
काठमाडौं । देशको संघीय राजधानी काठमाडौंको रिङरोडभित्र खाली जग्गा भेट्याउन मुस्किलै पर्ला । अब खाली जग्गा भेट्याउन मुख्य शहरी क्षेत्रबाट कम्तिमा पाँच/सात किलोमिटर बाहिर निस्कनुपर्छ । पछिल्लो समय काठमाडौंको कुन क्षेत्रमा घरजग्गा किनबेच र कित्ताकाट मौलाइरहेको छ त ?
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले उपत्यकाको काँठ क्षेत्रमा घरजग्गा किनबेच बढिरहेको देखाउँछ । मुख्य शहरी भेगमा किनबेच घट्दै गइरहेको डिल्लीबजार मालपोत कार्यालयको तथ्यांक हेर्दा थाहा हुन्छ । जग्गाको कित्ताकाट पनि उपत्यकाको कुनाकाप्चातिर धेरै हुन थालेको छ । भित्ता खोस्सिएर कित्ताकाट गर्नेले उपत्यकाका डाँडाकाँडा फुस्सै बनाइसकेको देखिन्छ ।
आज हामी तपाईंलाई उपत्यकाको कुन कुन ठाउँमा कित्ताकाट बढिरहेको छ भनेर तथ्यांकसहित जानकारी गराउँदै छौं । उपत्यकामा रहेका नौवटा मालपोत कार्यालयको तथ्यांक हेर्दा लगनखेल मालपोतबाट सबैभन्दा धेरै कित्ताकाट भएको देखिन्छ । ०७९ को ११ महिनामा लगनखेलबाट २४ हजार दुई सय जग्गा कित्ताकाट भएका छन् । खासगरी, दक्षिण ललितपुरमा रहेको खाली जग्गा धमाधम कित्ताकाट भइरहेको तथ्यांकले देखाउँछ ।
भक्तपुरमा ११ महिनामा १४ हजार ३२९ जग्गा कित्ताकाट भएको छ । अझै पनि भक्तपुरमा जग्गाको मूल्य कम हुनुका साथै खाली जग्गा पनि रहेको हुनाले कित्ताकाट बढी भएको हो । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा मात्रै ६ वटा मालपोत कार्यालय रहेका छन् । छवटै मालपोत कार्यालयको तथ्यांक जोड्ने हो भने ११ महिनामा ३९ हजार ७७१ जग्गा कित्ताकाट भएका छन् ।
तर, ६ वटा मालपोत कार्यालयको तथ्यांक छुट्टाछुट्टै हेर्दा कलंकी र साँखु मालपोत कार्यालयले हेर्ने क्षेत्रमा धेरै कित्ताकाट भएको देखिन्छ । उपत्यकामा भएको कुल कित्ताकाटमध्ये कलंकीबाट १६ र साँखुबाट १५ प्रतिशत कित्ताकाट भएका छन् । कलंकी मालपोतअन्तर्गत दहचोक, थानकोट, मातातिर्थ, किर्तिपुर, कलंकी क्षेत्र, दक्षिणकालीसम्म पर्छन् ।
पछिल्लो समय कित्ताकाट र प्लटिङको काम सबैभन्दा धेरै यीनै क्षेत्रमा भइरहेको तथ्यांकले देखाउँछ । भक्तपुर जिल्लामा रहेको एउटामात्र मालपोत कार्यालयबाट जम्मा कुल कित्ताकाटको १७ प्रतिशत हिस्सा समेटेको छ । दक्षिण ललितपुरमा कित्ताकाट र किनबेच बढेको हुँदा कुल कित्ताकाटको ३० प्रतिशत हिस्सा ओगटेको छ ।
उपत्यकामै सबैभन्दा महंगा प्रोपर्टी किनबेच गराउने डिल्ली बजार मालपोत कार्यालयबाट कुल कित्ताकाटको २ प्रतिशतमात्र कित्ताकाट भएको विभागको तथ्यांकले देखाउँछ ।
कुन मालपोतबाट कति कित्ताकाट
११ महिनामा लगनखेलबाट २४ हजार दुई सय, गोटिखेलबाट १६०, भक्तपुरबाट १४ हजार ३२९, डिल्लीबजारबाट १८ सय ११, चावाहिलबाट ७ हजार ६८३, कलंकीबाट १२ हजार ९०३, साँखुबाट १२ हजार ३९६, मनमैजुबाट ४ हजार ९७८ र टोखाबाट ३ हजार ७३२ जग्गा कित्ताकाट भएका छन् ।
उपत्यकामा कुन महिना कति कित्ताकाट
उपत्यकामा रहेका नौवटा मालपोत कार्यालयको तथ्यांक हेर्दा वैशाखमा १३ हजार २३४ र जेठमा १५ हजार ७२१ कित्ताकाट भएका छन् । २३ जेठमा भूउपयोग नियमावली २०७९ जारी भएपछि कित्ताकाटमा कडाई भएको थियो ।
असारमा ७ हजार ७७९, साउनमा ३ हजार २९, भदौमा ५ हजार ५१३, अशोजमा ४ हजार ३४६, कार्तिकमा ३ हजार ७५५, मंसिरमा ५ हजार ८१८, पुसमा ७ हजार ५०६, माघमा ६ हजार ९४७ र फागुनमा ८ हजार ५४४ कित्ताकाट भएको विभागले जनाएको छ । अहिले उपत्यकामा रहेका २१ वटै पालिका जग्गा वर्गीकरण टुंग्याएर सबैतिर कित्ताकाट खुला भइसकेको छ ।