काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक सातामा ४% ले वृद्धि भएको छ । शुक्रबार तेलको भाउ केही घटेपनि गत साताको तुलनामा भने ४% ले वृद्धि भएको रोयटर्सले जनाएको छ । अन्तर्राष्ट्रिय उर्जा एजेन्सीले सन् २०२४ मा कच्चा तेलको मागको उच्च हुने र अमेरिकी तेल रिजर्भमा पनि अप्रत्याशित गिरावट आउने पूर्वानुमान गरेपछि कच्चा तेलको भाउ पुनः बढ्न थालेको हो ।
अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको भाउ गत नोभेम्बरपछि पहिलो पटक प्रतिब्यारेल ८५ डलर माथि गएको छ । यता, अमेरिकी बेन्चमार्क ‘वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड’ पनि ८० डलर माथि कारोबार भइरहेको छ । हुथी विद्रोहीहरुको आक्रमणका कारण रेड सी क्षेत्रमा जाहाजहरुको आवगमन प्रभावित भएपछि उर्जा एजेन्सीले नोभेम्बरयता चौथो पटक माग बढ्ने प्रक्षेपण गरेको रोयटर्सले उल्लेख गरेको छ ।सन् २०२४ मा विश्व बजारमा तेलको माग १३ लाख ब्यारेलले वृद्धि हुने एजेन्सीको प्रक्षेपण छ ।
यता, ओपेक प्लसं सदस्य राष्ट्रहरुले उत्पादन कटौती विस्तार जारी गरेपछि यस वर्ष आपूर्ति कम हुने पनि अनुमान गरिएको छ । यस साता अमेरिकी डलर ८ हप्तायताकै सबैभन्दा द्रुत गतिमा बलियो हुँदै जाँदा पनि तेलको भाउमा वृद्धि देखिएको हो । डलर बलियो हुँदा अन्य मुद्रा प्रयोगकर्ताहरुका लागि कच्चा तेल महँगो हुन जान्छ ।















