२०८२ श्रावण २ शुक्रबार

काठमाडौं । समग्र अर्थतन्त्रमा मन्दी छाएसँगै बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा क्षेत्रमा प्रवाह गर्ने कर्जामा पनि ठूलो संकुचन आएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा गत वर्षको सोही अवधिको तुलनामा घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जा ९२.३ प्रतिशतले घटेको छ ।

यस वर्षको पाँच महिना (साउन–मंसिर) मा घरजग्गा क्षेत्रमा दुई अर्ब ९६ करोड रुपैयाँमात्र कर्जा प्रवाह भएको छ । जबकी गत वर्षको सोही अवधिमा ३८ अर्ब ५७ करोड रुपैयाँ घरजग्गामा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

तरलता अभाव, चर्को ब्याजदर, महंगी लगायत कारणले घरजग्गा कारोबार सुस्ताएको छ । लगानीयोग्य रकम नहुँदा बैंकले कर्जा प्रवाह गर्नै सकेका छैनन् । र, चर्को ब्याजदरका कारण बैंकबाट ऋण लिएर घरजग्गा खरिद गर्ने ग्राहक पनि घटेका छन् । पाँच महिनामा व्यक्तिगत आवासीय कर्जातर्फ ८ अर्ब २५ करोड रुपैयाँ प्रवाह भएको छ । गत वर्षको सोही अवधिमा १५ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

चालु आवको पहिलो पाँच महिनामा कमर्शियल रियलस्टेटतर्फ प्रवाह हुने कर्जा ऋणात्मक देखिएको छ । अर्थात् पछिल्लो महिना कमर्शियल रियलस्टेटमा प्रवाह हुने कर्जा करिव शून्यजस्तै छ भने त्यस क्षेत्रमा प्रवाह भएको पुरानो कर्जा उठ्ती ज्यादा छ । जसले गर्दा रियलस्टेट कर्जा ५ अर्ब २९ लाख ऋणत्मक देखिएको छ ।

राष्ट्र बैंकले डेढ करोडसम्मको कर्जालाई व्यक्तिगत आवासीय कर्जामा गणना गर्छ । डेढ करोडभन्दा बढीको कर्जा रियलस्टेट कर्जामा गणना हुन्छ । चालु आर्थिक वर्षको सुरुवाती महिना साउन, भदौतिर घरजग्गा क्षेत्रमा कर्जा प्रवाह भएता पनि पछिल्ला महिनामा ठप्पजस्तै छ । अर्थात् कर्जा प्रवाह भन्दा पुरानो ऋण असुली धेरै भइरहेको तथ्यांकले देखाउँछ ।

राष्ट्र बैंकका अनुसार चालु आवको साउन र भदौमा घरजग्गा क्षेत्रमा १८ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । मंसिरसम्म आइपुग्दा घरजग्गा कर्जा घटेर दुई अर्ब ९६ करोडमा खुम्चिएको छ ।

पाँच महिनामा रियलस्टेटतर्फ प्रवाह भएको कर्जामध्ये रेसिडेन्सियल रियलस्टेट (डेढ करोडसम्मको व्यक्तिगत आवासीय कर्जावाहेक)मा ४ अर्ब ८४ करोड, कमर्शियल कम्पलेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माणमा ३६ करोड, आम्दानी सिर्जना गर्ने कमर्शियल कम्पलेक्समा १७ करोड कर्जा प्रवाह भएको छ ।

कमर्शियल रुपमा जग्गा खरिद, प्लटिङ लगायत अन्य रियलस्टेट कर्जा १० अर्ब ६८ करोड रुपैयाँ ऋणात्मक छ । यसको मतलब, पछिल्लो समय कमर्शियल रुपमा जग्गा खरिद गर्न र प्लटिङ गर्न ऋण प्रवाह रोकिएको छ । तर, पुरानो कर्जा असुली भने भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर