
काठमाडाैं । चालु आर्थिक वर्षको माघ महिनामा निक्षेप १४.४ प्रतिशतले बढ्दा कर्जा विस्तार ४.७ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको माघसम्मको तथ्यांकले निक्षेपको तुलनामा कर्जा विस्तार वृद्धि न्यून देखाएको हो ।
तथ्यांक अनुसार, २०८० माघ मसान्तमा २०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.४ प्रतिशतले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा ४.७ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार, निक्षेपको तुलनामा कर्जा विस्तार न्यून देखिएपनि गत आवको माघसम्मको तुलनामा भने सामान्य सुधार देखिएको छ । २०८० माघसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा गएको ऋण १ खर्ब ९७ अर्ब २१ करोड रुपैयाँ (४.१ प्रतिशत) ले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ (३.२ प्रतिशत) ले बढेको थियो ।
गत आवको माघसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ खर्ब ५३ अर्ब ९७ करोड (५.० प्रतिशत) ले बढेकोमा चालु आवको सोही अवधिमा ३ खर्ब ९७ अर्ब २० करोड (७.० प्रतिशत) ले बढेको छ ।
चालु आवको माघसम्ममा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यस्तै विकास बैंकहरुको ३.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.० प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०८०/८१ को सात महिनामा कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा निकै न्यून वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार, कृषि क्षेत्रमा चालु आवको सात महिनामा ०.८ प्रतिशतले कर्जा विस्तार बढेको छ ।
यस्तै औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.० प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
माघसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १४.० प्रतिशतले बढेको छ । यस्तै मार्जिन प्रकृतिको कर्जा ११.६ प्रतिशतले बढ्दा रियल स्टेट कर्जा (यक्तिगत आवासीय घर कर्जासमेत) ५.२ प्रतिशतले बढेको छ ।
यस्तै नगद प्रवाह कर्जा २६.० प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ११.१ प्रतिशतलेबढेको छ । तर अधिविकर्ष कर्जा ४२.३ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा २०.३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।