
काठमाडौं । नेपाल चामल तेल–दाल उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्ननिर्वाचन सहितको ४४ औं वार्षिक साधारण सभाले २ वर्षे कार्यकालका लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
उनले यस अगाडि पनि २ कार्यकाल संघको अध्यक्ष भई नेतृत्व प्रदान गरिसकेका थिए । संस्थाको निवर्तमान अध्यक्षमा डा. सुबोधकुमार गुप्ता, प्रथम उपाध्यक्षमा रामथापा, द्वितीय उपाध्यक्षमा राहुल अग्रवाल, महासचिवमा दीपककुमार पौडेल, उपमहासचिवमा धीरज गोल्छा, कोषाध्यक्षमा रतनलाल केडिया निर्वाचित भएका छन् ।
साधारणसभाले धान आयातमा १ प्रतिशत भन्सार दर कायम गर्नुपर्ने माग गरेको छ । त्यस्तै भारत सरकारले चामल निर्यातमा रोक लगाएको हुँदा नेपालमा चामलको अभाव हुन नदिन उद्योगीले सरकारसँग मिलेर उचित व्यवस्था गर्न भारत सरकारसँग धान आयातको लागि पहल गर्ने संघले जनाएको छ । नेपालमा धानको उत्पादन बढाउन नेपाल सरकारको सहयोगमा सरकार, व्यवसायी र किसान मिलेर त्रिपक्षिय सम्झौतामा काम गर्न पहल गर्ने पनि संघले जनाएको छ ।
त्यसैगरी कच्चा र तयारी दालमा कम्तिमा २ तहको आयात दर कायम गर्न पहल गर्ने, मुसुरो दाल विदेश निकासी गर्दा दिँदै आएको इन्सेन्टिभ कायम गर्न पहल गर्ने पनि संघले जनाएको छ । छिमेकी देश भारतले शून्य प्रतिशत महसुलमा गेडागुडी आयात गरी सोही गेडागुडी नेपालमा बिक्री गरिरहेको छ । यसले नेपाली उद्योगलाई प्रत्यक्ष असर गरिरहेकाले मूल्य समायोजनमा समस्या पर्ने गरेकाले तयारी दाल आयात रोक्न पहलगर्ने संघले जनाएको छ । दाल निकासीगर्दा लाग्ने प्रति के.जी रु.१ निकासीशुल्क हटाउन पहलगर्ने पनि संघले एजेन्डा बनाएको छ ।