२०८० जेष्ठ १८ बिहीबार

बैंक तथा वित्तीय संस्थाविरुद्ध शृंखलाबद्ध आन्दोलन भइरहेको छ । व्यवसायीका विभिन्न छाता संगठनको नेतृत्व गरिरहेका र बैंकको अर्बौं ऋण चलाइरहेका ठूला व्यवसायीहरु समेत आन्दोलनमा छन् । ब्याजदर घटाउनुपर्ने माग उनीहरूको छ । साथै ऋण नतिरेर वा यस्तै किसिमका अन्य गतिविधि गरेर बैंकिङ अपराधको सूचीमा पर्नेको संख्या हरेक महिना उकालो चढिरहेको छ । यही सेरोफेरोमा रहेर सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासँग हिमालप्रेसका लागि मस्त केसीले गरेको कुराकानी समय सान्दर्भिक ठानेर साभार प्रस्तुत गरिएको छ :

ब्याजदर चर्को भएको भन्दै ठूला व्यवसायीसमेत बैंकविरुद्ध आन्दोलनमा छन् । पछिल्लो वर्ष ब्याजदर महँगो हुनुको कारण के हो ?
पहिलो कुरा जसले बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गरिरहेका छन् उनीहरूलाई मेरो प्रश्न– सय रुपैयाँमा समान किनेर ९० मा बेचिरहनुभएको छ ? पक्कै छैन । हरेक व्यवसायीले किनेको मूल्यमा सबै खर्च छोडेर निश्चित फाइदा राखेर बेच्ने हो । यो उदाहरण बैंकमा पनि लागू हुन्छ । दोस्रो कुरा बैंकको मुख्य काम आमनागरिकले जम्मा गरेको निक्षेपको सुरक्षा गर्नु हो । जुन निक्षेपको हामी ब्याज दिन्छौँ, त्यसमा केही थप जोडेर ऋणको ब्याज तय हुन्छ । त्यसमा पनि राष्ट्र बैंकले यो चैतसम्म ब्याजदरको फरक ४.२ प्रतिशतभन्दा बढी हुन पाइँदैन भनेको छ । असारमा अझै घटेर ४ प्रतिशत पुग्छ । योभन्दा बढी लिन पाइँदैन । यसरी राष्ट्र बैंकको नीतिमै रहेर तय भएको ब्याजदरलाई बैंक आफैँले बढाए भनेर हल्ला फैलाउनु गलत हो ।

नेपाल राष्ट्र बैंकको मापदण्ड भित्र हुँदाहुँदै पनि बचतकै ब्याजदर उच्च भएको त सत्य हो नि ?
नेपालमा उपभोग्य वस्तुको उत्पादन ज्यादै न्यून छ । उत्पादन कमी भएकै कारण हामी हरेक चिज किनेर उपभोग गर्छौँ । यसरी हाम्रो पैसा डलरमा रूपान्तरण भएर बाहिर गइरहेको छ । परिणामस्वरूप स्वदेशमा नगद प्रवाह कम भयो । स्वाभाविक रूपमा जुन चिज कम हुन्छ, त्यसको मूल्य बढी हुन्छ । अर्थशास्त्रको यही सामान्य नियमका कारण बचतको ब्याजदर बढी भएको हो । उदाहरणका लागि सन्राइज बैंकका २१ हजार ऋणी छन् भने १० लाख बढी निक्षेपकर्ता छन् । १० लाखको पैसा २१ हजारले चलाएका हुन् । बैंक त माध्यम मात्रै हो । १० लाख ग्राहकको निक्षेप सुरक्षित राख्ने र चाहेका बेला साँवा, ब्याज फिर्ता गर्ने जिम्मेवारी बैंकको हो । त्यसैले ब्याजदर केही महँगो भएको हो । यो हामीले होइन, बजारले निर्धारण गरेको हो ।

तर ब्याजदर त वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरू संलग्न नेपाल बैंकर्स संघले निर्धारण गर्दै आएको छ नि ?
संघले ब्याजदर तोकेन भने भोलि नै ब्याजदर १५/१६ प्रतिशतभन्दा माथि जान्छ । निक्षेपकै ब्याज त्यो बिन्दु पुग्दा कर्जाको ब्याज कति पुग्ला ? यो खालको डरलाग्दो अवस्था नआओस् भनेरै संघले ब्याजदर निर्धारण गर्दै आएको हो । बैंकिङ प्रणालीमा पर्याप्त पैसा भएका बेला त संघले खुला छोडेकै छ नि ।

बैंकविरुद्धका आन्दोलनले कस्तो प्रभाव पारेको छ ?
समाजमा हुने हरेक गतिविधिले सम्बन्धित क्षेत्रलाई असर गर्छ नै । तर अहिले जो आन्दोलनमा हुनुहुन्छ, उहाँहरूलाई बैंक नचाहिएको हो कि ? समग्र समाजका साथै उहाँहरूको आर्थिक उन्नति गर्न त बैंक आवश्यक छ । अर्को कुरा आन्दोलनको अग्रमोर्चामा रहेका व्यक्तिहरूले नै बैंकबाट अर्बौँ ऋण लिएका छन् । त्यसैले स्पष्ट छ, आन्दोलनमा होमिएका धेरैले आफ्नो व्यक्तिगत स्वार्थ हेरेका छन् । यतिबेला विभिन्न संघसंस्थाको निर्वाचन नजिकिएको छ, बैंकलाई गाली गर्दा उहाँहरूको भोट बढ्न सक्छ । कारण जेसुकै भए पनि बैंक तथा वित्तीय संस्थाजस्ता संवेदनशील क्षेत्रविरुद्ध आवाज उठाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नु दुःखद् हो । आन्दोलनका नाममा फैलाइएका अफवाहले बैंकलाई तत्काल ठूलो असर नगर्ला तर यस्ता गतिविधिले भोलिका दिनमा कसैलाई पनि फाइदा गर्दैन ।

अमेरिकाजस्ता देशमा केही बैंक टाट पल्टिएका छन् । परिस्थिति फरक भए पनि हाम्रा बैंक कति सुरक्षित छन् ?
अमेरिका र हाम्रो अवस्था बिल्कुल फरक हो । अमेरिकाको सिलिकन भ्याली बैंक कर्जा बिग्रिएर संकटमा परेको होइन । धेरै भएको निक्षेप सरकारी ऋणपत्रमा लगानी हुँदा र बजारको ब्याजदर ऋणपत्रभन्दा माथि हुँदा समस्या देखिएको हो । तर पनि सिलिकनको साँवा हराएको छैन । अहिले देखिएको समस्या तत्कालिक हो । त्यही समस्याले गर्दा निक्षेपकर्ताले पैसा झिक्न थाले । घरजग्गामा धेरै लगानी गरेको हुँदा सिग्नेचर बैंकमा समस्या देखिएको हो । नेपालका सन्दर्भमा केन्द्रीय बैंकको मापदण्ड कडा छ । कर्जा–निक्षेप अनुपातदेखि बहुआयमिक क्षेत्रमा भएको लगानी हेर्दा हामी निकै सुरक्षित छौँ ।

तर बैंकको खराब कर्जाको दर उकालो लाग्दो छ नि ?
अहिले समग्र प्रणाली हेर्दा खराब कर्जा ३ प्रतिशत हाराहारी छ । स्टेट बैंक अफ इन्डिया (एसबीआई) को सन् २०१८ मा खराब कर्जा १०.९१ प्रतिशत पुगेको थियो । २०१७ मा आईसीआईसीको ८ प्रतिशत हाराहारी थियो । तर यी दुवै डुबेनन् । खराब कर्जालाई मात्रै आधार बनाउनु हुँदैन । व्यवसाय गर्ने वातावरण नहुँदा, पर्याप्त तरलता नहुँदा, संस्थागत विश्वसनीयता गुम्दा अर्थतन्त्रमा समस्या देखिएको हो । यसले बैंकको खराब कर्जाको दर थोरै बढाएको छ । कालोसूचीमा त ऋण नतिर्ने मात्रै होइनन्, अन्य बैंकिङ गतिविधिले पनि पर्छन् । त्यसैले आत्तिनुपर्ने केही छैन । हाम्रा बैंक सबै कोणबाट सुरक्षित छन् ।

पछिल्लो एक वर्षमै धेरै बैंक मर्जरमा गए । यसले बैंक बलिया त बने तर साना उद्यमीको पहुँचभन्दा बाहिर गए भन्न मिल्छ कि मिल्दैन ?
स–साना लगानीका लागि अन्य वित्त कम्पनीहरू छन् । वाणिज्य बैंकहरूले पनि साना तथा मझौला व्यवसायमा पर्याप्त लगानी गरेका छन् । शाखाकै हिसाबले वाणिज्य बैंकहरू ७५२ स्थानीय तहमा पुगेका छन् । हाम्रै सन्राइज बैंकले कुल कर्जाको ७ प्रतिशत साना ऋणीलाई दिएको छ । हामीले गरेका १५ लाखभन्दा मुनिका लगानी ८ अर्ब हाराहारीको छ । महत्वपूर्ण कुरा मर्जरले केही व्यापारिक घरानाको पकडबाट बैंकिङ क्षेत्रलाई बाहिर ल्याएको छ । फरक–फरक बैंक एक हुँदा जनशक्ति व्यवस्थापन, ऋणको गुणस्तर, ब्रान्डमा अनावश्यक खर्चलगायत कुरा पनि छन् ।

मर्जरमा गएर पुँजी बढाएका बैंक ठूलो लगानी गर्न सक्ने अवस्थामा छन् कि छैनन् ?
बैंक जनताको पैसा लिएर बनेको हो । सक्षम भए पनि एउटै ‘प्रोजेक्ट’ मा ठूलो लगानी गर्न समस्या हुन्छ । धेरै क्षेत्रमा कर्जा लगानी बाँडिँदा बैंक कम जोखिममा हुन्छ । त्यसैले हामी सकभर एउटै परियोजनामा मात्रै केन्द्रित हुँदैनौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय