
काठमाडौं। अवैध रूपमा भित्रिएका मोबाइल सेटलाई काम नगर्ने बनाउने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) साउन एक गतेदेखि कार्यान्वयनमा ल्याउने घोषणा सरकारले गरेको छ। जेठ २०७८ बाटै एमडीएमएस सञ्चालनमा ल्याउने तयारी गरेको नेपाल दूरसञ्चार प्राधिकरणले निषेधाज्ञाका कारण आवश्यक जनशक्ति र उपकरणहरु प्राप्त हुन नसकेकाले काम सकिने मिति अनिश्चित बनेको छ। तर, सरकारले बजेट वक्तव्यबाटै साउन १ गतेदेखि कार्यान्वयनमा ल्याउने जनाएको छ। प्राधिकरणले एमडीएमएसलाई आवश्यक भवन चाबहिलमा निर्माण गरिरहेको छ। प्राधिकरणले गत माघमा मात्रै प्रिफ्याब स्ट्रक्चर भवनको ठेक्का किरातेश्वर कन्स्ट्रक्सन एण्ड ड्रिलिङ कम्पनी प्रालिलाई दिएको थियो। भवन बनाउन दुई करोड ८० लाख रुपैयाँमा प्राधिकरणले ठेक्का दिएको हो। करिब तीन रोपनी क्षेत्रफलमा रहेको चाबहिलको जग्गामा एमडीएमएस भवन रहनेछ।