२०८३ बैशाख १८ शुक्रबार

काठमाडौं । बैंक सञ्चालहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) ले बैंक तथा वित्तीय संस्थाको साख गिराउन गतिविधि गर्नेसँग कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।

बैंक तथा वित्तीय संस्था र ती संस्थाका सम्पत्ति, साख एवम् कार्यरत कर्मचारीहरुको विरुद्धमा विभिन्न व्यक्ति, संस्था तथा समूहहरुबाट विगत केही समयदेखि निरन्तर रुपमा गैरकानुनी गतिविधिहरु भएको निष्कर्ष परिसंघले निकालेको छ ।

कुनै पनि व्यक्ति, समूह वा संघ–संस्थाको आवरणमा बैंक वित्तीय संस्थामाथि कुनै पनि किसिमको हानी नोक्सानी पुर्‍याउनेलाई मुद्दा चलाउने तथा प्रचलित कानुनको अधिनमा रही हदैसम्मको कारबाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिने निर्णय भएको परिसंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैंकमा कार्यरत कर्मचारी, बैंक वित्तीय संस्थाको साख, गरिमा, विश्वसनियता वा सम्पत्तिमा हानि नोक्सानी पुर्‍याउने, बैंकिङ व्यवसायमा अवरोध सिर्जना गर्नेमाथि कानुनी उपचार खोज्ने निर्णय भएको परिसंघले जनाएको छ ।

‘बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने, बैंक वित्तीय संस्थाहरुबाट लिएको कर्जाको सावाँ ब्याज नतिर्न दुरुत्साहन गर्ने जस्ता प्रचलित कानुनबाट बर्जित क्रियाकलापहरु गर्नेविरुद्ध मुद्दा चलाउने तथा हदैसम्मको कारबाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिने निर्णय भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाहरुको हकहित संरक्षणको लागि प्रचलित कानुनले दिएको अधिकार प्रयोग गर्न सबै बैंक वित्तीय संस्थाहरु पूर्ण रुपमा एकताबद्ध, प्रतिबद्ध र दृढ संकल्पित रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर