काठमाडौं : गएको साता विश्व बजारमा सुनको मूल्य उच्च दरले बढेको छ । बैंक अफ इङल्यान्ड लगायतका ठूला बैंकहरुले ब्याजदरमा भारी कटौती गर्ने संकेत गरेसँगै त्यसको प्रभाव सुन बजारमा परेको विश्लेषकहरुले बताएका छन् । नेपाली बजारमा पनि गएको साता सुनको मूल्य बढेको छ ।
साताको पहिलो दिन अर्थात, आइतबारदेखि नै निरन्तर रुपमा बढेको यसको भाउ साताको पाँचौं दिन बिहीबार भने सामान्य घटेको थियो । शुक्रबार भने मूल्य पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ३५ हजार ४०० रुपैयाँ रहेको सुनको भाउ शुक्रबारसम्म आइपुग्दा १ लाख ३७ हजार ९०० पुगेको छ ।
गएको साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन अर्थात, आइतबार प्रति तोला १ हजार ६४० रुपैयाँ रहेको यसको मूल्य साताको अन्तिम दिन शुक्रबार प्रति तोला १ हजार ७३५ रुपैयाँ पुगेको छ ।
पछिल्लो समय विश्व भूराजनीति, मध्य पूर्वको द्न्द, आर्थिक मन्दी लगायत चीन जस्ता राष्ट्रले सुनको खरिद बढाएको कारण यसको माग बढेको छ । जसकारण भाउ पनि बढेको हो । आर्थिक मन्दी, मुद्रास्फीतिलगायत अर्थतन्त्र आरालो लागेको बेला लगानीकर्ताले सुनको खरिद बढाउने गरेका छन् । अहिले पनि भएको त्यही हो । जसकारण भाउ पनि बढेको हो ।















