काठमाडौं । विगत १० महिनामा नेपाल आयल निगमले १३ पटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । यति हुँदा पनि गत बर्ष १२ अर्व नाफा कमाएको निगमलाई यो बर्ष २ अर्व ५० करोड नोक्सान भएको छ । गत साउन महिनामा पेट्रोलको मूल्य प्रति लिटर १०४ रुपैयाँ मात्र थियो । निगमले गत साउनदेखि जेठको दोस्रो सातासम्म अन्तर्राष्ट्रिय मूल्य समायोजनको नाममा १३ पटकसम्म मूल्य बृद्धि गर्दा पेट्रोलको मूल्य १ सय २५ रुपैयाँ पुगेको हो । गत मंसिर महिनासम्म डिजेल प्रतिलिटर ९१ रुपैया कायम रहेको थियो । अहिले डिजेलको मूल्य बढेर १०८ रुपैयाँ पुगेको छ । गत बर्ष ६४ रुपैयाँ रहेको हवाई इन्धनको मूल्य अहिले बढेर ८० रुपैयाँ पुगेको छ । वर्षभर नै पेट्रोलियम पदार्थको मूल्य बढाउँदा पनि निमग यो बर्ष मासिक १ अर्ब २० करोड नोक्सानमा रहेको छ । यो बर्ष १३ पटकसम्म मूल्य बढाउँदा पनि निगमले हालसम्म साँढे दुई अर्ब रुपैया नोक्सानी खाएको छ । नेपाल आयल निमगका अनुसार निगमलाई पेट्रोलमा ५ रुपैयाँ नोक्सानी छ भने डिजेलमा साँढे ३ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २ सय ५८ रुपैयाँ नोक्सानी छ ।
बिश्वब्यापी कोरोना भाइरसको महामारी र लकडाउनको कारण अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा खासै चाप परेको छैन । पाँच बर्ष बर्ष अघि अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रति ब्यारेल १ सय ३८ अमेरिकी डलर कायम रहेको थियो । हाल बिश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रति ब्यारेल ७१ अमेरिकी डलर छ । बिश्व बजारमा प्रति ब्यारेल पेट्रोलियम पदार्थमा मूल्य घट्दा नेपालमा लगातार पेट्रोलियम पदार्थको मूल्य बृद्धि हुुनुमा निगमको एकाधिकार र आन्तरिक ब्यवस्थापन जिम्मेवार रहेको उपभोक्ता अधिकारकर्मीको गुनासो छ । गत बर्षको लकडाउन र कोरोनाको महामारीको समयमा पनि निगमले १२ अर्ब रुपैयाँ नाफा कमाएर कर्मचारीले बोनस खाएका थिए । तर यो बर्ष निगमले लगातार मूल्य बढाउँदा पनि अन्तराष्ट्रिय बजार मूल्यको कारण नोक्सानी भएको जनाएको छ ।