
काठमाडाैं । नागढुंगाको मुख्य सुरुङ २३ सय ४० दशमलव ४० मिटर अर्थात् ९३।७० प्रतिशत खनिसकिएको आयोजनाले जनाएको छ । कुल २६ सय ८८ मिटर लम्बाइ रहेको सुरुङमार्ग मंगलबारसम्म २३ सय ४० दशमलव ४० मिटर खनिएको सुरुङमार्ग आयोजनाले जनाएको हो ।
साथै, इभ्यालुएसन टनेल, वर्किङ अडिट, क्रस प्यासेज गरी कुल ५४ सय ९९ मिटर रहेकामा ५१ सय ५१ मिटर खनिएको पनि आयोजनाले जनाएको छ । जसमध्ये २५ सय ५७ मिटर लम्बाइको इभ्यालुएसन टनेल भने अगस्ट ७ मा ब्रेक थ्रु भएको अर्थात् खनिसकिएको छ ।
मुख्य टनेल ३४७ दशमलव ६० मिटर बाँकी रहेको आयोजनाको भनाइ छ । त्यस्तै मुख्य सुरुङ बाहेक अन्डरपास ३, बक्स कल्भर्ट ४ ओभर पास २ र पुल ३ वटा निर्माण सम्मपन्न भएको पनि आयोजनाको भनाइ छ । यद्यपि, फ्लाइओभर भने निर्माणाधीन छ ।
मुख्य सुरुङमार्गको काम ९३ प्रतिशत सकिए पनि फ्लाइओभर निर्माणाधीन भएका कारण समग्र आयोजनाको भौतिक प्रगति भने ६१.३११ प्रतिशत भएको छ । साथै, आयोजनाको समग्र वित्तिय प्रगति ५७ दशमलव २७ प्रतिशत भएको छ।
कुल २२ अर्ब लागतको यो सुरुङमार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १६ अर्ब ऋण सहयोग गरेको छ । त्यस्तै नेपालले ६ अर्ब रुपैयाँ लगानी गर्ने छ । सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं प्रवेश गर्ने मुख्य द्वारमा यात्रुले भोग्नुपरेको ट्राफिक जामको सास्ती कम हुने विश्वास छ ।