काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को नौ महिना (साउनदेखि चैतसम्म) मा नेपालको आयात निर्यात दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरको तथ्यांकअनुसार निर्यात २६.३४ प्रतिशतले घट्दा आयात १८.०८ प्रतिशतले घटेको छ ।
तथ्यांकअनुसार नौ महिना अवधिमा १ खर्ब १८ अर्ब २७ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा नेपालले निर्यात गरेको छ । तर, गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा भने नेपालले १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो ।
त्यस्तै गत नौ महिनामा नेपालको आयात पनि घटेको छ । भन्सार विभागकाअनुसार यो अवधिमा १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँबराबरका वस्तु तथा सेवा आयात भएको छ भने गत वर्ष सोही अवधिमा १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँबराबरका वस्तु तथा सेवा आयात गरेको थियो ।
नौ महिनामा नेपालको व्यापार घाटा १७.०६ प्रतिशतले घटेको छ । यो अवधिमा नेपालले १० खर्ब ८३ अर्ब २२ करोड रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ । तर, गत वर्ष सोही अवधिमा नेपालले १३ खर्ब ६ अर्ब ८ करोड रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको थियो ।
त्यस्तै, यस अवधिमा वैदेशिक व्यापार १८.८९ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्ष नौ महिनामा १३ खर्ब १९ अर्ब ७८ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । गत वर्ष सोही अवधिमा १६ खर्ब २७ अर्ब २३ करोड रुपैयाँबराबर वैदेशिक व्यापार भएको थियो ।















