
काठमाडौं । विश्व बैंकले नेपालका लागि ८० मिलियन अमेरिकी डलर (१० अर्ब ६८ करोड रुपैयाँ) विकास नीति सहायताका लागि ऋण स्वीकृत गरेको छ। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकले नेपाललाई वित्तीय क्षेत्रलाई सुदृढ गर्न, वित्तीय समस्याको समाधान गर्न र वित्तीय सेवामा पहुँच सो रकम स्वीकृत गरेको हो।
यो ऋण सहायताले नीति क्षेत्रले नेतृत्व गरिरहेको आर्थिक वृद्धिलाई टेवा पुग्ने विश्वास विश्व बैंकले लिएको छ। यसबाट बैंकिङ र इन्स्योरेन्स क्षेत्र थप बलियो भइ पूँजी, बीमा, र प्रकोप जोखिमका क्षेत्रहरुमा वित्तीय उत्पादन पनि बढ्ने बताइएको छ।
“यो योजनाले नेपालको हरित, लचिलो र समावेशी विकासलाई सहयोग गर्नेछ। नेपालको आर्थिक वृद्धिमा योगदान पुर्याउन र विशेषगरि गरिब र जोखिममा परेका समुदायलाई फाइदा पुर्याउन निजी लगानीको लागि यसले सक्षम वातावरण निर्माणमा सहयोग गर्नेछ”, नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फरिस हडाड जर्भेसले भने। यो योजनाले नेपालको वातावरणीय एजेन्डालाई पनि सहयोग पुग्ने विश्व बैंकको विश्वास छ।