२०८१ चैत्र ४ सोमबार

काठमाडौं । दसैं सुरु हुने क्रम नजिकिएसँगै मूल्यवृद्धि आकासिने क्रम जारी रहेको छ । केही समययता विविध कारणले महँगीले आम नागरिकको जनजीविन कष्टकर बनाउँदै लगेको छ । आम नागरिकको आम्दानीमा खासै वृद्धि हुन नसकेको अवस्थामा महँगी भने धेरै नै माथि पुगेको छ । दसैंमा अत्यधिक खपत हुने चामल, चिउरा, जिरा, धुलो मसला, चिनी, घीउ, मासुलगायतको मूल्य अघिल्लो वर्षको तुलनामा धेरै माथि पुगेको छ । महँगी वृद्धि गर्न सरकारले समेत मलजल गरेकोले उपभोक्ताको लागि यो दसैं कष्टकर बनेको सर्वसाधारणले बताएका छन् । सरकारले प्रभावकारी रुपमा बजार अनुगमन गरिरहेको दाबी गरिरहँदा कालोबजारी, कार्टेलिङ र कृत्रिम अभावजस्ता समस्या हटेको छैन् ।

उपभोक्ताले दैनिक खपत गर्ने वस्तुहरुको मूल्य रातारात बढेको छ । दसैंमा मासु पकाउन मसलामध्ये अत्यधिक खपत हुने जिराको मूख्य हो । जिराको मूल्य विश्वभर उकालो काटिरहँदा दसैंको किनमेललाई पनि यसले ठूलो प्रभाव पारेको छ । नेपाल थोक विक्रेता संघका अध्यक्ष देवेन्द्र भट्टले जिराको मूल्य धेरै नै बढेको बताए । गत वर्षको दसैंताका जिराको मूल्य प्रतिकिलो ५ सय ५० थियो । अहिले यसको मूल्य बढेर १ हजार ५ सय ५० पुगेको छ । विश्वभर जिरा उत्पादन हुने कूल परिमाणमा झन्डै ७० प्रतिशत भारतमा उत्पादन हुन्छ । तर, भारतमा जिराको खेती निक्कै कम भएको र मौसम पनि प्रतिकूल भएकाले अन्तर्राष्ट्रिय बजारमा जिराको मूल्य आकासिएको हो ।

चामलसँगै चिउराको खपत पनि अत्यधिक बढेको छ । चिउराको मूल्य अहिले उकालो लागेको छ । २०७९ असोजमा १ सय ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको टाइचिन चिउराको मूल्य अहिले नै १ सय ६० रुपैयाँ पुगिसकेको छ । यस्तै ७५ रुपैयाँ प्रतिकिलोमा गत वर्ष कारोबार गरेको तराई चिउराको मूल्य अहिले बढेर प्रतिकिलो १ सय ५ रुपैयाँ पुगेको छ । क्रयशक्ति निक्कै कमजोर भएको र महँगी बढेका कारण उपभोक्ताको आर्थिक अवस्था पनि नाजुक रहेको छ । यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने प्रयत्न नगरेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न नगरेको बताएका हुन् । उनले दैनिक उपभोग्य वस्तुको अन्धाधुन्ध मूल्यवृद्धि भइरहेको बताए ।

मूल्यवृद्धि हुनुपर्ने कुनै औचित्य नहुँदा पनि मूल्यवृद्धि भइरहेको भन्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराए । मूल्यवृद्धि नियन्त्रणका सम्बन्धमा एकीकृत समाजवादीले संसद चल्दा संसदमा आवाज उठाइरहेको र संसद नहुँदा पनि विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइरहेको उनले बताए ।

मूल्यवृद्धि नियन्त्रणमा सरकारको ध्यानाकर्षण

काठमाडौ । दशैँलगायतका चाडबाडमा नजिकिँदै गर्दा चिनीलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वभावविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सांसदहरुले सरकारलाई सजग र सचेत रहन सुझाव दिइसकेका छन् । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमितिको बैठकमा भाग लिने अधिकांश सदस्यहरुले चाडबाडका समयमा कृत्रिम अभाव सिर्जना गरी हुनसक्ने भन्दै त्यस्ता गतिविधमा समयमै ध्यान पु¥याउन समितिमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा सदस्य गोकुलप्रसाद बाँस्कोटाले चिनी उत्पादन र आयातकर्ता तथा सरकारबाट सहयोग प्राप्त गर्ने एउटै व्यक्ति भएकाले हरेक वर्ष चाडबाडका समयमा अभाव सिर्जना हुँदै आएको जिकिर गर्दै दैनिक उपभोग्य वस्तु सहज र सुलभ मूल्यमा प्राप्त गर्ने जनताको अधिकारलाई सुनिश्चित गर्न जोड दिए ।

समितिका सदस्य राजेन्द्रप्रसाद लिङ्देनले दैनिक उपभोग्यवस्तुमा भइरहेको कालोबजारी र महँगीले उपभोक्ता मारमा परेको भन्दै त्यसतर्फ सरकारको बेलैमा ध्यान जाओस् भनी ध्यानकार्षण गराए । सांसदद्वय अचुत मैनाली र देवप्रसाद तिमिल्सिनाले आवश्यकता भन्दा लाभको दृष्टिकोणबाट मल आयात भएकाले वास्तविक किसानले नभइ अरुले नै फाइदा लिइरहेको बताएका थिए ।

समिति सदस्य अर्जुननरसिंह केसीले दसैंको मुखमा कालोबजार मौलाएका अत्यावश्यक खाद्य सामग्रीलगायतमा मूल्यवृद्धि भइ आम जनता त्यसको मारमा परेको भन्दै त्यसतर्फ आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराए । सांसद रामकृष्ण यादवले आर्थिक संकट र महंगीले अप्ठेरामा परेका जनतालाई अप्ठेरोमा पार्ने हिसावले केही सीमित व्यापारीले कार्टेलिङ गरी छोटो समयमा धेरै धन कमाउने उद्देश्यले गलत क्रियाकलातर्फ लागेको भन्दै कारबाहीको माग गरे ।

समिति सदस्य तारा लामाले चाडबाडका समयमा अत्यावश्यक खाद्य सामग्री चामल र दालबाहेक चिनीको प्रयोग र खपत कम गर्न जनतालाई आह्वान गर्न आवश्यक रहेको धारणा राखे । सांसद लेखनाथ दाहालले समितिको प्रभावकारिता बढाउन छलफल र निर्णय गर्ने एजेण्डा प्राथमिकीकरण गर्न, विगतका उजुरी र निर्णय कार्यान्वयनको अवस्था बुझन तथा निर्णयलाई अलपत्र पार्ने निर्णय नगर्न सभापतिमार्फत वैठकलाई अनुरोध गरे ।

समिति सदस्य योगेश भट्टराईले सरकार गठनका समयमा दलहरुबीच राष्ट्रको ढुकुटीको अवस्थालाई विश्लेषण गर्दै नयाँ सवारी साधन नकिन्ने र अत्यावश्यक बाहेक विदेश भ्रमण नगर्ने भनेपनि त्यसको ठाडो उल्लंघन भएको भनी आलोचना गरे । समिति सदस्य श्यामकुमार घिमिरेले अधिकाश सार्वजनिक संस्थानको आर्थिक अवस्था कमजोर रहेकाले अनुदान दिएर कतिन्जेल धान्ने भनी प्रश्न गर्दै बढिरहेको महँगी र कालोबजारको मारमा उपभोक्ता परेकाले त्यसमा सरकारले अनुगमन समयन्त्रलाई प्रभावकारी तुल्याउन आवश्यक रहेको बताए । सासद मनिष झाले समितिमा हुने छलफल सामाजिक सञ्जालबाट प्रशारण गर्न तथा बाहिरबाट सस्तो मूल्यमा चिनी ल्याएर यहीँको उत्पादनको स्टिकरलगाउने कार्य रोक्न सरकारको ध्यानकर्षण गराए ।

सभापति ऋषिकेश पोखरेलले समितिले बेरुजु फस्र्याैटलगायत छलफलका लागि तयार गरेको विषयबस्तुबारे जानकारी गराउँदै त्यसको प्राथमिकीकरणका लागि सुझाव प्रस्तुत गर्न अनुरोध गरे । समिति सदस्य अमनलाल मोदीले समितिले दिने निर्णय कार्यान्वयन र परिपालनाको अवस्था र स्थितिबारे जानकारी माग गर्न आवश्यक रहेको बताए । सांसद सञ्जयकुमार गौतमले ठूलो होइन, ठोस कुरा गर्न तथा नीतिगत भ्रष्टाचार रोक्न सरकारलाई खवरदारी गर्न आवश्यक रहेकोमा जोड दिए ।

दसैँ–तिहार सुरक्षा विषेश योजना

नेपाल प्रहरीले दसैँ–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यही असोज २१ गतेदेखि यो वर्षको दसैं–तिहार सुरक्षा विषेश योजना लागू गर्ने भएको छ । विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित युनिटहरूले आआफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यसवर्षको दसैंतिहार सुरक्षा योजनालाई बलियो र मजबुद पारिने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले बताएका छन् ।

उनले भने,‘दसैं तिहारमा कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिन प्रहरी व्यापक चरिचालन गरिने छ, असोज २१ गतेदेखि यसवर्षको दसैँ–तिहार सुरक्षा विषेश योजना लागु हुन्छ ।’ यसैगरी उनले दसैँ–तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलाई परिचालन गरिने जानकारी पनि दिएका छन् । ‘ढुक्कका साथ दसैं मनाउन घर गए हुन्छ, तर घर बन्द गरेर जाँदा सेल्फी खिचेर घर खाली भएको जानकारी हुने गरी सामाजिक सञ्जालमा पोष्ट नगरौ, बरु प्रहरीलाई जानकारी गराऔं ।’ उनले भने ।

दसैँ–तिहारजस्ता चाडपर्वमा अपराधिक क्रियाकलाप बढी हुने भएकाले त्यसतर्फ सबैले चनाखो भएर लाग्न तथा आफ्ना घर, छिमेकमा त्यहाँ गतिविधि भएमा वा हुने संकेत देखिएमा तत्काल नजिकको प्रहरी युनिटमा वा निःशुल्क नम्बर १०० मा खबर गर्न समेत प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले आग्रह गरे । यसैगरी प्रहरी प्रधान कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ । नजिकिँदो चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रवन्धसहित सुरक्षा योजना तयार पारी लागू गर्न सर्कुलर जारी गरेको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए ।

उनका अनुसार दसैं–तिहार विशेष सुरक्षा योजना लागू भएपछि साविकभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने र सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करीलगायत आपराधिक क्रियाकलाप रोक्नका लागि प्रहरीलाई चुस्त रुपमा परिचालन गर्ने गरिनेछ । यसवर्षको दसैँ–तिहारमा कतिजना सुरक्षाकर्मी परिचालन हुन्छन भन्ने कुरा केही दिनमै सार्वजनिक गरिने उनले बताएका छन् ।

असोज २१ देखि सहुलियत पसल

चाडवाड लक्षित सहुलियत मूल्य पसल असोज २१ देखि मंसिर ३ सम्म सञ्चालन गरिने भएको छ । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर उक्त पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी दिए ।

यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा सामग्री उपलव्ध गराउने उद्देश्य लिएको उनको भनाइ छ । चाडबाडका समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।

सहुलियत मूल्य पसलमा सबै किसिमका चामल, दालहरु, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरामा बजार मूल्यभन्दा प्रतिकिलो सात रुपैयाँले सस्तोमा बिक्री वितरण हुनेछ । त्यस्तै, कर्णालीको सिमी तथा गेडागुडीहरु, फापरको दाना, चिनो, कागुनो र उवा र जिउँदो खसी, बोका तथा च्यांग्रा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ । यो वर्ष सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ ।यस्तै, साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड छुट्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनलले चिनी प्रतिकिलो ९७ मा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ । त्यस्तै, दूग्ध विकास संस्थानले घ्यूमा प्रतिकिलो २०, पनीर प्रति दुई सय ग्राममा २० र प्रति पाँच सय ग्राममा ५० रुपैयाँ छुट दिनेछ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको काठमाडौँ उपत्यकामा रहेका आठ वटा बिक्री केन्द्र र तीन वटा घुम्ती पसल समेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थल रहनेछ ।

त्यसबाहेक मोरङ्ग, झापा, ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढंगा, खोटाङ, सिरहा, जनकपुर, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व र रुकुम पश्चिममा खाद्य व्यवस्था कम्पनीले सहुलियत पसल सञ्चालन गर्नेछ । त्यस्तै, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डंडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण स्टक रहनेछन् ।

यस्ता पसलहरु आवश्यकत अनुसार थप जिल्ला र स्थानमा पनि सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ । निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलहरुकोको माध्यमबाट तोकिए बमोजिमको छुट पाउन सकिनेछ । सञ्चालनमा ल्याइएका सहुलियत मुल्य पसलहरु प्रभावकारी भएको नभएको विषयमा अनुगमन समिति पनि बनाइएको छ । चाडबाडको अवधिभर बजार अनुगमनको काम थप तीव्र पारिने मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाको हकमा उद्योग मन्त्रालयले सहुलियत पसल सञ्चालनको आयोजना अवधिभर अनुगमन टोली बनाई अनुगमन गर्नेछ भने सम्बन्धित संस्थानहरुले पनि आ–आफनो अनुगमन टोली बनाई अनुगमन गर्नेछन् ।

वाणिज्य, आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागबाट पनि नियमित अनुगमनको अतिरिक्त थप अनुगमन टोली बनाई सघन रुपमा अनुगमन गर्नेछ । जिल्लाहरुको हकमा प्रमुख जिल्ला अधिकारी वा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन टोली गठन गरी सघन रुपमा अनुगमन गरिने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय