२०८२ मंसिर २१ आईतवार

काठमाडौं – नेपालको दूरसञ्चार बजार पछिल्लो पाँच वर्षयता खासै विस्तार हुन सकेको छैन। यस अवधिमा एक वर्षमात्र अलि वृद्धि देखिए पनि समग्रमा बजार घटेको छ। नेपाल दूरसञ्चार प्राधिकरणका तथ्यांक अनुसार पछिल्ला पाँच वर्षदेखि यो बजार ९० अर्ब रुपैयाँको वरिपरि सीमित रहँदै आएको छ। कुनै समय एक खर्ब नाघेको दूरसञ्चार बजार अहिले ९० अर्बमै सीमित भएको हो।

आर्थिक वर्ष २०७६/७७ मा कुल कारोबार ९२ अर्ब ५७ करोड रुपैयाँ थियो। त्यसपछि २०७८/७९ मा बढेर ९८ अर्ब पुगे पनि पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा घटेर पुनः ९० अर्बमा सीमित भएको छ — अर्थात् पाँच वर्षमा बजार ९२ अर्बबाट घटेर ९० अर्बमा झरेको छ।

समग्र कारोबार स्थिर रहँदा पनि बजारको बनावटमा भने ठूला परिवर्तन भएका छन्। प्राधिकरणका अनुसार उच्च नियमाकीय शुल्क तिर्ने र पूर्वाधारमा ठूलो लगानी गर्ने टेलिकम कम्पनीहरूले पछिल्ला वर्षहरूमा आफ्नो बजार हिस्सा गुमाएका छन्। पाँच वर्षमा मात्र टेलिकम कम्पनीको बजार हिस्सा १६ प्रतिशतले घटेको छ।

२०७६/७७ मा टेलिकम कम्पनीहरूको कुल कारोबार ८१ अर्ब २० करोड रुपैयाँ थियो, जुन कुल बजारको ८८ प्रतिशत थियो। त्यस समयमा इन्टरनेट सेवा प्रदायक (ISP) ले ११ अर्बको कारोबार गरेका थिए। तर अहिलेको अवस्थामाअनुसार ISPहरूले ९३ प्रतिशत वृद्धि गर्दै २०८०/८१ मा २१ अर्ब ९४ करोड रुपैयाँको कारोबार गरेका छन्। सोही अवधिमा टेलिकम कम्पनीहरूको कारोबार घटेर ६८ अर्ब ११ करोडमा सीमित भएको छ।

हाल आइएसपी बजारमा अग्रणी कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले मात्रै १० अर्बभन्दा बढीको कारोबार गरेको छ। तुलनात्मक रूपमा न्यून नियामक शुल्क र सीमित पूर्वाधार लगानीका कारण आइएसपीहरूले द्रुत गतिमा बजार विस्तार गर्न सकेका छन्, जबकि टेलिकम कम्पनीहरू उच्च शुल्क र घट्दो आम्दानीका कारण आर्थिक दबाबमा परेका छन्। यही कारणले उनीहरू फाइभजीजस्ता नयाँ प्रविधिमा लगानी गर्न असक्षम देखिँदैछन्।

नेपालमा हाल दुईवटा प्रमुख टेलिकम कम्पनी छन् — एउटा सरकारी स्वामित्वको नेपाल टेलिकम र अर्को निजी क्षेत्रको। दुबै कम्पनी पछिल्ला वर्षहरूमा आर्थिक संकटसँग जुधिरहेका छन्। तथ्यांकले देखाउँछ, यी कम्पनीहरू सेवाको गुणस्तर सुधार गर्न आवश्यक लगानी जुटाउन पनि कठिनाइमा छन्।

नेपाल टेलिकमको पछिल्लो वित्तीय प्रतिवेदनले यो संकट स्पष्ट रूपमा देखाएको छ। विगतका वर्षहरूको सञ्चित नाफा नभएको भए कम्पनी घाटामा जाने अवस्था रहेको प्रतिवेदनले जनाउँछ। सञ्चालन खर्च घटाउन नसक्नु, आम्दानीमा गिरावट आउनु र नयाँ प्रविधिमा लगानी नहुनुजस्ता कारणले टेलिकमको आर्थिक स्थिति कमजोर बन्दै गएको छ। हाल कम्पनीको सानो सकारात्मक नाफा मुख्यतया बैंकमा राखिएको रकमको ब्याज आम्दानीका कारण देखिएको हो।

गत वर्षको तुलनामा नेपाल टेलिकमको ग्राहक आम्दानी २ करोड ७८ लाख रुपैयाँले घटेको छ। ब्याज आम्दानी पनि आधा घट्दा कुल आम्दानी ८ प्रतिशतले घटेको छ। कम्पनीका अनुसार इन्टरनेटमा आधारित सञ्चार प्रविधि (जस्तै ओटीटी प्लेटफर्महरू) को बढ्दो प्रयोगले सीधा आयमा असर परेको छ।

अर्को कारण पनि हाल थपिएको छ — पहिले ओटीटी सेवा प्रयोग गर्दा डेटा भने टेलिकमकै नेटवर्कबाट खपत हुने भएकाले टेलिकमलाई फाइदा हुन्थ्यो। तर अहिले इन्टरनेट सेवा प्रदायकहरूले वाईफाई मोबिलिटीका नाममा जहाँसुकै इन्टरनेट सेवा दिन थालेपछि मोबाइल डेटा खपत घटेको छ, जसले टेलिकमको राजस्वमा थप धक्का पुर्‍याएको छ।

तारमार्फत दिइने इन्टरनेट निश्चित स्थानमा सीमित हुने तर घरबाहिर मोबाइल डेटा प्रयोग गर्ने उपभोक्ताको अवधारणामाथि आधारित भएर टेलिकमको राजस्व र रोयल्टी निर्धारण गरिएको थियो। त्यसैले आइएसपीहरूले केही लाखमा लाइसेन्स नवीकरण गर्ने तर टेलिकम कम्पनीहरूले अर्बौं रुपैयाँ तिर्ने अवस्था रहेको छ।

यही असमान प्रतिस्पर्धा र टेलिकम कम्पनीहरूको चासोलाई ध्यानमा राख्दै नेपाल दूरसञ्चार प्राधिकरणले निश्चित दायरा र समयभन्दा बाहिर नि:शुल्क वाईफाई सेवा नदिन निर्देशन जारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर