२०८२ फाल्गुन २७ बुधबार

काठमाडौँ । चालु आर्थिक वर्षको एघार महिनामा करिब ३ खर्ब रुपैयाँ बराबरको थप धितोपत्र नेपाल स्टक एक्सेचेञ्ज (नेप्से)मा सूचीकृत भएका छन् । उक्त अवधिमा साधारण सेयर, विकास ऋणपत्र, डिबेञ्चर, बोनस सेयर, हकप्रद सेयर र सामुहिक लगानी कोष गरी कुल २ खर्ब ९९ अर्ब रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको हो ।

जसअनुसार १ खर्ब ७६ अर्ब १० करोड बराबरको साधारण सेयर, ४५ अर्ब बराबरको विकास ऋणपत्र, २९ अर्ब १९ करोड बराबरको डिबेन्चर, ३९ अर्ब ९ करोड बराबरको बोनस सेयर, ५ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र ४ अर्ब १३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल २ खर्ब ९९ अर्ब १ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको नेप्सेले जनाएको छ । गत जेठसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत ७ अर्ब २८ करोड कित्ता सेयरको चुक्ता मूल्य ७ खर्ब १८ अर्ब ४६ करोड रहेको छ ।

यस्तै, समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ४१ अर्ब ७७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । जसअनुसार ११ अर्ब ६० करोड बराबरको डिबेन्चर, १४ अर्ब १५ करोड बराबरको म्युचुअल फण्ड, १३ अर्ब ५ करोड बराबरको साधारण सेयर र २ अर्ब ९८ करोड बराबरको हकप्रद सेयर रहेको छन् ।

गत जेठसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६२.८ प्रतिशत रहेको छ । जलविद्युत् कम्पनीको हिस्सा १४.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.४ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.० प्रतिशत रहेको नेप्सेको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर