२०८२ चैत्र २९ आईतवार

गीत/संगीतले हरेक युवा युवतीदेखि बृद्ध–बृद्धासम्म सबैको मन मुटु छुने हुनाले यस क्षेत्रमा लागेका कलाकर्मीहरुप्रति समाजमा राम्रो प्रतिष्ठा र सम्मान हुने गरेको छ । यसै सन्दर्भमा नेपालको सांगीतिक क्षेत्रमा राकेश सोनी चिरपरिचत नाम हो । वास्तविक नाम राकेश बि.क. भएपनि उहाँ सांगीतिक क्षेत्रमा भने राकेश सोनी नामले बढ्ता चिनिनुहुन्छ । संगीतका विविध विधामा सक्रिय राकेश नेपाली संगीत ‘एरेन्जर’का रुपमा अझ प्रतिभाशाली कहलिनुभएको छ । उहाँ बिगत १४ वर्षदेखि निरन्तर रुपमा नेपालको गीत संगीत उद्योगमा क्रियाशील हुनुहुन्छ ।

बुबा खड्गबहादुर बि.क. र आमा खिरेकुमारी सुनारको कोखबाट बाग्लुङ जिल्ला, भकुण्डे – २ मा जन्मिनुभएका राकेश अहिले काठमाडौलाई कर्मथलो बनाएर आफ्ना सिर्जनाहरु दर्शक श्रोतामाझ पस्किरहनुभएको छ । हालसम्म चार हजारभन्दा बढी गीतमा संगीत ‘ऐरेञ्ज’ गरिसक्नुभएका उहाँले देशकै एक उत्कृष्ट ‘एरेन्जर’ को पहिचान बनाउनुभएको छ । राकेशको ‘एरेन्जिङ’ मा रेकर्ड गरिएका ‘बोत्तलको पानीले…’, ‘माछा तारेको…’, ‘निधारमै लेखेसी….’, ‘एकादशी बजारैमा…’, ‘सेतो क्रिमले…’, ‘साइकल किन्न जाम…’, ‘कोइली चरी…’ लगायत थुप्रै गीतहरु नेपाली दर्शक श्रोताको मन मुटुमा बस्न सफल छन् ।
संगीत ‘एरेञ्ज’मा मात्र सीमित नभएर उहाँ गीत लेखन र गायनमा पनि पोख्त हुनुहुन्छ । उहाँले स्वर दिएका बिभिन्न गिती एल्बमहरु बजारमा आएका छन् । जसमध्ये, ‘ट्युशन फ्रि छ…’, जति हेर्छु मलाई…’, पासपोर्ट…’, हाम्ले कसम खा’को होइन र…, I am Sorry…आदिलाई दर्शक श्रोताहरुले निकै रुचाएको पाइन्छ । राकेशलाई मोडलिङमा समेत देख्न सकिन्छ, उहाँले करिब तीनदर्जन म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ । राकेशले स्थानीयदेखि राष्ट्रियस्तरका कतिपय महोत्सवहरुमा आफ्नो प्रतिभा र गायन कलाले हजारौंलाई मन्त्रमुग्ध पार्दै आउनुभएको छ ।
बहुप्रतिभाका धनी राकेशले संगीत क्षेत्रमा पुर्‍याएको योगदानकै कारण राष्ट्रिय तथा स्थानीयस्तरका थुप्रै अवार्ड र सम्मान हात पारिसक्नुभएको छ । यसैक्रममा हालैमात्र उहाँले गायक भोजराज काफ्ले र गायिका पार्वती कार्कीको स्वर रहेको ‘सेतो क्रिमले….’ बोलको गीतमार्फत ‘ज्योति फिल्म अवार्ड’ जित्नुभएको छ । त्यसअघि पनि उहाँले ‘राष्ट्रिय संगीतकर्मी संघ अवार्ड’ ‘राप्ती म्युजिक अवार्ड’ लगायत अवार्ड प्राप्त गरिसक्नु भएको छ ।

नेपाली संगीत क्षेत्रमा राकेशलाई यत्रो सफलता त्यत्तिकै प्राप्त भएको भने होइन, यसको पछाडि उहाँको संघर्षमय यात्राका थुप्रै आरोह अवरोहहरू छन् । सानैदेखि गीत संगीतमा लगाव भएकाले आफू यो क्षेत्रमा लागेको बताउनुहुने राकेश निकै संघर्ष गरेर यो क्षेत्रमा स्थापित हुनुभएको हो । आफू दोहोरी साँझमा काम गर्दै यो क्षेत्रमा आएको उहाँ बताउनु हुन्छ ।
गीत/संगीत ‘एरेन्ज’ का अतिरिक्त गीत लेखन, गायन, मोडलिङ, विभिन्न स्टेज प्रस्तुति र महोत्सवहरूमा व्यस्त रहने गर्नुभएका राकेशको आर्थिक आम्दानी पनि निकै लोभलाग्दो छ । उहाँ नेपालको गीत संगीत क्षेत्रका विभिन्न प्रतिष्ठित संघ–संस्थाहरुमा पनि आवद्ध हुनुहुन्छ । नेपालको सांगीतिक क्षेत्रमा प्रतिभावान कलाकर्मी राकेश सोनीलाई आगामी दिनमा अझ सफलता मिलोस्, हाम्रो पनि शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर