले ४६ अर्ब एक करोड बीमा शुल्क सङ्कलन गरेका छन् । आर्थिक मन्दीको प्रभाव बीमा क्षेत्रमा पनि परेको छ । २०७८ कार्तिकमा जीवन बीमा व्यवसायको वृद्धिदर २३.२२ प्रतिशत थियो भने निर्जीवन बीमा व्यवसायको वृद्धिदर २७.३६ प्रतिशत थियो । यही अवधिमा २०७९ मा जीवन बीमा शुल्क आर्जनको वृद्धिदर ४.७९ प्रतिशतले ऋणात्मक देखिएको थियो भने निर्जीवन बीमा शुल्क आर्जन ६.१६ प्रतिशतले वृद्धि भएको थियो ।
चालु आर्थिक वर्षको चार महिनामा जीवन बीमा शुल्क आर्जन ७.४५ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा शुल्क आर्जनको वृद्धिदर ४.५८ प्रतिशतले ऋणात्मक छ । सरकारले आयातमा प्रतिबन्ध लगाउँदा यसको प्रत्यक्ष असर निर्जीवन बीमा व्यवसायमा परेको हो । मोटरगाडीको आयातमा कमी आउँदा निर्जीवन बीमा व्यवसायमा ठूलो असर परेको देखिन्छ । यसबाहेक बैंक तथा वित्तीय संस्थाको घरजग्गामा कर्जा प्रवाह घटेको छ । बैंकहरूले घर धितोमा राखेर कर्जा प्रवाह गर्दा बीमालाई अनिवार्य गरेका हुन्छन् । यसले गर्दा बीमा व्यवसायमा पनि मद्दत पुग्छ । नेपालमा बीमा स्वतःस्फूर्त भन्दा पनि बाध्यात्मक रूपमा गर्नैपर्ने अवस्थामा मात्रै गरिन्छ । नेपाल बीमा प्राधिकरणका अनुसार ४२.९८ प्रतिशत जनता बीमाको पहुँचमा रहेका छन् । तर यस तथ्याङ्कमा वैदेशिक रोजगारमा गएका नेपालीले खरिद गर्ने म्यादी बीमालेख, लघु बीमालेखलाई पनि जोडिएको छ । अर्कोतर्फ एउटै व्यक्तिले धेरै वटा पोलिसी खरिद गर्ने भएकाले बीमा प्राधिकरणले उपलब्ध गराएको पहुँचको तथ्याङ्क यथार्थपरक छैन ।
बीमा कम्पनीका शाखा तथा कर्मचारी सङ्ख्या
विद्यमान बीमा कम्पनीहरूले नेपालभर ५ हजार ७६२ वटा शाखा सञ्चालन गरिरहेका छन् । मर्जरका कारण यस्तो सङ्ख्या एक वर्षको अवधिमा ६.२८ प्रतिशतले घटेको छ । एक वर्ष अघि बीमा कम्पनीका शाखा कार्यालयको सङ्ख्या ६ हजार १४८ थियो । एक वर्षको अवधिमा मात्रै १२ वटा कम्पनी मर्जर प्रकृयाबाट घटेका छन् । मर्जरका क्रममा एउटै स्थानमा रहेका शाखालाई पनि मर्ज गरिएको हो । मर्जरले शाखा कार्यालय मात्रै होइन, कर्मचारीको सङ्ख्या पनि घटिरहेको छ । हाल बीमा क्षेत्रमा ११ हजार ४१८ जना कर्मचारी रहेका छन् । जबकि एक वर्ष अगाडि कर्मचारीको सङ्ख्या ११ हजार ८२० थियो । यसै अवधिमा ७ वटा लघु बीमा कम्पनीहरू सञ्चालनमा आएका छन् । यसले पनि कर्मचारीको घट्दो सङ्ख्यालाई कम देखाएको छ ।
बीमा कम्पनीहरूको लगानी
जीवन, निर्जीवन र पुनर्बिमा कम्पनीहरूले कुल ६ खर्ब ९० अर्ब रुपैयाँको लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूका लागि बीमा कम्पनीहरू निक्षेपका प्रमुख स्रोत हुन् । बीमा आफैमा जोखिम बहन गर्ने संस्था भएको हुँदा उनीहरूले जोखिम ग्रहण गरेबापत सङ्कलन गरेको बीमा शुल्कलाई सुरक्षित क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८०÷८१ को प्रथम त्रैमासिक अवधिमा ६ खर्ब लगानी गरेका छन् । बीमा कम्पनीहरूले कुल लगानीको ७० प्रतिशत रकम ‘क’ वर्गका वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा लगानी गरेका छन् । त्यस्तै विकास बैंकको मुद्दती निक्षेपमा ६.७८ प्रतिशत रहेको छ । यसपछिको ठूलो हिस्सा ऋणपत्रमा रहेको छ । बीमा कम्पनीहरूले अझै पनि आफ्नो लगानीलाई विविधीकरण गर्न सकेका छैनन् । बैंकहरूले निक्षेपको ब्याजदर बढाउँदा बैंकहरूको आम्दानी बढ्ने तथा घट्दा घट्ने परिपाटी छ । यसबाहेक ठूला ठूला पूर्वाधारमा लगानी अझै पनि हुन सकेको छैन । बीमा कम्पनीहरूले आफैले बन्ड जारी गर्न सकेका छैनन् ।
बैंकहरूको निक्षेपको प्रमुख स्रोत
बीमा कम्पनीले लाखौँ बिमितसँग बीमा शुल्कका रूपमा सङ्कलन गर्ने रकम बैंकका लागि दीर्घकालीन निक्षेपको स्रोत हो । जीवन बीमा सामान्यतया दुई उद्देश्यका साथ गरिन्छ । पहिलो उद्देश्य, भोलि भवितव्य केही भइहाल्यो भने परिवारलाई आर्थिक क्षतिपूर्ति होस् भन्ने मनसायका साथ र दोस्रो उद्देश्य, बचतका लागि । आफ्नो क्षमताअनुसार बीमाङ्क निर्धारण गरी उक्त रकम हरेक वर्ष बीमा शुल्कका रूपमा बुझाउनुपर्ने भएकाले यो फोर्स सेभिङ हो, जुन बीमा अवधि समाप्त भएपछि बोनससहित फिर्ता हुन्छ । यसरी लाखौँ बिमितसँग बीमा कम्पनीहरूले उठाएको रकम जीवन बीमा कोषमा जम्मा गरिन्छ । बिमितलाई भविष्यमा बोनससहित फिर्ता गर्नुपर्ने भएकाले यस्तो रकमलाई बीमा कम्पनीहरूले जोखिमयुक्त क्षेत्रमा लगानी नगरी बैंकहरूको मुद्दती निक्षेप तथा ऋणपत्रमा लगानी गर्छन् ।
आजका दिनमा बैंकिङ प्रणालीमा ६० खर्बभन्दा बढी निक्षेप रहेको छ, जसमा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बिमा कम्पनीहरूको हिस्सा करिब साढे ५ खर्बभन्दा धेरै छ । बीमा कम्पनीहरूको दोस्रो ठूलो लगानी विभिन्न कम्पनीको सेयर, म्युचुअल फन्ड रहेको हुँदा यो पनि बैंकिङ प्रणालीमै घुम्ने पैसा हो । यसरी बैंकिङ प्रणालीको कुल निक्षेपमा झन्डै १० प्रतिशत हिस्सा ओगट्ने बीमा क्षेत्रले वित्तीय स्थायित्वमा धेरै भूमिका खेलेको छ । विकसित मुलकमा बीमा कम्पनीको कोषलाई दीर्घकालीन लगानीका क्षेत्रमा प्रयोग गरिन्छ, जसबाट ठूला ठूला विकासका पूर्वाधार निर्माण गरिन्छ । भारतमै पनि बीमा कम्पनीहरूले रियल इस्टेटमा लगानी गरेका छन् । युरोप तथा अमेरिकी मुलुकमा बीमालाई अनिवार्य गरिने भएकाले बीमा क्षेत्रले ठूलो कोष निर्माण गरेका हुन्छन् । यस्ता कोषबाटै ती मुलुकले देशको विकास गरेका हुन् । बीमा क्षेत्रको कोषलाई पनि बैंकहरूले विभिन्न प्रकारका बन्डहरू जारी गरी दीर्घकालीन महत्वका क्षेत्रहरू जलविद्युत्, पूर्वाधार, पर्यटन क्षेत्रमा लगानी विस्तार गर्न सक्छन् ।
बैंक र बीमाविचको सम्बन्ध
बैंक र बीमा क्षेत्र एक अर्काका परिपूरक हुने भएकाले यी दुई क्षेत्रका बीचमा घनिष्ट सम्बन्ध रहेको हुन्छ । वित्तीय क्षेत्रमा विभिन्न किसिमका जोखिम हुन्छन्, जसलाई बीमा कम्पनीहरूले समयसापेक्ष ‘बीमा योजना’ मार्फत जोखिम न्यूनीकरणको काम गरिरहेका हुन्छन् । कर्जा तथा निक्षेपको सुरक्षादेखि लिएर ऋणीको सम्पत्तिमा हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न बीमालाई अनिवार्य गरिएको छ । नेपाल राष्ट्र बैंकले धितो मूल्याङ्कनका आधारमा कर्जा प्रवाह गर्दा बीमालाई अनिवार्य गरिदिएको छ । अझ बैंकको ऋणलाई बीमाको दाबीले खाम्ने गरी बीमा गर्नुपर्ने व्यवस्था गरिएको छ । यसले बैंक र बीमाको सम्बन्ध अझ अन्योन्याश्रित बन्न पुगेको छ । विगतमा बैंकहरूले बीमालाई वास्ता नगरी धितोले मात्रै खाम्ने गरी बीमा गर्ने गरेका थिए ।
कतिपय अवस्थामा बैंकहरूले सम्पत्तिको बीमा गर्दा ऋण बराबरको मात्रै गर्ने गरेको पाइन्छ । कर्जा दिँदा ऋणीको सुरक्षालाई ध्यान नदिई कर्जा प्रवाह गर्ने बैंकलाई अदालतले उनीहरूका विरुद्धमा फैसलासमेत गरेका उदाहरणहरू छन् । अर्कोतर्फ बैंकहरूले कर्जाको जोखिम न्यूनीकरणका लागि बीमालाई अनिवार्य गर्दागर्दै पनि ऋणीहरूले आफ्नो सम्पत्तिको वास्तविक मूल्याङ्कन गरी कर्जा बराबरकै मात्रै बीमा गर्दा कैयौँ बिमितहरूले पछुताउने गरेका छन् । बैंकहरूले यसरी गराएका बाध्यात्मक व्यवस्थाले बैंक मात्रै होइन, स्वयं बिमित नै सुरक्षित हुने गरेका छन् । बीमा शुल्कलाई खर्चका रूपमा हेर्ने नेपालीहरूको दृष्टिकोणले गर्दा अझै पनि बीमा प्रभावकारी हुन सकेको छैन ।
नेपाल जस्तो प्राकृतिक प्रकोपको अत्यधिक जोखिमयुक्त मुलुकमा जोखिम व्यवस्थापन गर्ने एक मात्रै औजार बीमा हो । बैंकहरूले अर्बौँ रुपैयाँ कर्जा प्रवाह गर्ने जलविद्युत् क्षेत्र आफैमा ठूलो जोखियुक्त क्षेत्र हो । खोला तथा नदीको असुरक्षित क्षेत्रमा अर्बौँ रुपैयाँ लगानी गरेर तयार पारिएका जलविद्युत् आयोजनाका संरचना एक दिनको बाढी, पहिरो तथा भूकम्पका कारण क्षणभरमा नष्ट हुन्छन् । यदि बीमा नहुने हो भने बैंकहरूले बचतकर्तासँग उठाएको निक्षेप नै ठूलो जोखिममा पर्दछ । यसले गर्दा बैंकहरूलाई कर्जा प्रवाहमा बीमा क्षेत्रको ठूलो हात रहेको छ । बैंकहरूले नियमित रूपमा सम्पत्ति, सवारी साधन, सामुद्रिक तथा विविध बीमाका लागि बीमा कम्पनीहरूसँग टाइअप गरिरहेका हुन्छन् । यसरी बीमा गराउने क्रममा बैंकमा कार्यरत कर्मचारीहरूले बीमाका लागि के के विवरण चाहिन्छ र जोखिम मूल्याङ्कनको पक्षलाई पनि विशेष ख्याल राख्नुपर्दछ ।
यसका लागि बैंक र बीमा कम्पनीका कर्मचारीहरूले एकआपसमा समन्वय र परामर्श गरेर बीमा प्रक्रिया अगाडि बढाउनुपर्छ । उदाहरणका लागि सम्पत्ति बीमाअन्तर्गत भवनको विवरण, उल्लिखित बीमा गरिएको सम्पत्तिको विवरण र बीमा गर्नुको कारणको विवरणका बीचमा फरक परेमा बीमा दरमा पनि फरक पर्दछ । बीमा गरिएको सम्पत्तिको स्थानले समेत बीमाङ्क रकममा फरक पर्ने हुँदा बिमितको भौतिक संरचनाका अतिरिक्त स्टक तथा मेसिनरीको समेत बीमा गर्नुपर्छ । यसको मूल्याङ्कन गर्नुपर्छ । अझ ठूला ठूला उद्योगको बीमा गर्दा यस्ता कुराहरूलाई धेरै नै ध्यान पु¥याउनुपर्छ । यदि एकभन्दा बढी विवरण भएको बीमा गराउनुपर्दा सोही बमोजिमको सम्पत्तिको विवरण र बीमाङ्क रकम (खबगिभ) छुट्टाछुट्टै उपलब्ध गराउनुपर्दछ । सबै वस्तुगत तथ्यहरू सही भएमा जसरी बीमा गर्न सजिलो हुन्छ, त्यस्तै दाबी प्रक्रिया पनि सजिलो हुन्छ ।
त्यस्तै बीमा गराएर मात्र पनि हुँदैन, त्यसमा बीमा अवधिभर कुनै वस्तुगत फरक भएमा बीमा कम्पनीलाई तुरुन्त जानकारी गराई बीमालेखमा पनि उक्त विवरण संशोधन गर्न लगाउनुपर्दछ, जसलाई बीमाको भाषामा सम्पुष्टि भनिन्छ । यो पनि बीमालेखको अभिन्न अङ्गका रूपमा मानिन्छ । बीमा गर्दा जानेर होस् या अन्जानमा, बीमा गरिने सम्पत्तिको वस्तुगत तथ्य सही र साँचो नभएमा, मुलभूत विवरण ठिक नभएमा, जोखिम विश्लेषण गर्ने आधारहरू फरक भएमा तथा वास्तविकता लुकाइएमा तथा बीमालेखमा उल्लेख भएका सर्तहरू पालना नभएमा बिमकले दाबी भुक्तानी गर्न सक्दैनन् । यसरी बैंक तथा वित्तीय संस्थाका सबै कर्मचारीहरू संवेदनशील हुनुपर्दछ । एकआपसमा आधारभूत छलफल तथा परामर्श गर्न आवश्यक छ । ऋणीलाई पनि साथमा राखेर बीमासम्बन्धी छलफल हुनु आवश्यक छ ।
ऋणी वा ग्राहक बीमा कम्पनीको सम्पर्कमा नहुने तथा बैंकले नै बीमा गराइदिने अभ्यास भित्रभित्रै हुने गरेको पाइन्छ । बीमा कम्पनीहरूले पनि व्यवसाय आइहाल्यो भन्दै बिमितसँग सम्पर्क नै नगरी बीमा गर्ने गरेका छन् । पछि यही कारणले क्षतिको समयमा ऋणी समस्यामा पर्दछ र बीमा कम्पनीबाट दाबी भुक्तानी नहुँदा अझ समस्यामा पर्दछ । त्यसैले बीमा कम्पनीहरूले पनि वास्तविक अन्डरराइटिङ गर्नुपर्छ भने बैंकले पनि ऋणीलाई बीमा कम्पनीसँग सम्पर्क गराएर जोखिमाङ्कन गराउनुपर्छ । बैंकले बीमा कम्पनीमा मात्रै भर नपरी बीमाका लागि दक्ष कर्मचारी तयार पार्नुपर्छ ताकि भोलि आफूले कर्जा लगानी गरेको सम्पत्तिको क्षति हुँदा बीमा कम्पनीबाट सहजै भरपाइ गर्न सकियोस् ।















