
काठमाडौं – बैंक तथा वित्तीय संस्थाको ऋणीसँग उठाउनुपर्ने ऋणको ब्याज एक सय ५४ अर्ब रुपैयाँ बढी रहेको छ । चालू आर्थिक वर्षको वैशाख महिनासम्म ऋणीले बैंकलाई भुक्तानी गर्नु पर्ने ब्याज बक्यौता (सञ्चित ब्याज) १ खर्ब ५३ अर्ब २६ करोड रुपैयाँ पुगेको हो।
एक महिनाकै अवधिमा यस्तो ब्याज बक्यौता साढे १९ अर्बले थप भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले उल्लेख गरेको छ। गत चैत मसान्तसम्म बैंकहरूले ऋणीसँग उठाउनु पर्ने ब्याज बक्यौता १ खर्ब ३३ अर्ब ६० करोड रुपैयाँ थियो।
राष्ट्र बैंकको तथ्यांकअनुसार चालू वर्षको १० महिनामा ऋणीसँग उठाउनु पर्ने ब्याज वाणिज्य बैंकहरूको १ अर्ब ३१ अर्ब ४१ करोड, विकास बैंकहरूको ९ अर्ब ६८ करोड ७७ लाख र वित्त कम्पनीहरूको १२ अर्ब १६ करोड ७२ लाख रुपैयाँ रहेको छ।
गत चैत मसान्तसम्म वाणिज्य बैंकहरूको सञ्चित ब्याज १ खर्ब १३ अर्ब ९४ करोड, विकास बैंकहरूको ८ अर्ब १ करोड र वित्त कम्पनीको ११ अर्ब ६४ करोड रुपैयाँ ब्याज उठाउन बाँकी रहेको थियो।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये चालू वर्षको १० महिनामा सबैभन्दा धेरै ब्याज बक्यौता कुमारी बैंकमा १४ अर्ब २२ करोड र सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर बैंकमा ९६ करोड रुपैयाँ रहेको छ। बाँकी बैंकमध्ये ४ वटामा १० अर्बमाथि पौने १४ अर्ब रुपैयाँसम्म, ६ वटामा ५ अर्बमाथि १० अर्ब रुपैयाँसम्म र ७ वटामा २ अर्बमाथि ५ अर्ब रुपैयाँसम्म ब्याज बक्यौता छ।
विकास बैंकहरूतर्फ चालू वर्षको १० महिनामा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको १ अर्ब ६६ करोड र सबैभन्दा कम साल्पा विकास बैंकको ३ करोड ४२ लाख रुपैयाँ ब्याज बक्यौता रहेको छ। साथै, वित्त कम्पनीमा भने सबैभन्दा बढी नेपाल सेयरमार्केट फाइनान्स कम्पनीको ५ अर्ब ३६ करोड र सबैभन्दा कम सेन्टर फाइनान्सको १ करोड रुपैयाँ ब्याज बक्यौता छ।