२०८१ माघ २७ आईतवार

काठमाडौं । केन्द्रीय बैंकको फोर्स मर्जरका कारण १ सय ९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्त रिपोर्ट तथा बैंक तथा वित्त कम्पनीहरूको सङ्ख्यात्मक एवं गुणात्मक स्थितिको जानकारी दिँदै केन्द्रीय बैंकले वित्त संस्थाहरूबिचको मर्जरको नीतिलाई थप निरन्तरता दिने बताएको हो ।

राष्ट्र बैंकको ६९ औँ वार्षिकोत्सव समारोहमा गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूलाई एक आपसमा गाभ्न÷गाभिन प्रोत्साहन गर्ने यस बैंकको नीतिगत व्यवस्थालाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको जानकारी दिए ।

साना पुँजी र लगानीले राष्ट्रिय पुँजी निर्माण हुन नसक्ने निष्कर्षसहित केन्द्रीय बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिपछि बैंक तथा वित्त कम्पनीहरूलाई तोकेरै मर्जरमा जान फोर्स गरेको हो । जसको प्रभाव आजको दिनसम्म इजाजतप्राप्त बैंक तथा वित्त कम्पनीको सङ्ख्या तत्कालीन समयको तुलनामा ६८ प्रतिशतभन्दा बढीले घट्न पुगेको छ ।

केन्द्रीय बैंकको मर्जर नीति अन्तर्गत २०८० चैत मसान्तसम्म वित्त संस्थाहरूको सङ्ख्या १०९ वटा कायम भएको छ । जबकि मर्जर विनियमावली बन्दाको बखत यस्तो बैंक तथा वित्त कम्पनीहरूको सङ्ख्या ३४७ थियो ।

विगत एक वर्षको अवधिमा मर्जर तथा प्राप्ति प्रक्रियामा संलग्न भई वाणिज्य बैंकको सङ्ख्या २० वटा कायम भएको छ । समीक्षा अवधिमा १९४ वटा बैंक तथा वित्त संस्थाको इजाजत खारेज गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कुल १०९ वटा बैंक तथा वित्त संस्थाहरूमध्ये वाणिज्य बैंकहरूको सङ्ख्या २० वटा छ भने विकास बैंक र वित्त कम्पनीहरूको सङ्ख्या १७÷१७ वटा छ । यस्तै, लघुवित्त वित्तीय संस्थाको सङ्ख्या ५५ वटा रहेकोमा २०८० चैत मसान्तसम्म एउटामात्र पूर्वाधार विकास बैंक छ । केन्द्रीय बैंकको निरन्तरको मर्जर नीतिले थप सङ्ख्या घट्ने निश्चित छ ।

कुल ११० बैंक तथा वित्तीय संस्था (एउटा पूर्वाधार विकास बैंकसमेत) गरी हाल देशैभरि ११ हजार ५९४ बैंक शाखा पुगेका छन् । २०८० फागुन मसान्तसम्म वाणिज्य बैंकका ५ हजार ४१, विकास बैंकका १ हजार १३५, वित्त कम्पनीका २८८ र लघुवित्त वित्तीय संस्थाका ५ हजार १३० गरी बैंक तथा वित्तीय संस्थाका कुल शाखा सङ्ख्या ११ हजार ५९४ पुगेको हो ।

जस अनुसार बैंक तथा वित्तीय संस्थाको प्रतिशाखाबाट औसतमा करिब २ हजार ५१५ जनसङ्ख्याले सेवा प्राप्त गर्न सक्ने देखिएको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय