२०८३ बैशाख २० आईतवार

काठमाडौं । बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना नेपालमा शुरू हुने भएको छ। एमसिसीको नेपाल शाखा मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसीए–नेपाल) ले विद्युत प्रसारणलाइन निर्माण शुरू गर्ने भएको हो। एमसिएले विद्युत प्रसारण लाइन निर्माणका लागि सोमबार ठेक्का निकालेर परियोजना शुरू गर्न लागेको छ।

जसअन्तर्गत एमसीए नेपालले लप्सीफेदी–रातमाटे–बुटवल प्रसारणलाइन निर्माणका लागि तीनवटा चरणमा ठेक्का निकालेको छ। लप्सीफेदी–रातमाटे–न्यु हेटौंडा पहिलो लट (११७ किमि), दोस्रो लटमा रातमाटे–न्यु दमौली (९० किमि) र तेस्रो लटमा न्यु दमौली–न्यु बुटवल, न्यु बुटवलबाट भारतीय सीमासम्म (१०८ किमि) गरी कुल ३१५ किलोमिटर रहेका छन्।

आयोजनामा बोटेक जेभीले परामर्शदाताका रुपमा काम गरिरहेको छ। अहिले प्रसारणलाइनको विस्तृत सम्भाव्यता अध्ययन, एलाइन्टमेन्ट सर्भे, विवाद आएका ठाउँमा वार्ता गरेर रि–सर्भे गर्ने लगायतका कामहरु अन्तिम चरणमा रहेको छ।

२२८ मिलियन डलर (२९ अर्ब ६४ करोड रुपैयाँ) प्रसारणलाइन र ११४ मिलियन डलर (१४ अर्ब ८२ करोड रुपैयाँ) सवस्टेसनका लागि खर्च हुने एमसीए–नेपालले जनाएको छ।

इच्छुक कम्पनीले २७ मार्चसम्म आवेदन दिन सक्नेछन्। यो ठेक्का पाउने कम्पनीले डिजाइन,सप्लाई, डेलिभरी, इन्स्टलेसन, टेष्टिङ, कमिसनिङ गर्नु पर्नेछ। आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन भने एमसीए–नेपालले उपलब्ध गराउनेछ। यो तयार भइसकेको छ।

यो आयोजना ५ वर्षमा सम्पन्न गर्नु पर्नेछ। सन् २०२३ को अगष्टबाट निर्माणको काम सुरु गर्ने कार्यतालिका छ भने परियोजनाका सबै काम २०२८ अगष्टमा सक्नुपर्नेछ।

निर्माण कम्पनीले डिजाइनसहित साढे तीन वर्षको अवधि पाउनेछ। प्रस्तावित आयोजनामा कुल ८५६ वटा टावर निर्माण हुनेछन्। टावर निर्माणका क्रममा २ लाख १२ हजार रुखहरू काट्नुपर्छ। सरकारी र निजी गरी ८ सय रोपनी जग्गा चाहिने अनुमान गरिएको छ। अहिले रुख कटानको स्वीकृति र अधिग्रहणको प्रक्रिया अघि बढेको छ।

यो प्रसारणलाइन काठमाडौं–सिन्धुपाल्चोक– नुवाकोट– धादिङ– मकवानपुर–चितवन–तनहुँ– पाल्पा–नवलपुर–परासी हुँदै जानेछ। ४०० केभीको डबल सर्किट यो प्रसारणलाइनले ३००० मेगावाटसम्म विद्युत वहन गर्न सक्नेछ। निर्माणपछि अहिले संचालनमा रहेको ढल्केबर–मुजफ्फरपुर पछिको दोस्रो अन्तर्देशीय प्रसारणलाइन हुनेछ।

यसपछि दोस्रो चरणमा सवस्टेसनका लागि पनि ठेक्का निकाल्ने तयारी छ। करिब एक महिनाभित्र दोस्रो चरणको ठेक्का निकालिने बताइएको छ।

प्रसारणलाइनका लागि रातमाटे, दमौली र बुटवल गरी तीनवटा सवस्टेसन निर्माण गरिनेछ। दमौली र बुटवलको प्रसारणलाइनका लागि नेपाल विद्युत प्राधिकरणले जग्गा अधिग्रहण गरिसकेको छ। सवस्टेसन निर्माणका लागि आवश्यक ३९८ रोपनी जग्गामध्ये ३९७ रोपनी जग्गा अधिग्रहण भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर