काठमाडौं । बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने कम्पनीको मूल्य निर्धारणका लागि योग्य संस्थागत लगानीकर्ताको संख्या १३५ पुगेको छ । नेपाल धितोपत्र बोर्डले जेठ ३० गतेसम्म विभिन्न चरणमा गरेर १३५ कम्पनीहरूलाई योग्य संस्थागत लगानीकर्ताको स्वीकृति प्रदान गरेको जानकारी दिएको हो ।
बोर्डबाट संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति पाएका कम्पनीहरूले बुक विल्डिङ मार्फत सार्वजनिक निष्कासनमा आउँने शेयरको आशय मूल्य तोक्न सहयोग गर्नेछन् । अहिलेको शेयर लिलामी प्रकृयाकै स्वरुपमा बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन हुने व्यवस्था छ । यो विधिमार्फत आईपीओ निष्कासन गर्दा योग्य संस्थागत लगानीकर्ताहरुबाट आशय मूल्य प्राप्त गर्नुपर्ने हुन्छ ।
आईपीओ निष्कासन गर्ने कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने हुन्छ ।
स्वीकृति प्राप्त गरेका योग्य संस्थागत लगानीकर्ताहरुले आईपीओ निष्कासन गरेको कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजनाका विषयमा अध्ययन पश्चात सूसुचित तवरले मूल्य पेश गरी उचित मूल्य निर्धारणमा सहयोग गर्नुपर्ने हुन्छ । मूल्य सीमा निर्धारण पश्चात संस्थागत लगानीकर्ताका लागि ४० प्रतिशत र सर्वसाधारणका लागि ६० प्रतिशत शेयर निष्कासन हुनेछ । संस्थागत लगानीकर्ताहरुले भने सूचीकृत भएको मितिले ६ महिनासम्म शेयर कारोबार गर्न सक्नेछैनन् ।
बुक विल्डिङ विधिमार्फत आईपीओको मूल्य निर्धारणमा सहभागी हुने योग्य संस्थागत लगानीकर्ताहरू नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुनुपर्नेछ । बुक विल्डिङ निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकताहरूलाई शिलबन्दी बोलकबोल मार्फत धितोपत्रमा आवेदन दिनका लागि नेप्सेले दर्ता हुन भनेको हो ।
हाल बुक विल्डिङ विधिबाट आईपीओ निष्कासनको तयारीमा सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेड रहेका छन् । दुबै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि निवेदन दिईसकेका हुन ।
सर्वोत्तम सिमेन्टले प्र्रतिकित्ता रू. ५०१ देखि ७५१ दशमलव ५० सम्मको मूल्य रेञ्जमा र रिलायन्स स्पिनिङ्ग मिल्सले प्रतिकित्ता रू. ६०८ देखि रू. ९१२ सम्मको मूल्य रेञ्जमा आईपीओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेका हुन । संस्थागत लगानीकर्ताका लागि ४० प्रतिशत आईपीओ विक्री गर्न अनुमति मागेका हुन । संस्थागत लगानीकर्तालाई विक्रीपछि यी कम्पनीले सर्वसाधारणमा आईपीओ विक्री गर्नेछन् ।















