काठमाडौं । चौधरी फाउण्डेसनले वीर अस्पतालमा आईसियू वार्ड स्थापना गरि हस्तान्तरण गरेको छ। कोभिड-१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नागरिकको उपचारमा योगदान पुर्याउन फाउण्डेसनले वीर अस्पतालमा आइसीयू वार्ड निर्माण गरेको हो। फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा आयोजित एक कार्यक्रममा कोभिड युनिफाइड केन्द्रिय अस्पताल वीर अस्पतालका प्रमुख कार्यकारी प्राडा.जागेश्वर गौतमलाई आइसीयू वार्ड हस्तान्तरण गरे। वीर अस्पताल, नयाँ भवनको पहिलो तलामा नौ र दोस्रो तलामा नौ शय्या गरि कुल १८ शैय्याको आइसीयू वार्ड निर्माण भएको छ।
फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले सर्वसाधारण नागरिकको उपचारमा सहज पहुँच भएको वीर अस्पतालमा आइसीयू वार्ड स्थापना गरिएको बताए। ‘कोरोनाबाट संक्रमित नागरिकको जीवन रक्षा गर्नु अहिले हाम्रो सबैभन्दा महत्वपूर्ण दायित्व हो। आइसीयू वार्ड स्थापना गर्न वीर अस्पताललाई छान्नुको उद्देश्य पनि यहि नै हो,’ अध्यक्ष चौधरीले भने।