काठमाडौं : यो साता विश्व बजारमा सुनको मूल्य अस्थिर देखिएको छ । विगतमा एकपछि अर्को गरी नयाँ रेकर्ड कायम गर्दै आएको सुन मध्यपूर्व क्षेत्रमा जारी द्वन्द र फेडरल रिजर्भले लिएको स्थिर नीतिको प्रभावले मूल्य वृद्धिको क्रम रोकिएको विश्लेषकहरुले बताएका छन् ।
पछिल्ला महिनाहरुमा लगातारजस्तो सुनको भाउ बढ्यो । विश्व बजारमा बढेकाले स्थानीय बजारमा पनि त्यसको सीधा प्रभाव परेको हो । विशेषगरी चीनले ठूलोमात्रामा सुन किनेर सञ्चय गरेपछि मूल्य बढेको विश्लेषकहरुले बताएका छन् । माग र आपूर्तिको सिद्धान्त अनुसार पनि माग बढी भएकाले मूल्य बढेको अनुमान गरिएको छ ।
केही दिनयता भने मूल्यमा उतारचढाव आइरहेको छ । तथापि, केही दिन अस्थिर रहे पनि अझै मूल्य बढ्न सक्ने अन्तर्राष्ट्रिय विश्लेषकहरुले अनुमान लगाएका छन् ।
नेपाली बजारमा पनि यो साता सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन अर्थात, आइतबार प्रतितोला १ लाख ३७ हजार ६०० रुपैयाँ रहेको थियो ।
त्यसपछि भाउ बुधबारसम्म घटेर १ लाख ३४ हजार ५०० रुपैयाँसम्म झर्यो । यता, बिहीबार भाउ बढेर १ लाख ३६ हजार ५०० रुपैयाँ पुगेको थयो । पछि शुक्रबार भने ११ सय रुपैयाले घटेर १ लाख ३५ हजार कायम भएको छ । आइतबारको तुलनामा भाउ २ हजार २०० रुपैयाँले घटेको हो ।
गएको साता नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ । साताको पहिलो दिन आइतबार प्रति तोला १ हजार ६ सय ६० रुपैयाँ रहेको चाँदीको भाउ अन्तिम दिन शुक्रबारसम्म प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँ कायम भएको छ । अमेरिकी डलरको मजबुती, द्वन्द, आर्थिक मन्दीलगायतका कारणले सुनमा लगानीकर्ताको आकर्षण बढेको हो ।















