काठमाडौं : वैशाख महिनामा सेयर धितो कर्जा प्रवाहमा थप सुस्तता आएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार १ महिनामा २३ करोड २० लाख रुपैयाँले सेयर कर्जा घटेको छ । चैत मसान्तसम्ममा ८६ करोड १८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएकामा वैशाख मसान्तसम्म ८५ अर्ब ९५ करोड रुपैयाँमा झरेको हो ।
गत वर्षको असार मसान्तसम्ममा ७६ अर्ब ३० करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो । यो तथ्यांकलाई आधार मान्दा १० महिनामा सेयर धितो कर्जा १२.६४ प्रतिशतले बढेको छ । ठूला लगानीकर्तालाई क्याप लगाइएकाले सेयर धितो कर्जाको मात्रामा अपेक्षा अनुसार वृद्धि हुन नसकेको तथ्यांकले देखाउँछ ।
पछिल्लो समय समग्र बैंकिङ क्षेत्रमै कर्जाको माग कमजोर रहेको छ । बैंकहरुमा अधिक तरलताको अवस्था छ भने ब्याजदर पनि निरन्तर घटिरहेको छ । यद्दपि, घट्दो ब्याजदरले पनि ऋणीहरुलाई आकर्षित गर्न सकिरहेको छैन । यसको प्रमुख कारण अर्थतन्त्रमा आएको सुस्तता र व्यवसायीहरुको घट्दो आत्मविश्वासलाई लिइएको छ ।
सेयर बजार सुधार गरेर लगानीकर्ताको मनोबल बढाउनुपर्ने अवस्था छ । लगानीकर्ताले पनि सेयर धितो कर्जाको क्याप हटाउन माग गरेका छन् । केन्द्रीय बैंक अहिले अगामी आर्थिक वर्षको मौद्रिक नीति निमार्णको तयारीमा जुटेको छ ।
सेयर बजारका लगानीकर्ताले सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशतमा झार्ने र सेयर कर्जाको विद्यमान १५ करोडको सीमा हटाउनुपर्ने माग राखेका छन् ।
‘केन्द्रीय बैंकले पुँजी बजारलाई उपेक्षा गर्दै आएको छ’ लगानीकर्ता छोटेलाल रौनियार भन्छन्, ‘अगामी वर्षको मौद्रिक नीतिमार्फत सेयर कर्जाको जोखिमभार १०० प्रतिशतमा झार्न र सेयर कर्जाको विद्यमान १५ करोडको सीमा हटाउनुपर्छ ।’
केन्द्रीय बैंकले नीतिगत सुधार गरिदिएमा बजारले गति लिन सक्ने लगानीकर्ताहरुको बुझाई रहेको छ । अहिले सेयर कर्जाको ब्याजदर निरन्तर घटेको छ । बैंकमा तरलता पनि सहज छ ।
यसकारण बैंकहरुले सजिलै सेयर धितो कर्जा दिइरहेका छन् । तर धितो कर्जामा तोकिएको सीमाकै कारण ठूला लगानीकर्ताले चाहेजति कर्जा लिन पाएका छैनन् । यसैकारण यो शीर्षकको कर्जा पनि बढ्न नसकेको हो ।















