काठमाडौँ । ई-व्यापार संघ नेपालले हाल काठमाडौं उपत्यकामा निषेधाज्ञाका क्रममा लगाइएका हाेम डेलिभरीलगायत सेवामाथिका प्रतिबन्धप्रति आपत्ति जनाएको छ । सम्बन्धित अधिकारीहरूसँग पटक-पटक छलफल गरे पनि जेठ ३१ गतेसम्मका लागि थप गरिएको निषेधाज्ञाले होम डेलिभरीलाई सहज पार्ने प्रावधानहरूलाई पर्याप्त मात्रामा ध्यान नदिएको संघकाे भनाइ छ । कार्य अवधि बिहान ९ बजेसम्म सीमित गर्नु र अत्यावश्यक उत्पादनहरूको परिभाषामा कुनै फेरबदल नगर्नुमा संघले आपत्ति जनाएको हाे । यसले उपभोक्ताका साथै ई-वाणिज्य प्लेटफर्मसँग सम्बद्ध हजारौं साना र मध्यम व्यवसायलाई नकारात्मक असर पार्ने संघकाे भनाए छ।
ई-व्यापार संघका अध्यक्ष सागर भट्टराई भन्छन्, “सरकारले लगाएको सुरक्षा उपायहरू (२ मिटर दूरी कायम राख्नु, डिलिभरी कामदारहरूलाइ सेनिटाइजर, ग्लोभ्स र मास्कले सुसज्जित गर्नु; उनीहरूको स्वास्थ्यलाई निरन्तर अनुगमन गर्नु) लाई ई-व्यापार संघ र यसका सदस्य कम्पनीहरूले सधैं अनुसरण गर्दै आएका छन् । हामी सर्वसाधारणलाई एक सुरक्षित विकल्प प्रदान गर्दछौं । सबै सामानहरूको होम डेलिभरी सेवालाई अनुमति दिनाले भाइरस फैलनबाट रोक्न मद्दत गर्दछ । यसले ई-व्यवसायमार्फत सञ्चालित धेरै साना र मध्यम व्यवसायीका कष्टहरू कम गर्दछ र अर्थव्यवस्थालाई निरन्तरता दिन्छ । यसैले म सरकारलाई सम्पूर्ण समाजको भलाइका लागि हाम्रा आग्रहहरुलाई सम्बोधन गर्न आग्रह गर्दछु ।”
महामारीको चापलाई कम गर्न लगाएको लकडाउन एक महिनाभन्दा बढी भैसकेकोले स्टेशनरी, मोबाइल र कम्प्युटरजस्ता सामग्रीहरु उपभोक्ताका लागि खाना र कपडाजत्तिकै आवश्यक भएको संघकाे ठहर छ । यद्यपि, सरकारले विद्यार्थी, कर्मचारी र समाजका अन्य सदस्यहरूका आवश्यकतालाई सम्बोधन गर्न पर्याप्त कदम नचालेकाे भन्दै संघले आपत्ति जनाएको छ । ‘धेरै व्यवसायहरू यस प्रतिबन्धबाट नकारात्मक रूपमा प्रभावित भएका छन् । यदि ई-वाणिज्य कम्पनीहरूलाई केहि उत्पाद समूहहरूमा सीमित नराखी पूर्ण रुपमा वितरण सेवा संचालन गर्न अनुमति दियो भने, यो समस्या समाधान हुन सक्छ साथै उपभोक्ताहरूको सुरक्षा सुनिश्चित गर्न सहयोग गर्छ,’ संघद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ । ई-व्यापार संघका अनुसार ईकमर्स र होम डेलिभरी सेवाहरूमा सीमित कार्य अवधि लागू गर्नु र चाहिने सामग्रीहरुको उपलब्धतामा रोक लाउनु भनेको अन्तर्राष्ट्रिय उत्तम अभ्यासहरूलाई पूर्ण रुपमा बेवास्ता गर्नु हो । यसैले सरकारले होम डेलिभरी सेवालाई सुचारू राख्नेतर्फ जोड दिनुपर्ने संघकाे भनाइ छ ।