
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बहुराष्ट्रिय कम्पनीसहित ८८ कम्पनीलाई नेपाल धितोपत्र बोर्डले स्पष्टीकरण सोधेको छ । बोर्डको कात्तिक २० गते बसेको सञ्चालक समिति बैठकले समयमै वित्तीय विवरण नबुझाउने र ढिलो बुझाउने कम्पनीलाई स्पष्टीकरण सोधेको हो । ढिलो विवरण बुझाउने ६९ कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना किन नगर्ने भन्दै १५ दिनभित्र जवाफ पेश गर्न बोर्डले निर्देशन दिएको छ ।
बोर्डमा वित्तीय विवरण नबुझाएका १८ कम्पनीलाई एक लाख रुपैयाँ जरिवाना किन नगर्ने भन्दै प्रश्न गरेको छ । कात्तिक २० गते सञ्चालक समितिको बैठकले ८८ सूचीकृत कम्पनीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि बोर्डले १५ दिनको समय दिँदै स्पष्टीकरण पत्र पठाएको हो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम २६ को उपनियम १ मा स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीले धितोपत्र बोर्डमा वित्तीय विवरण बुझाउनुपर्ने व्यवस्था छ ।
बोर्डले बहुराष्ट्रिय कम्पनीलाई समेत स्पष्टीकरण सोधेको छ । कोकाकोला कम्पनी बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराईले ढिलो वित्तीय विवरण बुझाएपछि स्पष्टीकरण सोधेको छ भने युनिलिभर नेपाल, सोल्टी होटललाई पनि स्पष्टीकरण सोधेको छ । त्यस्तै नेसनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, गरिमा विकास बैंक, बेस्ट फाइनान्स, माउण्टेन हाइड्रो, समाज लघुवित्त, नेपाल रि इन्स्योरेन्सलगायतलाई पनि स्पष्टीकरण सोधेको छ ।