२०८१ चैत्र १४ बिहीबार

अहिले देशको अर्थतन्त्र प्रतिकूल अवस्थाबाट गुज्रिरहेको छ । आर्थिक सुस्तताको प्रभावबाट कुनै क्षेत्र पनि अछुतो छैन । वित्तीय क्षेत्र झनै यसबाट प्रभावित छ । सन् २००१ मा स्थापना भएको नेपाल लाइफ इन्स्योरेन्स २३ वर्षमा यात्रा गरिरहँदा प्रवीणरमण पराजुली कम्पनीको नेतृत्वदायी भूमिकामा छन् । उनी सन् २०७८ पुस २५ गते नेपाल लाइफमा सिनियर डेपुटी सीईओका रुपमा प्रवेश गरेका थिए । कार्यदक्षताको मूल्यांकन गर्दै सञ्चालक समितिले उनलाई एक वर्ष नबित्दै २०७९ साउन ४ गते नै सीईओ नियुक्त ग¥यो । नेपाल लाइफमा आउनुअघि उनी रिलाइन्स लाइफ इन्स्योरेन्समा सीईओ थिए । काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेका पराजुलीले सन् २००३ मा एनएमबि बैंकबाट करियर थालेका हुन् । करियर सुरु गरेको ७ वर्ष बित्दै गर्दा सन् २०१० देखि नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको नेतृत्व सम्हालेका उनी विभिन्न संस्थामा गरी १३ वर्ष प्रमुख कार्यकारी अधिकृत बनिसकेका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसाय, देशको कमजोर अर्थतन्त्रले पारेको प्रभाव, नीतिगत समस्यालगायत विषयमा सीईओ पराजुलीसँग क्लिकमान्डुले गरेको कुराकानी सान्दर्भिक ठानेर साभार प्रस्तुत गरिएको छ :

सन् २००१ देखि सञ्चालनमा आएको नेपाल लाइफ इन्स्योरेन्सको २३ वर्षे व्यावसायिक यात्रालाई कसरी सम्झिनुहुन्छ ?
हामीले दुई दशकभन्दा लामो यात्रा पार गरिसकेका छौं । सानो बिन्दुबाट सुरु भएको संस्था आज सबैभन्दा ठूलो ८ अर्ब २१ करोड रुपैयाँ चुक्ता पुँजी भएको संस्था बनेको छ । यसमा सबै सरोकारवाला, स्थापना कालदेखि अहिलेसम्मको सञ्चालक समितिका सबै पदाधिकारी तथा व्यवस्थापनका सदस्यहरुको योगदान छ । नेपाल लाइफले अहिले कुल प्रिमियमका हिसाबले करिब २६ प्रतिशतको बजार हिस्सा ओगटेको छ । हामी सबै सूचकमा अगाडि छौं । हामीले यो संस्थालाई सबै सरोकारवाला, कर्मचारी र नियामकको समेत अपेक्षाअनुसार सबैभन्दा अब्बल संस्थाको रुपमा उभ्याएका छौं ।

देशको समग्र आर्थिक क्षेत्रमा परेको प्रभावको असर बीमा क्षेत्रमा कसरी परिरहेको छ ?
अर्थतन्त्र नकारात्मक भइसकेपछि बीमा क्षेत्र प्रभावित नहुने भन्ने सवालै हुँदैन । आर्थिक वर्ष २०७८÷७९ र ७९÷८० लाई तुलना गरेर हेर्दा जीवन बीमाको प्रथम बीमा शुल्क २४ प्रतिशतले ऋणात्मक भएको छ । कुल बीमा शुल्कको वृद्धिदर पनि २.५ प्रतिशत मात्र छ । यसले के देखाउँछ भने अर्थतन्त्रमा देखिएको चुनौतीबाट यो क्षेत्र पनि अछुतो छैन । उद्यपि, संस्थागत रुपमा हेर्दा नेपाल लाइफको प्रथम बीमा शुल्क ९ प्रतिशतले मात्र ऋणात्मक छ ।

अहिलेको प्रतिकूल अवस्थामा पनि ६७ करोड ४४ लाख खुद नाफा गर्न सफल हुनुभयो, कसरी सम्भव भयो ?
बीमा क्षेत्रको मुख्य आम्दानी भनेकै लगानीबाट हुने प्रतिफल हो । हाम्रो मुख्य लगानी भनेको बैंक वित्तीय संस्थाको मुद्दति निक्षेपमा हुने लगानी हो । २०७९÷८० को अन्त्यमा हाम्रो कुल पोर्टफोलियो हेर्दा १ खर्ब ७१ अर्ब रुपैयाँजति छोटो र मध्यमस्तरीय लगानीलाई हामीले दीर्घकालीन लगानीमा परिणत गरेका छौं । त्यसअनुसार लगानीको प्रतिफल पनि प्राप्त भएको छ । यसमा बीमांकीय मूल्यांकनपछि आउने नाफा पनि हुन्छ, त्यसमा पनि हाम्रो विगतमा भन्दा राम्रो आउँछ भन्नेमा हामी स्पष्ट छौं ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष पोलिसी सरेन्डर संख्याका आधारमा २७ प्रतिशतले बढेको छ, यसलाई कसरी हेरिरहनुभएको छ ?
संख्याको आधारमा बढे पनि मूल्यका हिसाबले घटेको छ । विगतमा ५ अर्ब १ करोड थियो, गत वर्ष ४ अर्ब ७९ करोड रुपैयाँमा झरेको छ । पोलिसी सरेन्डरलाई हामीले एकदमै सूक्ष्म हिसाबले नियतवश भइरहेको छ कि अर्थतन्त्रमा आएको चुनौतीको प्रभावका रुपमा देखिएको छ त भनेर हेरिरहेका हुन्छौं । हाम्रो तथ्यांक हेर्दा अहिले अर्थतन्त्रमा देखिएको सुस्तताको असरको रुपमा बढी पोलिसी सरेन्डर भएको पाइएको छ । अहिले विगतमा जस्तो सजिलो पनि छैन र छुट्याउन पनि सकिँदैन तथापि सर्सर्ती हेर्दा नियतवश भइरहेको पोलिसी सरेन्डरको हिस्सा एकदमै सानो छ भन्ने हाम्रो बुझाइ छ । अहिले चाहिँ अलि लामो समयदेखि चलिरहेको पोलिसी पनि सरेन्डर भएको पाइएको छ । मानिसको तिर्नसक्ने क्षमतामा ह्रास आएका कारण यस्तो भएको हो । नयाँ पोलिसी लिने क्रम पनि घटेको छ । साइज पनि सानो भएको छ । पोलिसी राखेर लिइने कर्जाको हिस्सा पनि बढेको छ । यो सबै हेर्दा अर्थतन्त्रमा आएको चुनौतीको असरले पूरा बीमा क्षेत्र कसरी प्रभावित छ भन्ने स्पष्ट हुन्छ ।

नियतवश भएको पोलिसी सरेन्डरको अनुपात कति छ ?
विगतमा धेरै नै थियो । अहिले एकदमै कम छ । अहिले नीतिगत रुपमा पनि पोलिसी सुरु भएको तीन वर्ष नभई सरेन्डर हुन सक्दैन । त्यसपश्चात तत्कालै भएको सरेन्डरलाई हेर्दा पनि त्यो सामान्य नै छ ।

बीमा भनेकै दाबी भुक्तानीका लागि हो तर नेपालमा बीमा दाबी भुक्तानी अझै पनि सहज छैन नि, के भन्नुहुन्छ ?
यसलाई म दुई हिसाबले हेर्छु । निर्जीवन बीमाको केसमा मानिसहरुको धारणा अलि फरक छ । त्यसमा जीवन बीमा पनि मुसिन्छ । निर्जीवनमा मानिसले पोलिसी लिन्छन् । त्यसमा धेरै प्राविधिक कुरा हुन्छन् । मानिसले जनरल इन्स्योरेन्सको दाबी गर्दा केही न केही काटिएर आएको हुन्छ या त दाबी भुक्तानीका लागि योग्य हुँदैन । यही कुरा सामान्यीकरण भएको छ र बीमा भुक्तानी सोचेअनुसार पाइँदैन भन्ने धारणा स्थापित भएको छ । तर, जीवन बीमामा त्यस्तो हुँदैन । नेपाल लाइफकै कुरा गर्ने हो भने धेरै फरक छ । सर्भाइभल क्लेम हुन्छ, म्याचुअर्ड क्लेम र डेथ क्लेम हुन्छ । सर्भाइभल र डेथ क्लेममा स्वतः भइहाल्छ । नेपाल लाइफले अहिलेसम्म ६५ अर्बभन्दा बढीको दाबी भुक्तानी गरिसकेको छ । साढे ५ अर्बको त मृत्यु दाबी भुक्तानी नै छ । गत वर्ष पनि ९९ प्रतिशतभन्दा बढीको दाबी भुक्तानी गरिसकेका छौं । त्यसमा ८४–८५ प्रतिशत दाबी भुक्तानी बीमा प्राधिकरणले तोकेको १५ दिनको सीमाभित्र भएको छ । कागजात पूरा आइसक्दा दुर्घटनाको अवस्थामा ७२ घण्टाभित्र भुक्तानी गरेका छौं । तथ्यले के भन्छ भने दाबी भुक्तानीका विषयमा नेपाल लाइफ धेरै नै सहज छ ।

अहिले त बैंकहरुले पनि बचतमा विभिन्न बीमा सुविधा दिएका छन्, उपचार सुविधा दिन्छन्, जीवन बीमा खास किन गर्ने पनि भनिन्छ नि ?
पहिलो कुरा त बैंकले बीमाको सुविधा दिएको होइन । बैंकले इन्स्योरेन्सको सुविधा दिएको बीमा कम्पनीसँगै सम्झौता गरेर हो । बैंकले बीमा कम्पनीकै प्रोडक्ट लिएर बेचेको हो । त्यो निःशुल्क हुँदैन । कि ग्राहकले तिर्छ कि त बैंकले तिरेको हुन्छ । अर्को कुरा बैंकमा बचत गर्नु र बीमा गर्नुमा धेरै फरक छ । बीमा भनेको जोखिम बहन हो । त्यसका दुईवटा पाटा हुन्छन् । बीमालाई हामीले बचतका साथै जोखिम बहनसँग जोड्नुपर्छ । त्यसमा पनि मुख्य कुरा जोखिम बहन हो । कसैले १ करोडको बीमा गरेको छ भने प्रिमियम थोरै मात्र तिरिरहेको हुन्छ तर जोखिम १ करोडको बहन भइरहेको हुन्छ । तर, मुद्दति निक्षेपमा जति पैसा राखियो, त्यति मात्र हुन्छ । त्यही भएर बचत गर्नु र बीमा गर्नुका बीच धेरै नै फरक छ । सबैखाले लगानी या बचतका क्षेत्र हुन्छन् । बचत, घरजग्गा, सेयर भनेजस्तै बीमालाई खुला राख्नुपर्छ, एकले अर्कोलाई प्रतिस्थापन गर्ने होइन ।

जीवन बीमा कम्पनी नेपालमा १४ वटा छन्, नेपाल लाइफमै चाहिँ किन बीमा गर्ने ?
ग्राहकले बीमा कम्पनीबाट पोलिसी किन्दा १५–२० वर्षका लागि संस्थाको स्थायित्व पनि लिइरहेको हुन्छ । हामीले प्रोडक्ट मात्र लिइरहेका छैनौं । १९ वटा संस्था थिए, आज १४ वटामा झरे होलान् । हिजो लिएको प्रोडक्ट आज कता पुग्यो ? हिजो लिएको प्रोडक्टको बोनस आज कति हुन्छ ? हिजो सोचेअनुसारको प्रतिफल आज प्राप्त हुन्छ कि हुँदैन ? प्रोडक्ट लिएको संस्था अस्तित्वमा छ कि छैन ? यी सबै प्रश्नले संस्थाको स्थायित्वलाई दर्शाउँछ । साथै, संस्थाको मेरुदण्डका रुपमा रहनुभएका अभिकर्ता साथीहरुको स्थिति हेरौं । बीमा प्राधिकरणको तथ्यांक हे¥यौं भने लाइसेन्स नवीकरण भएका अभिकर्ताको संख्या २ लाख ३० हजार हाराहारी छ भने ४०–४२ हजार हामीसँग छन् । संस्थाको साइज, स्थायित्व, विश्वास, लगानी, ब्रान्ड भ्यालु, मार्केट सेयर, प्रतिफललगायतका सबै कुराले नेपाल लाइफ नेपाल लाइफ नै हो ।

विगतमा जस्तै अहिले पनि ‘मृत्यु भयो भने डबल पाइन्छ’, मैले भनेपछि चुप लागेर गर्नुस् न विश्वास गर्नुहुन्न मलाई ? भन्ने जस्ता कुरा गरेर बीमा गराइन्छ कि अहिले बिमितलाई भ्यालु बुझाएर बीमा गराइन्छ ?
यसमा म अलि प्रस्ट पार्न चाहन्छु । हामीले अघि जोखिमका पनि कुरा ग¥यौं, संस्थाको स्थायित्वको पनि कुरा ग¥यौं । अर्को हेर्नुपर्ने विषय अन्डर इन्स्योरेन्स र ओभर इन्स्योरेन्सको हो । आफूलाई केही भइहाल्यो भने आफूसँग आश्रित भएका परिवारका अन्य सदस्यको फाइनान्सियल स्टाबिलिटीको लागि पनि बीमा हो । आफूसँग निर्भर भएका मानिसको पढाइ होला, क्वालिटी अफ लाइफको निरन्तरता होला, सामाजिक दायित्व होला, यी सबै कुरालाई कभर गर्ने साइजको बीमा गर्न जरुरी छ । अन्डर इन्स्योरेन्स गर्नु भएन । यसको अर्थ क्षमताभन्दा माथिको ओभर इन्स्योरेन्स पनि गर्नु भएन । सामान्य सिद्धान्त के भने हामी वार्षिक रुपमा जति कमाउँछौं, त्यसको १० गुणा बढीको बीमा गर्नुपर्छ भनिन्छ । यसको अर्थ, आफूलाई केही भइहाल्यो भने आफूसँग निर्भर परिवारका सदस्यलाई वित्तीय रुपमा सहज हुन्छ । हामीसँग एकदमै खारिएका अभिकर्ता हुनुहुन्छ । उहाँहरुले भ्यालु बुझाएरै बीमा गराउनुहुन्छ ।

बीमाप्रति मानिसहरु जति इच्छुक हुनुपर्ने हो, त्यति भएको पाइ“दैन, यसको कारण चाहिँ के पाउनुभएको छ ?
जागरुकता या ज्ञानको कमी हो जस्तो लाग्छ मलाई । बीमा आवश्यक छ भनेर हामीले अझै बुझाउन सकेका छैनौँ । वैदेशिक रोजगारीमा गएको बीमा र कर्जामा गएको बीमा हटाउने हो भने पेनिट्रेसन २७–२८ प्रतिशतभन्दा बढी छैन । यसले के देखाउँछ भने धेरै जनसंख्या अहिले पनि बीमाको पहुँचभन्दा बाहिर छ । गरिबीका कारण केही सानो हिस्सा बीमाबाहिर होला, बाँकी त साक्षरता नै हो । यसलाई बढाउने हामीले नै हो । गाउँदेखि सहरसम्मका बासिन्दालाई आकर्षित गर्ने खालको प्रोडक्ट ल्याएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । हामी त्यसमा लागिरहेका छौं ।

लगानीका क्षेत्र कुन–कुन हुन् ?
हामीले बीमा प्राधिकरणले दिएको निर्देशिकाभित्र रहेर लगानी गर्नुपर्छ । त्यसकारण हाम्रो मुख्य लगानीको क्षेत्र बैंक वित्तीय संस्थामा मुद्दति निक्षेप नै हो । अहिले नयाँ बीमा ऐनमार्फन प्राधिकरणले लगानी नीतिलाई सरलीकृत गरिदिएको छ । उत्पादनमूलक क्षेत्रमा पनि लगानी विविधीकरण गर्ने प्रयास भएको छ । हामी बजारको औसत प्रतिफलभन्दा बढी प्रतिफल लिएर अगाडि बढिरहेका छौं । हाम्रो मुख्य लगानीमा नेपाल लाइफ क्यापिटल सुरु भइसकेको छ । आफ्नै लगानीमा लगानी व्यवस्थापन कम्पनी दर्ताको प्रक्रियामा छौं । उत्पादनमूलक क्षेत्रको लगानीमा केन्द्रित हुन लगानी कम्पनी स्थापना गर्न लागेका हौं ।

नेपाल लाइफले पनि प्रिमियममा एफपिओको निकालेको थियो । यसरी प्रिमियमबाट संकलन भएको रकम लगानीकर्ताले लाभांश लिएको भए सरकारले कर तिर्न समय तोकेको छ । यसले तपाईंहरुलाई कस्तो असर पर्ला ?
यो विषय पहिला पनि उठेको हो । यसमा कर तिर्नुपर्छ भनेर कहीँ पनि व्याख्या भएजस्तो लाग्दैन । हामीले हरेक वर्ष कर तिरिरहेका छौं । राज्यबाटै ट्याक्स क्लियरेन्स सर्टिफिकेट पाइरहेका छौं । हामीले एफपीओबाट जति सेयर प्रिमियम संकलन गरेका थियौं, त्यो खातामै थियो, जुन राज्यले तोकेको कम्पनी ऐनको प्रावधानअनुसार नै रहेको हो । त्यो पुँजीकरण भएको छ । संस्थालाई बलियो बनाउन पुँजीको रुपमा राखिएको हो । त्यसमा ५ प्रतिशतको अन्तिम कर तिरिसकेको छ । बजेटमार्फत फेरि जसरी ‘मंसिरभित्र तिरे छुट’ भनेर पुनः तिर्न लगाउने प्रयास भएको छ, यसमा हाम्रो ठूलो अहसमति छ । पहिलो कुरा, करमा व्याख्या नै नभएको कुरालाई फरक तरिकाले व्याख्या गरेर तिर्न आऊ भन्नु कति तार्किक छ ? दोस्रो कुरा, राज्यका कुनै पनि कानुन भूतप्रभावी हुँदैनन् । यसरी गर्दै जाने हो भने अनावश्यक समस्या सिर्जना हुन्छन् । राज्यका निकायमा दर्ता भएका र उच्च नियमनमा रहेका संस्थाहरुले राज्यका सबै नियम कानुन मानिरहेका हुन्छन् । अहिले आएर राज्यलाई पैसा चाहियो भनेर वित्तीय क्षेत्रजस्तो व्यवस्थित क्षेत्रबाट उठाउने जुन उद्देश्य राखियो, यो सोच्नु मात्रै पनि गलत हो ।

यस्ता गतिविधि र प्रवृत्तिका कारण सरोकारवाला निकायमा कस्तो सन्देश प्रवाह भइरहेको छ, त्यो पनि हेर्नुपर्छ । जतिबेला पनि जुन पनि कानुन भूतप्रभावी बनाएर राज्यका कानुनहरु अत्यन्तै अस्थिर छन् भन्ने सन्देश दिनु राम्रो होइन । योचाहिँ महालेखाले उठाएको कुरा हो भनेर पनि आइरहेको छ । महालेखाले त खर्बौं रकम बेरुजु भनेर उठाएको छ, त्यो सबै क्लियर भएको छ त ? महालेखा स्वयं आफूले उठाइरहेको बेरुजु रकम क्लियर गर्न सबल छ त ? धेरै प्रश्न उठ्छन् । त्यसकारण यो भनेको संस्थाको कुरा मात्र होइन, संस्थासँग जोडिएका ३२ लाख पोलिसी होल्डर, आजको दिनमा १६ लाख पोलिसी होल्डर, डेढ लाख सेयरधनी यो सबैसँग ठोकिन्छ । नेपाल लाइफ आफैंमा ब्रान्ड मात्र होइन, यी सबै सरोकारवालाको आशाको केन्द्र पनि हो । त्यसकारण राज्यले नै यसमा पुनर्विचार गर्नुपर्छ । तर, राज्य एक हिसाबले अघि बढिसकेको पृष्ठभूमिमा हामी कानुनी उपचारमा जान्छौं । हामीले धेरै अनुरोध पनि ग¥यौं । अन्य बैंक वित्तीय संस्था र बीमा कम्पनीले पनि आफ्नो तर्फबाट गरिरहेका छन् । यो हाम्रो मात्र समस्या होइन, सबै प्रभावित भएका छन् ।

बीमा क्षेत्रले अहिले भोगिरहेका खास समस्या के हुन् र त्यसबाट कसरी पार पाउन सकिएला ?
अहिले बीमा क्षेत्र बाह्य समस्याबाटै बढी प्रभावित छ । देशको अर्थतन्त्रले प्रतिकूल स्थितिको सामना गरिरहेको छ । यस्तो बेलामा सबै सरोकारवालाको मनोबल बढ्ने गरी कसरी व्यापार पनि चालु राख्न सकिन्छ, त्यो नै मुख्य चुनौती हो । जबसम्म अर्थतन्त्र चलायमान हुँदैन, तबसम्म सरोकारवाला निकायको पनि वृद्धिविकास हुँदैन । समग्र बीमा क्षेत्रको वृद्धि ऋणात्मक भएका बेला राज्यले मनोबल उच्च बढाउने प्रयास गर्नुपर्छ । विश्वासको वातावरण भनेको व्यापारले मात्र हुने होइन, राज्यबाट सही समयमा सही निर्णय भएको हुनुपर्छ । भर्खरै मात्र मजदुरको पारिश्रमिक बढेको छ, यो सही समयमा थियो कि थिएन ! सम्पूर्ण व्यापार व्यवसायले प्रतिकूल परिस्थितिको सामना गरिरहेका बेला, कसरी टिक्ने भन्ने दबाबमा परिरहेका बेला पारिश्रमिक बढाउनु कति उचित थियो होला ! पारिश्रमिक बढ्नुपर्छ तर धानिन्छ कि धानिँदैन भनेर पनि हेर्नुपर्छ । राज्यका नीतिहरु स्थिर हुनुपर्छ । राज्यले लिएका नीतिहरुले आन्तरिक रुपमा मात्र होइन, विदेशी लगानी पनि प्रभावित हुन्छ । अर्थतन्त्रले चुनौतीको सामना गरिरहेका बेला नीति निर्माताहरुले पनि फराकिलो भएर सोच्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय