२०८१ माघ २७ आईतवार

काठमाडौं – बैंक तथा वित्तीय संस्थाले कम अवधिको मुद्दति निक्षेपमा प्राथमिकता दिन छाडेसँगै यस्तो अवधिको निक्षेप उच्च दरले घटेको छ।विगत १० महिनाको अवधिमा ३ देखि १२ महिने अवधिको मुद्दति निक्षेप २ खर्ब ६९ अर्ब ४२ करोड रूपैयाँले घटेको हो।

गत वैशाखमा वाणिज्य बैंकहरूले ३ देखि ६ महिना अवधिको ६ खर्ब २१ अर्ब रूपैयाँ बराबरको निक्षेप संकलन गरेका थिए। गत फागुनमा आइपुग्दा यस्तो निक्षेप १२ प्रतिशतले घटेर ५ खर्ब ४४ अर्ब रूपैयाँमा सीमित भएको हो।

त्यस्तै, गत जेठमा बैंकहरूले ६ देखि १२ महिना अवधिको १० खर्ब ३० अर्ब रूपैयाँ बराबर निक्षेप संकलन गरेका थिए। फागुनमा आइपुग्दा यस्तो निक्षेप १८.७० प्रतिशतले घटेर ८ खर्ब ३७ अर्ब रूपैयाँमा सीमित भएको छ।

पछिल्लो समय निक्षेप बढ्ने तर कर्जा लगानीमा अपेक्षित सुधार हुन छाडेपछि बैंकहरूले कम अवधिको निक्षेपलाई कम प्राथमिकतामा राखेका हुन्। बैंकलाई स्रोतको खाँचो पर्दा बढ्दा उनीहरूले यस्तो निक्षेपलाई प्राथमिकतामा राख्ने गरेका छन् भने स्रोत पर्याप्त हुँदा निरूत्साहित गर्छन्।

यही कारण पुँजी आवश्यकता हुँदा सबैभन्दा धेरै व्याज यस्तै निक्षेपलाई दिने गरेको थिए। राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने बैंकहरूले मुद्दति निक्षेपमा औसत ११.०६ प्रतिशत ब्याज दिदा ३ देखि ६ महिने मुद्दतिमा ११.३० र ६ महिनेदेखि १२ महिनेमा ११.०९ प्रतिशत ब्याज दिइरहेका थिए।

तुलनात्मक रूपमा कम अवधिकोभन्दा लामो अवधिको निक्षेपले बैंकहरूको तरलतामा स्थिरता ल्याउने भएपनि बैंकहरूले छोटो छोटो अवधिमा रणनीति फेर्दै आएका छन्।

अहिले बैंकिङ प्रणालीमा उच्च तरलता भएसँगै यस्ता मात्र नभई सबैखाले निक्षेपको ब्याजदर घटिरहेको छ। गत वैशाखमा बैंकहरूले समग्र निक्षेपमा औसत ८.०८ प्रतिशत ब्याजदर दिइरहेकोमा मुद्दति निक्षेपमा १०.७६ प्रतिशत दिइरहेका थिए।

गत फागुनमा भने समग्र निक्षेपको ब्याजदर मात्रै ६.७४ प्रतिशत छ, मुद्दति निक्षेपमा भने ९.२२ प्रतिशत ब्याज दिइरहेका छन्। समग्र निक्षेपको ब्याजदर घटेपनि लगानीका अन्य विकल्प नहुँदा र रेमिटेन्स भित्रने दर बढेसँगै बैंकहरूमा निक्षेप उच्च दरमा बढेको छ।

समग्र मुद्दति निक्षेपको ब्याजदर घटेसँगै सर्वसाधारण आफुले चाहेको समयमा झिक्न सक्ने बचत निक्षेपमा आकर्षित भइरहेको देखिन्छ। गत माघको तुलनामा फागुनमा मात्रै बचत निक्षेप ३७ अर्ब ६९ करोड रूपैयाँले बढेर १५ खर्ब ३१ अर्ब पुगेको छ।

गत वैशाखको तुलनामा फागुनमा सबै खाले निक्षेप १२.६० प्रतिशतले बढेर ६१ खर्ब ८७ अर्ब रूपैयाँ पुगेको छ। यो अवधिमा कुल मुद्दति निक्षेप पनि बढेर ३२ अर्ब रूपैयाँले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय