विभिन्न मुलुकले नेपाललाई दिँदै आएको अनुदान सहायता घट्दोक्रममा रहेको छ । तर, ऋण सहायता भने बढ्दोक्रममा रहेको छ । चालु आवको वैशाखसम्म वैदेशिक सहायता प्रतिबद्धता गत आवको सोही अवधिको तुलनामा ३५.३ प्रतिशतले वृद्धि भई दुई खर्ब दुई अर्ब २८ करोड पुगेको छ । उक्त प्रतिबद्धतामध्ये अनुदान १०.९ प्रतिशत र ऋण सहयोग ८९.१ प्रतिशत रहेको छ । अघिल्लो आवमा यस्तो अनुपात क्रमशः १४.३ र ८५.७ प्रतिशत रहेको थियो ।
चालु आवको वैशाखसम्मको वैदेशिक सहायता प्रतिबद्धतामा द्विपक्षीय र बहुपक्षीयको हिस्सा क्रमशः ४.७ र ९५.३ प्रतिशत रहेको छ । कुल वैदेशिक सहायता प्रतिबद्धतामा सडक क्षेत्रमा सबैभन्दा बढी २६.७, ऊर्जामा २२.९ र बजेटरीका रूपमा ११.७ प्रतिशत रहेको छ । चालु आवको वैशाखसम्म १४ अर्ब ३३ करोड अनुदान र ६७ अर्ब १० करोड ऋण गरी कुल ८१ अर्ब ४२ करोड वैदेशिक सहायता प्राप्त भएको छ । त्यस्तै चालु आवको वैशाखसम्म एक खर्ब १२ अर्ब ५२ करोड बराबरको आन्तरिक ऋण परिचालन भएको छ । गत आवको सोही अवधिमा यस्तो परिचालन एक खर्ब ३५ अर्ब रहेको थियो ।
करदाता संख्या ४० लाख
अस्थायी लेखा नम्बर (प्यान) लिने करदाता संख्या ४० लाख नाघेको छ । २०७८ वैशाखसम्म कुल ४० लाख ४३ हजार सात सय ९४ जना प्यानमा दर्ता भएका छन् । सो अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यावसायिक करदाता १५ लाख ९३ हजार ७४ अर्थात् ३९.४ प्रतिशत, व्यक्तिगतरूपमा पानमा दर्ता हुनेको संख्या २४ लाख ४१ हजार पाँच सय ६६ अर्थात् ६०.४ प्रतिशत र करकट्टी गर्ने निकायले लिएको प्यान नम्बर नौ हजार एक सय ३४ अर्थात् ०.२ प्रतिशत पुगेको छ । त्यसैगरी मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाता संख्या दुई लाख ८८ हजार सात सय आठ र अन्तःशुल्कमा दर्ता हुने करदाता संख्या एक लाख ११ हजार चार सय ९१ पुगेको अर्थ मन्त्रालयको तथ्यांकमा उल्लेख छ । चालु आवको वैशाखसम्म संघीय सरकारको राजस्व परिचालन अघिल्लो आवको सोही अवधिको पाँच खर्ब ३७ अर्ब २५ करोडको तुलनामा २४.९ प्रतिशतले वृद्धि भई छ खर्ब ७० अर्ब ८२ करोड पुगेको छ । सो अवधिमा प्रदेश र स्थानीय तहमा बाँडफाँड हुने कर राजस्व गत आवको सोही अवधिको तुलनामा २९.६ प्रतिशतले वृद्धि भई ९० अर्ब १८ करोड पुगेको छ ।
चालु आवको वैशाखसम्ममा गत आवको सोही अवधिको तुलनामा सम्पूर्ण शीर्षकका कर राजस्वमा वृद्धि भएको छ भने गैरकर राजस्व संकलनमा कमी आएको छ । कोरोना महामारीको समयमा समेत वस्तुको आयात निरन्तर भइरहेकाले भन्सार बिन्दुमा संकलन हुने करमा उल्लेख्य वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । समीक्षा अवधिमा शीर्षकगत लक्ष्यमा आन्तरिकतर्फको भ्याट, भन्सार र अन्य कर शीर्षकको राजस्व लक्ष्यभन्दा बढी संकलन भएको छ । समग्रमा राजस्व संकलनको ९४.६ प्रतिशत रहेको छ । सो अवधिमा भन्सार बिन्दुमा संकलित कर राजस्व ३८.३ प्रतिशतले बढेर तीन खर्ब ४८ अर्ब ३० करोड पुगेको छ भने आन्तरिकतर्फको कर राजस्व २०.५ प्रतिशतले बढेर तीन खर्ब ६१ अर्ब ३२ करोड पुगेको छ ।
पछिल्लो पाँच आर्थिक वर्षमा राजस्व परिचालनमा उल्लेख्य वृद्धि भएको बताइएको छ । चालु आवको १० महिनामा गत आवको सोही अवधिको तुलनामा राजस्व परिचालन २५.४ प्रतिशतले वृद्धि भएको छ । चालु आवको वैशाखसम्मको कुल राजस्वमा भन्सार, अन्तःशुल्क र अन्य करको हिस्सा गत वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको छ भने आयकर र गैरकरको हिस्सा घटेको छ ।