
काठमाडौं । गत आर्थिक वर्ष २०७९–८० मा नेपालबाट करीब ४ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको छ । भन्सार विभागका अनुसार सो अवधिमा कुल ३ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करीब १५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा नेपालबाट ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको थियो ।
नेपालबाट चिया निर्यात हुने प्रमुख मुलुक ९ ओटा रहेका छन् । जसमध्ये पहिलो भारत रहेको छ । भारतमा सो अवधिमा ३ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ बराबरको चिया निकासी भएको छ, जुन कुल निर्यातको ८७ प्रतिशत हो ।
यसपछि दोस्रोमा रहेको अमेरिकामा १३ करोड ३५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । नेपाली चिया निकासी हुने अन्य मुलुकहरुमा जर्मनी, रसिया, चेक रिपब्लिक, नेदरल्यान्ड्स, फ्रान्स, जापान र अस्ट्रेलिया रहेका छन् ।