२०८३ बैशाख २० आईतवार

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गरेका छन् । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जर्भोससहितको प्रतिनिधिमण्डलसँग शुक्रवार औपचारिक भेटवार्ता गर्दै अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरेका हुन् ।

चालू आर्थिक वर्षमा विश्व बैंकबाट बजेटरी सहायता प्राप्त हुने गरी स्रोत सुनिश्चितता भएका योजना तथा कार्यक्रमका लागि आवश्यक पूर्वकार्य पूरा गर्न अर्थ मन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि पौडेलले व्यक्त गरेका छन् । आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

‘विश्व बैंकको सहायतामा सञ्चालित आयोजनामा देखिएका समस्याको कारण पहिचान गरी समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कमजोरी र गुनासा नआओस् भन्नेतर्फ आफूले ध्यान दिएको बताउनुभएको छ,’ पौडेलको सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ ।

विभिन्न क्षेत्रमा विश्व बैंकले गरेको सहयोगको प्रशंसा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले माथिल्लो अरुण, ग्रामीण सडकलगायत आयोजना नेपालको प्राथमिकतामा रहेको जानकारी गराएका छन् । विश्व बैंकसँगको सम्बन्ध अझ घनिष्ठ हुने र सहकार्यले थप उचाइ लिने विश्वास व्यक्त गर्दै अर्थमन्त्री पौडेलले आयोजना सफल बनाउन राजनीतिक नेतृत्वको सहयोग हुने बताए ।

विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जर्भोसले अर्थमन्त्री पौडेलको कार्यशैलीप्रति आफू जानकार र प्रभावित रहेको उल्लेख गर्दै विश्व बैंकको सहायतामा सञ्चालित आयोजना प्राथमिकतामा पर्ने विश्वास व्यक्त गरेका छन् । उनले विश्व बैंकको सहायतामा सञ्चलित आयोजनामा देखापरेका समस्या समाधानका लागि सहजीकरण गर्न उपप्रधान तथा अर्थमन्त्री पौडेललाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर