
काठमाडौं । जगदम्बा स्टिलले प्रिमियम मूल्यमा आइपिओ ल्याउने तयारी गरिरहँदा उद्योग आसपासका स्थानीयले भने अंकित मूल्यमै पाउनुपर्ने माग गरेका छन्।बाराको जितपुर सिमरा उपमहानगर- १ र २ का स्थानीयले अंकित मूल्यमै अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै आइपिओ पाउनुपर्ने मागसहित नियामक निकायको ध्यानाकर्षण गरेका हुन्।
स्थानीयका तर्फबाट वडा १ र २ का कार्यबाहक अध्यक्षले नेपाल धितोपत्र बोर्डमा प्रभावित क्षेत्रका स्थानीयले अंकित मूल्यमै आइपिओ पाउने गरी स्वीकृति दिन पत्र बुझाएका छन्।
जगदम्बा स्टिलले अंकित मूल्यमा प्रति कित्ता २०० रुपैयाँ प्रिमियम जोडेर २ करोड ७० हजार कित्ता आइपिओ निष्कासनका लागि गत असोज १७ गते बोर्डमा निवेदन दिएको थियो। बोर्ड अनुमति दिने अन्तिम तयारीमा रहेका बेला स्थानीयले १०० रुपैयाँकै दरले आवेदन दिन पाउने मागसहित दबाब दिएका हुन्।
जितपुर सिमरा उपनगरपालिका-१ र २ लाई अति प्रभावित क्षेत्रमा राखेर स्थानीयलाई अंकित मूल्यमै आइपिओ बिक्रीको अनुमति दिनुपर्ने माग बोर्डमा बुझाइएको पत्रमा उल्लेख छ। जगदम्बा स्टिल उद्योग सञ्चालनमा रहेको क्षेत्रमा वडा २ मा पर्छ। कम्पनीबाट निष्कने धुवाँ, धुलोका कारण आफूहरु विभिन्न रोगबाट पीडित भइरहेकाले प्रिमियम मूल्य स्वीकार नगर्ने उनीहरुको भनाइ छ।
‘उद्योगबाट निस्कने धुवाँ धुलोका कारण स्थानीयले विभिन्न स्वास्थ्य समस्या भोग्नुपरेको छ। कम्पनीले प्रभावित क्षेत्रका स्थानीयलाई पनि प्रिमियम शुल्कमा आइपिओ बिक्री गर्न लागिएको भनेर स्थानीयले गुनासो गरेपछि हामीले अंकित मूल्यमै पाउने व्यवस्था गर्न भनी कम्मपनीका साथै बोर्डमा पत्र पठाएका हौं,’ उपमहानगरपालिका-२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले भने।