
काठमाडौं । सेयर बजारमा सट्टेबाज हाबी हुन थालेपछि नेप्सेको वृद्धिले निरन्तरता पाउन सकेको छैन् । पछिल्ला केही समययता बजारमा झिनो ंअंकले सेयर कारोबार बढ्ने वित्तिकै बिक्री चाप बढने गरेको छ । एक साताको कारोबारको ट्रेन्डलाई हेर्दा पाँच कारोबार दिनमध्ये सोमबार नेप्से परिसूचक दुई हजारभन्दा तल झरेको थियो । उक्त दिन नेप्से १९९८.२९ विन्दुमा खुम्चिएको थियो । अघिल्लो बिहीबार २०३३.१४ विन्दुमा रहेको नेप्से परिसूचक सोमबारसम्म निरन्तर घट्न पुग्यो । मंगलबार र बुधबार नेप्से बढ्यो भने बिहीबार फेरि घट्यो ।
सेयर बजार विश्लेषकहरू सरकारले घरजग्गाको कित्ताकाट खुलाएकाले लगानीकर्ताको मनोबल बढेको बताउँछन् । यद्यपि, सेयर बजारमा बढेको यो मनोबल त्यति स्थिर भने छैन । समग्रमा अर्थतन्त्रमा देखिएको सुस्तताले सेयर बजारको दिशानिर्देशन भइरहेको विश्लेषकहरूको बुझाइ छ । यस साताको पहिलो दिन नेप्से आइतबार २०११.२२ विन्दुमा उक्लिएको थियो । सोमबार दुई हजारभन्दा तलको विन्दुमा झरेको नेप्से परिसूचक मंगलबार २०१५.९९, बुधबार २०४५.४६ र बिहीबार २०१३.९३ विन्दुमा झरेर बन्द भयो ।
घटेको बजारमा केही खरिदकर्ता सक्रिय भए पनि पुनः विक्रेता नै हाबी भएका थिए । पछिल्लो समय धेरैजसो लगानीकर्ताले अल्पकालीन रुपमा लगानी गर्ने गरेका छन् । अल्पकालीन लगानीकर्ता (ट्रेडर)ले प्रतिफल आउनेबित्तिकै सेयर बिक्री गरिहाल्छन् । सोही कारण बजार केही दिन बढ्नेबित्तिकै घट्ने गरेको विज्ञहरूको विश्लेषण छ ।
साताभर कारोबार रकममा पनि उतारचढाव कायमै रहन पुग्यो । गत बिहीबार १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार रकमका आधारमा यस साता सबैभन्दा कम मंगलबार हुन पुग्यो । यस दिन १ अर्ब ३३ करोडको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । नेप्से परिसूचक बढे पनि अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम घटेको हो ।
गत आइतबार कारोबार रकम १ अर्ब ४४ करोड रहेकोमा सोमबार १ अर्ब ४० करोडबराबरको सेयर किनबेच भएको थियो । मंगलबार कारोबार रकम घटे पनि बुधबार र बिहीबार भने फेरि बढ्न पुग्यो । बुधबार १ अर्ब ५१ करोड र बिहीबार १ अर्ब ५५ करोडको सेयर कारोबार भएको छ । सेयर बजारमा आएको उतारचढावका कारण बजार पुँजीकरणमा पनि उतारचढाव देखिएको छ । गत बिहीबार पुँजीकरण ३० खर्ब ४३ अर्ब थियो । यस साताको बिहीबार घटेर ३० खर्ब १४ अर्बमा झरेको छ ।पछिल्ला केही दिन बैंकको ब्याजदर तथा वित्तीय विवरणको प्रभावले सेयर बजार निरन्तर घटिरहेको थियो । मंगलबारबाट भने बजार बढ्न सुरू ग¥यो । मंगलबार एकैदिन १७.७० अंकले नेप्से परिसूचक बढेको थियो । बुधबार पनि सेयर बजार बढ्नुमा लगानीकर्ताको मनोबल उच्च भएको विश्लेषण विज्ञहरूले गरेका थिए । बुधबार नेप्से परिसूचक २९.४७ अंकले बढेको थियो ।बुधबारसमेतको वृद्धिलाई लगानीकर्ताको उत्साहका रुपमा बुझ्न सकिने सरोकारवालाहरू बताउँछन् । तर, बिहीबार भने बजार घट्न पुग्यो । बिहीबार कारोबारमा आएको कारोबारमध्ये सबैभन्दा बढी कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर ९.९९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७०१.१० रुपैयाँ कायम भएको हो । सेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रो स्थानमा मकर जितुमाया सुरी हाइड्रोपावर रह्यो । यो कम्पनीको सेयर मूल्य ५.९९ प्रतिशत बढेर २६९ रुपैयाँ पुगेको छ ।
बिहीबार सबैभन्दा बढी मोलुङ हाइड्रोपावर कम्पनीका सेयरधनीले गुमाएका छन् । कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८.५४ प्रतिशत घटेको छ । यससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६२.७० रुपैयाँमा झरेको छ ।सेयर मूल्य सर्वाधिक घट्ने कम्पनीको सूचीमा दोस्रोमा समता घरेलु लघुवित्त वित्तीय संस्था छ । कम्पनीको सेयर मूल्य ८.०९ प्रतिशत घटेर ६२५ रुपैयाँ कायम भएको छ । यस दिन कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी वित्त समूहको परिसूचक २.९२ प्रतिशत घटेको छ ।
निजी क्षेत्रले काम गर्न नसकिरहेका कारण पनि बजारमा केही असर परेको छ । निजी क्षेत्रमा छाएको सुस्तता सेयर बजारले गति नलिनुको प्रमुख कारणमध्ये एक हो । यसबाहेक बैंक तथा वित्तीय संस्थाहरूले खराब कर्जा बढेका कारण पनि आक्रामक ढंगले ऋण विस्तार गर्न गरेका छैनन् । यसले पनि सेयर बजारमा लगानीकर्ताको मनोबल खस्किएको अनुमान गरिएको छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अपेक्षाजनक वृद्धि नहुनु, ब्याजदर पनि सोचेजस्तो नघट्नु तथा राजनीतिक अस्थिरतालगायत कारणले अहिले लगानीकर्ताको मनोबल खस्कदो अवस्थामा रहेको छ ।
वित्त र मौद्रिक नीतिमा अल्झन
वित्त र मौद्रिक नीतिमा देखिएको अल्झनले सेयर बजार प्रभावित भएको छ । अहिले सेयर बजार खस्कदो अवस्थामा छ । २ वर्ष अघि करिव ३२ सय पुगेको नेप्से अहिले २ हजारको आसपास खुम्चिएको छ । यसरी सेयर मूल्य घट्दै जानु भनेको देशको आन्तरिक अर्थतन्त्र विग्रदै जानु हो । वित्त नीतिमार्फत सेयर बजारको विकास अर्थ मन्त्रालयले गर्नुपर्छ भने मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले गर्नुपर्छ । सेयर बजारमा आशाका श्रोत भनेका वित्त नीति र मौद्रिक नीति नै हो । अहिले सामान्य नागरिकको ठूलो रकम घरजग्गा र सेयरमा रहेको छ । यसलाई चलायमान गर्न सकियो भने अर्थतन्त्रमा सुधार आउन सक्छ । बजेटले मौद्रिक नीतिलाई देखाउने र मौद्रिक नीतिले बजेटलाई देखाउने परिपटीको कराण पनि सेयर बजारमा सुधार आउन सकेको छैन् ।वाणिज्य बैंकहरुले गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वित्तीय विवरणले अधिकांस बैंकहरुको नाफा बढेको देखाएको छ भने केहीको घटेको र केहीको स्थिर रहेको देखाएको छ । यो भन्दा अघि नै केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गरेको थियो । मौद्रिक नीति सार्वजनिक भएपछि पनि सेयर बजारको यात्रामा उत्तार चढाव नै देखियो । वित्तीय विवरण र बैंक ब्याजदरबाट सेयर बजार प्रभावित हुने गरेकोमा यो पटक पनि यस्तै अवस्था देखिएको छ ।
कसिलो मौद्रिक नीतिको कारण सेयर बजारमा विगत देखिको लगाम अहिले पनि कायमै रहेको छ । लगानीकर्ताको अपेक्षा र नियामक निकायको नीति फरक धारतर्फ अघि बढीरहेको बजारले देखाएको छ । अहिलेको अवस्थामा सेयर बजारमा कहिले सुधार आउँला भनेर भन्न सक्ने अवस्था छैन् । मौद्रिक नीतिकै कारण बजारमा गिरावट आएको लगानीकर्ताले बताउँदै आएका छन् ।
माग र आपूर्तिको सिद्धान्त बस्तुमा मात्र नभएर सेयर बजारमा पनि लागु भएको छ । माग भन्दा बढी सेयर भएमा मूल्य घट्छ भने माग भन्दा कम भएमा बढ्ने गर्छ । तर हामीकहाँ सेयरको सख्या प्रत्येक वर्ष बढ्दै गइरहेको छ । सोही कारण सेयरले उचित मूल्य पाउन नसकेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को गत असार मसान्त सम्मको विवरणले गत तीन वर्षमा सूचीकृत हुने कम्पनीको संख्या १५ प्रतिशतले वृद्धि भएको देखाएको छ । सूचीकृत कम्पनीको संख्या बढ्न सक्ने देखिएको छ । किनकी नियामक निकायले सेयर निष्कासनका लागि बनाइएका मापदण्डलाई परिमार्जन गर्दै खुकुलो बनाइरहेका छन् । यसले पनि बजारमा थप सेयर आउने छ । यो भनेको सेयरको माग भन्दा अझ बढी आपूर्ति बढ्नु हो ।
हरेक साता जस्तो सेयर बजारमा प्राथमिक सेयर निष्कासन भैरहेका छन् । बोनस सेयर, हकप्रद सेयर सुचिकरण हुने क्रम पनि यही क्रममा बढीरहेका छन् । यस्ले माग भन्दा आपूर्ति बढाउन सहयोग पु¥याइरहेको देखिन्छ । माग भन्दाबढी आपूर्तिले बजारमा सेयर मूल्य घट्ने देखिन्छ ।
नाफा बढ्नु भनेको त्यस्ता कम्पनीको प्रतिसेयर आम्दानी बढ्नु हो । प्रतिसेयर आम्दानी बढेका कम्पनीको पनि सेयर मूल्य बढ्न सकेको छैन् । नाफा बढेपनि त्यस्ता सेयरको माग पुँजी बजारमा आउन सकेको छैन । माग नै नभएपछि ती कम्पनीको सेयर मुल्यमा सुधार आउन सकेको छैन् । बैंकको नाफा बढ्दा लगानीकर्ताको लाभांश बढ्नु स्वभाविक हो । तर सेयर मूल्य माथि जानुपर्नेमा हामीकहाँ भने तल पनि झर्ने गरेको छ । केन्द्रीय बैंकको मर्जर नीतिको कारण बाणिज्य बैंकहरुको संख्या घेटर २० मा सिमित भएको छ । विकास बैंक र वित्त कम्पनीको संख्या पनि सोही अनुपातमा झरेका छन् । पुँजी वृद्धिसँगै वाणिज्य बैंकको सेयरको संख्या पनि बढेको छ । तर सेयर संख्याको अनुपातामा मागमा वृद्धि हुन सकेको छैन् ।
नाफा देखाउन केही कम्पनीहरुले जगेडा कोषको रकम घटाएका छन् । नाफा देखाउनै लागि जगेडा कोषमा रहेने रकम घटाउनुलाई सकारात्मक मान्न सकिदैन । जगेडा कोषमा रहेको रकम तत्कालै लगानीकर्ताको हातमा नपरे पनि यसले संस्थालाई मजबुत बनाउने काम गरिरहेको हुन्छ । भोलिका दिन थप आम्दानी आर्जनम गर्न जगेडा कोषको रकम प्रयोग हुने हुँदा यसलाई पनि लगानीकर्ताले सेयर खरिद गर्नुअघि हेर्नुपर्छ ।
नेप्से परिसुचक घटेको बेला लगानीकर्ताले सक्षम र नाफा बढाउँदै लगेका कम्पनीको सेयर किन्नु उपयुक्त मान्ने गरिन्छ । तर कम्पनीको ग्रोथ नहेर्ने ट्रेडरले भने मूल्य बढेको वेला पनि सेयर खरिद गर्छन् । त्यस्ता लगानीकर्ता घाटामा जान सक्छन् । यस्तो कार्य प्राय टे«डरहरुले गर्ने गर्छन । अल्पकालिन अवधिमा नाफा आर्जन गर्नु नै उनीहरुको मुख्य लक्ष्य रहेको हुन्छ । यस्ले पनि दीर्घकालमा ट्रेडरको भन्दा लगानीकर्ताले सेयर बजारबाट बढी प्रतिफल लिन सक्ने देखिएको छ ।
सेयर बजारमा मूल्यलाई विभिन्न कारणले प्रभावित पारिरहेको हुन्छ । सेयरको मूल्य कुनै एउटा कारणले मात्रै घटने वा बढ्ने हु“दैन । यसमा बजार मनोविज्ञानको पनि सबैभन्दा ठूलो भुमिका रहेको हुन्छ । त्यसैले सेयर खरिद गर्नुअघि लगानीकर्ताहरुले आफुले खरिद गर्न चाहेको कम्पनीको प्राविधिक र वित्तीय विश्लेषणलाई पनि हेनुपर्ने अहिले बजार बिज्ञहरुले बताउने गरेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा पनि सेयरको मूल्य २० प्रतिशत बढेमा त्यसले बुलिस बजारको संकेत दिने गरेको मानिन्छ भने घट्यो भने वियरिस तर्फ जान सक्ने आँकलन गरिन्छ । सेयर बजारमा सेयरको मूल्य कम्पनीको आधारभूूत विश्लेषणका आधारमा मात्र नभई वित्तीय रुपलाई पनि हेर्नुपर्छ । विभिन्न कारणले गर्दा अपवादको रुपमा प्राविधिक विश्लेषणले समर्थन नर्गन सक्छ । त्यस्तो वेला वित्तीय विवतरणले भुमिका खेल्न सक्छ । त्यसैले प्राविधिक र वित्तीय दुवै अवस्थाको सेयर बजारमा उत्तिकै भूमिका रहेको छ ।
एक दर्जन कम्पनी सेयर निस्कासनको पाइपलाइनमा
एक दर्जन कम्पनी सेयर निस्कासनको पाइपलाइनमा रहेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार भदौ ७ बिहीबारसम्म आईपीओ जारी गर्ने एक दर्जन कम्पनीले आवेदन दिएका छन् । १२ कम्पनीले कुल २ करोड ९६ लाख ८५ हजार ४८४ कित्ता आईपीओ बिक्री गर्न आवेदन दिएका हुन् । पब्लिक कम्पनीमा रुपान्तरण भई सर्वसाधारणमा सेयर जारी गर्न ती कम्पनीहरु स्विकृतीको पर्खाइमा रहेका छन् ।
बोर्डका अनुसार अनुमति माग्ने कम्पनीहरुमा सबैभन्दा धेरै सात वटा अन्य समुहमा सूचीकृत हुने कम्पनीहरु रहेका छन् । त्यस्तै तीन वटा जलविद्युत कम्पनी र दुई वटा उत्पादन तथा प्रशोधनमुलक समुहका कम्पनी रहेका छन् । बोर्डका अनुसार डिस मिडिया नेटवर्क लिमिटेडले सबैभन्दा धेरै १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता सेयर बिक्री गर्न खोजेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक अर्ब ३५ करोड ८५ लाख ९५ हजार ५०० रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले २०८० असार १२ गते आईपीओ ल्याउन निवेदन दिएको हो ।
यसैगरी दरम खोला हाइड्रो इनर्जी लिमिटेडले ३९ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ बिक्रीको अनुमति माग गरेको छ । उत्पादनमुलक समुहको सर्वात्तम सिमेन्टले २४ लाख कित्ता सेयर बिक्रीका लागि अनुमतिको पर्खाइमा रहेको छ । बुक बिल्डिङ प्रणालीबाट आईपीओ निष्कासन गर्न खोजेको कम्पनीले ५१० देखि ७५१ रुपैयाँ ५० पैसासम्मको बीचमा सेयर जारी गर्न खोजेको हो ।
यसैगरी आईपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेको अर्को कम्पनीमा सानिमा हाइड्रोपावर लिमिटेड रहेको छ । उक्त कम्पनी सानिमा ग्रपले प्रवद्र्धन गरेको कम्पनी हो । यसले स्थानीयबासी र सर्वसाधारणमा गरी कुल १४ लाख ७० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । ट्रेड टावरले ११ लाख ५८ हजार ९८० कित्ता आईपीओ बिक्री गर्न अनुमति मागेको बोर्डले जनाएको छ । मुक्तिनाथ कृषि कम्पनीले १४ करोड रुपैयाँ बराबरको आईपीओ ल्याउन खोजेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न २०७८ फागुन २० गते अनुमति माग्दै निवेदन पेश गरेको थियो । नेपाल वेयर हाउसजिङ अनुमतिको पर्खाइमा रहेको छ । उक्त कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो ।