काठमाडौं । पप्पु कन्स्ट्रक्सनसहित २३ कम्पनी कालोसूचीमा परेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुमगन कार्यालयले दुई दर्जन कम्पनीलाई कालो सूचीमा राखेको हो।
सो कालोसूचीमा परेकामा कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवन, पप्पु कन्स्ट्रक्सन, कोशी एण्ड न्यौपाने निर्माण सेवा, वाईपी कन्स्ट्रक्सन लगायत रहेका छन् ।
मोहोन न्यौपाने मुख्य व्यक्ति रहेको कलेज अफ इम्प्लोइमेन्ट प्रालि चितवनलाई उद्योग मन्त्रालय अन्तर्गतको ग्रामिण उद्यम तथा विप्रेषण आयोजना इटहरीको सिफारिसमा तीन वर्षसम्म कालोसूचीमा राखिएको छ ।
यसैगरी सुमित रौनियार नेतृत्वको पप्पु कन्स्ट्रक्सन प्रालि र भावेश बोहोरा नेतृत्वको कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालि दुई वर्षसम्म कालोसूचीमा परेका छन् ।
पप्पु–कोशी एण्ड न्यौपाने जेभीलाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखपरा र शहीद मार्ग सडक आयोजना लिवाङ रोल्पाले कालोसूचीमा राख्न सिफारिस गरेका थिए ।
त्यस्तै पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय र पुष्पलाल राजमार्ग आयोजना कार्यालय दैलेखको सिफारिसमा सुरेन्द्र प्रसाद श्रेष्ठ नेतृत्वको वाईपी कन्स्ट्रक्सन प्रालि ललितपुरलाई १ वर्ष ६ महिनासम्म कालोसूचीमा राखिएको छ ।















