काठमाडौं : चालु आर्थिक वर्षको ९ महिनासम्म आइपुग्दा व्यक्तिगत आवासीय कर्जा ह्वातै बढेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार ९ महिनामा बैंकहरुले २ करोडसम्मको व्यक्तिगत आवासीय कर्जामा ३८ अर्ब ६३ करोड २१ लाख रुपैयाँ लगानी गरेका छन् । गत आर्थिक वर्ष ०७९-८० मा १० अर्ब ३२ करोड २० लाख रुपैयाँको मात्रै यस्तो कर्जा प्रवाह भएको थियो ।
त्यसो त घरजग्गा क्षेत्रमा लगानी बढाउने उद्देश्यका साथ केन्द्रीय बैंकले मौद्रिक नीतिदेखि तेस्रो त्रैमासिक समीक्षासम्म आउँदा क्रमशः लचिलो बन्दै आएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत आवासीय कर्जाको सीमा १ करोड ५० लाखबाट बढाएर २ करोड पुर्याएको थियो ।
पहिलो त्रैमासिक समीक्षाले त ५० लाखमाथिको कर्जाको जोखिमभार घटाएर १२५ प्रतिशत पुर्याएको थियो । त्यस्तै, तेस्रो त्रैमासिक समीक्षामार्फत आम्दानीको ७० प्रतिशत रकम किस्ता तिर्न सक्ने गरेर ऋण पाउने भएका छन् । कर चुक्ता प्रमाण पेस गरेका आधारमा यो अनुपातमा कर्जा पाइने भएको हो । अहिले सस्तो ब्याजदर रहेको समयमा यसले घर कर्जा लिन चाहनेलाई प्रोत्साहित गर्ने अपेक्षा राष्ट्र बैंकको रहेको छ ।
कन्द्रीय बैंकको लक्ष्यअनुसार नै घरजग्गा क्षेत्रमा कर्जा प्रवाह बढे पनि आक्रमक रुपमा विस्तार हुन भने सकेको छैन । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था छ । तर पनि कर्जा प्रवाहमा सुस्तता छ । कर्जा प्रवाहमा सुस्तता आयसँगै आर्थिक गतिविधिहरु पनि निकै सुस्ताएका छन् । समग्रमा अर्थतन्त्र मन्दीमा छ । घर जग्गामा कर्जा प्रवाह बढाएर अर्थतन्त्र चलायमान बनाउने दाउमा केन्द्रीय बैंक रहेको छ ।
बैंक तथा वित्तीय संस्थाको लगानीको ठूलो आधार नै घरजग्गा भएकाले केन्द्रीय बैंकले घरजग्गा क्षेत्रको शिथिलतालाई तेस्रो त्रैमासिक समीक्षाले सम्बोधन गरेको केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले बताए ।
‘कुल धितोमा ६७ प्रतिशत र स्थिर सम्पत्तिको ठूलो हिस्सा ओगटेको घरजग्गा क्षेत्र चलायमान नहुँदा यसले अर्थतन्त्रमा नै समस्या ल्याएको छ’ उनले भने, ‘यसलाई चलायमान बनाइयो भने अर्थतन्त्र पनि चलायमान हुन्छ ।’ घर जग्गा क्षेत्र चलायमान नबन्दा बैंकहरुको धितो असुली नै प्रभावित भइरहेको छ । खराब कर्जा अनुपातमा भएको वृद्धिसँगै गैरबैंकिङ सम्पत्ति पनि थुप्रिँदै गएपछि केन्द्रीय बैंक लचिलो बनेको हो ।
यता, केन्द्रीय बैंकले लचिलो नीति लिइरहँदा वैशाखमा भने घरजग्गा कारोबार घटेको छ । वैशाख महिनामा देशभर ४९ हजार ७ सय ८२ संख्यामा घरजग्गा किनबेच भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ ।
चैत महिनामा चैतमा देशभर ५० हजार २ सय ५२ संख्यामा घरजग्गा किनबेच भएको थिया । उक्त तथ्यांकलाई अधारमान्दा चैत महिनाको तुलना वैशाखमा घरजग्गा कारोबार घटेको हो । त्यसो त जेठ पहिलो साता आएको मौद्रिक नीति समीक्षाको प्रभाव भने देखिन बाँकी नै रहेको छ ।















