काठमाडाैं । धनी देशहरूले तत्काल सहयोग नगरेमा विश्वका ५० भन्दा बढी गरिब देशको अर्थतन्त्र नाजुक बन्ने र उनीहरू टाट पल्टिने अवस्थामा रहेको संयुक्त राष्ट्रसंघका अधिकारीले चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा प्रमुख आकम स्टाइनरका अनुसार मुद्रास्फीति, ऊर्जा संकट तथा बढ्दो व्याजदरका कारण धेरै देश टाटपल्टिने अवस्थामा पुगेको बताएका हुन्।
सम्भावित आर्थिक संकटले गरिब देशका नागरिकहरूको जनजीवनमा गम्भीर प्रभाव पर्ने उनले चेतावनी दिएका हुन्। ‘तत्कालका लागि हाम्रो सूचीमा ५४ देशहरू छन्’, उनले भनेका छन्, ‘यदि व्याजदर अझै माथि गयो र ऋण लिनु थप महंगो बन्यो, ऊर्जा र खाद्यान्न थप महंगियो भने अधिकांश यी देशहरूले ऋण तिर्नसक्ने छैनन्।’
श्रीलंकामा देखिएको जस्तै अवस्थामा ती देशहरूमा पनि आउन सक्ने उनले चेतावनी दिएका छन्। आर्थिक संकटका कारण उत्पन्न हुने अवस्थाको राजनीतिक तथा सामाजिक प्रभाव पनि रहने उनले बताएका छन्।
जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सम्बोधन गर्दै स्टाइनरले आर्थिक संकटको अवस्था आएमा जलवायु संकट समाधान थप कठिन हुने बताएका हुन्।
‘यसले जलवायु संकट समाधानमा पक्कै पनि सहयोग गर्दैन’, उनले भने। गरिब देशहरूलाई ऋणमुक्त गराउनका लागि तत्काल सहयोग नगरेमा जलवायु संकट थप भयावह बन्ने उनले बताए।
‘जलवायु परिवर्तनसँग जुध्नका लागि गरिब देशहरूलाई ऋण समस्या समाधान गर्नुको पूर्वअवस्था बनेको छ’, उनले भने। जलवायु संकटले थप वृहत समस्या सिर्जना गर्ने उनले उल्लेख गरेका छन्। गरिब देशहरूले धनी देशबाट वाचा भएअनुसारको वित्त प्राप्त नगरेको भन्दै त्यो वाचा पूरा हुनु पर्नेमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका प्रमुखले जोड दिए।
आँधी, बाढी, खडेरी तथा तातो हावाको जोखिम बढिरहेका बेला ऋणको बोझमा रहेका देशहरूका लागि जलवायु संकट भयावह देखिएको उनले बताए। उनले धनी देशहरूले वाचा गरेअनुसारको जल वायुवित्तमा १०० बिलियन अमेरिकी डलर बराबरको दायित्व पूरा गर्नुपर्ने पनि बताए।















