२०७९ चैत्र १२ आईतवार

काठमाडौं । बजार पुँजीकरणको हिसाबले सेयर बजारमा जलविद्युत् उपसमूहको हिस्सा १० प्रतिशतभन्दा माथि पुगेको छ । विगत लामो समय देखि बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुको बाहुल्यता रहँदै आएकोमा दोस्रो बजारमा विस्तारै जलविद्युत् लगायत उपसमूहको हिस्सा बढ्दै गएको छ ।

जलविद्युत् लगायत उपसमूहको हिस्सा बढ्दै जाँदा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको हिस्सा घट्दै गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार गत कात्तिकसम्म सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६८.१ प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत् कम्पनीहरूको हिस्सा १०.३ प्रतिशत, लगानी कम्पनीहरुको ६.४, उत्पादन तथा प्रशोधन कम्पनीहरू हिस्सा ४.४ प्रतिशत छ । होटेलको हिस्सा १.७ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८.७ प्रतिशत रहेको नेप्सेको तथ्यांक छ ।

गत कात्तिकसम्म नेप्सेमा कुल २ सय ४५ वटा कम्पनी सूचीकृत छन् । सूचीकृत कम्पनीमध्ये १ सय ४८ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । ययस्तै, ६० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् ।

०७८ कात्तिकमा सूचीकृत कम्पनीको संख्या २ सय २२ रहेको थियो । यस्तै, नेप्सेमा यो आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म सूचीकृत ६ अर्ब ८३ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय